३ माघ २०८१, बिहिबार | January 16, 2025

ललिता निवास जग्गा काण्डः सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश; मीनबहादुरलगायत थुनामै


0
Shares

काठमाडौं, ५ साउन । पूर्वप्रधानमन्त्रीहरु सहित उच्च तहका अधिकारीहरु मुछिएको जग्गा काण्डमा गिरफ्तार सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रवार अदालतले उनलाई थुनामै राखी अनुसन्धान गर्नुपर्ने सम्मको कारण नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलाशले राउतलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई विदेश जान भने रोक लगाइएको छ ।
यो प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहसहित बाँकीलाई भने थुनामै राखेर अनुसन्धान गर्ने बाटो खुलेको छ । उनीहरुको पक्षमा कुनै आदेश आएन ।

सचिव राउत प्रधानमन्त्री निवास बालुवाटार नजिकैको जग्गा प्रकरणमा मुछिएका थिए । यो प्रकरण ललिता निवास काण्डले चर्चित छ । सार्वजनिक जग्गालाई व्यक्तिको बनाउने यो जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको समेत नाम जोडिएको छ । पूर्वमन्त्री, पूर्व सचिव, नाम चलेका व्यवसायीलगायत ४ सयभन्दा बढी अनुसन्धानमा परेका छन् । कतिपय पक्राउ गरिएका छन् ।

जग्गा काण्डमा संलग्नता रहेको भन्दै नेपाल प्रहरीको सीआइबीले सचिव राउतलाई असार २४ मा पक्राउ गरेको थियो । सचिव राउतमाथि अधिकृत हुँदा बालुवाटार जग्गा काण्डमा संलग्न रहेको आरोप छ ।

नेपालमा प्रचण्ड नेतृत्वको सरकारले ठूला भ्रष्टाचार र अनियमितताको फाइल धमाधम खोलिरहेको छ । यस क्रममा उच्च पदमा पुगेकाहरु अनुसन्धानको दायरामा ल्याइएका छन् ।

प्रतिक्रिया