२२ भाद्र २०८१, शनिबार | September 8, 2024

काँग्रेसका उद्धव थापा कोशी प्रदेशका मुख्यमन्त्री नियुक्त, एमाले अदालत जाने


0
Shares

काठमाडौं, २१ असार । कोशी प्रदेशमा नेपाली काँग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई बिहिवार प्रदेश प्रमुख पशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापाले बहुमत प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । ९३ सांसद रहेको प्रदेश सभामा थापाले सभामुखसहित ४७ सांसदको हस्ताक्षर बिहिबार साँझ प्रदेश प्रमुख खापुङलाई बुझाएका थिए ।

थापालाई नेपाली काँग्रेसको २९, नेकपा माओवादी केन्द्रको सभामुखसहित १३, नेकपा एसको ४ र जनता समाजवादी पार्टीको १ सांसदले समर्थन गरेका छन् । तर, नेकपा एमालेले सभामुखको हस्ताक्षर अवैधानिक भन्दै थापाको मुख्यमन्त्री नियुक्ति विरुद्ध अदालत जाने चेतावनी दिएको छ ।

कोशीमा नेकपा एमालेको ४० र राप्रपाको ६ सांसदले थापालाई समर्थन गरेनन् । यसै हप्ता एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कार्की विश्वासको मत लिन असफल भएपछि पदमुक्त भएका थिए ।

बिहिवार नै एमाले कोशी प्रदेशका संसदी दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुख खापुङलाई भेटी सभामुख समेत गणना गरेर बहुमत मान्यता नदिन ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया