१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ललिता निवास प्रकरणमा प्रहरीः सर्वेन्द्र देखि वसन्तसम्म


0
Shares

काठमाडौं, १२ असार । नेपालको राजनीतिमा चर्चित भ्रष्टाचारकाण्ड मध्येको ललिता निवास प्रकरण तात्ने र सेलाउने काण्डका रुपमा रहन गएको छ । पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीका अलावा पूर्व प्रशासक, नाम चलेका व्यवसायी, न्यायाधीश, कानून व्यवसायीलगायत शक्तिशाली व्यक्तिहरु मुछिएकाले यसबारे चासो रहँदै आएको हो ।

सरकारले फेरि ललिता निवास प्रकरणको फाइल खोलेर तरंग ल्याएको छ । फाइल खोलेपछि मङ्गलवार नै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार साहसहित ७ जनालाई पक्राउ गरिसकेको छ ।

यसअघिका आइजीपी धीरजप्रताप सिंहको पालामा पनि फाइल खोलेर कारबाही बढाइएको थियो ।

ललिता निवास प्रकरणको अनुसन्धान पहिलोपटक सर्वेन्द्र खनाल आइजीपी हुँदा भएको हो । खनालले सरकारी जग्गा हडप्नेहरुविरुद्ध कडा कदम चाल्दै अनुसन्धानको निर्देशन दिएका थिए । उनले नै यो प्रकरणको अनुसन्धानपछि प्रतिवेदन बुझाएका थिए । यसैका आधारमा कारबाही अहिले पनि बढाउने गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले जनाए अनुसार बालुवाटारको ललिता निवास स्थित सरकारी, सार्वजनिक जग्गाको हिनामिनाको प्रकरण सम्बन्धमा छानविन गर्न १५ असार २०७५ मा समिति गठन भई उक्त समितिले २८ मंसिर २०७५ मा सरकारलाई छानविन प्रतिवेदन बुझाएको थियो । सो अवधिमा सर्वेन्द खनाल आइजीपीका रुपमा कार्यरत थिए ।

खनालले गृह मन्त्रालयलाई त्यतिबेला बुझाएको प्रतिवेदनमा ललिता निवासको ११२ रोपनी जग्गा गैरकानूनी रुपमा व्यक्तिको नाममा दर्ता भएको खुलाइएको थियो । जग्गा हिनामिना बहुदल आएपछि सुरु भएको थियो । यसमा प्रधानमन्त्रीदेखि मन्त्री कर्मचारी र न्यायालयसम्मको सेटिङ खुलेको थियो ।

प्रहरीले अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा गठिन छानविन समितिका आधारमा २८ फागुन २०७५ मा मन्त्रिपरिषदको बैठकले ललिता निवास जग्गा हिनामिना प्रकरणको छानविन गर्न र संलग्नमाथि कारबाही गर्न अख्तियार र नेपाल प्रहरीको सीआइबीलाई जिम्मेवारी दिएको थियो ।

अनुसन्धानपछि २४ माघ २०७६ मा ललिता निवास जग्गा प्रकरणमा संलग्नहरुमाथि मुद्दा दायर भएको थियो । जसमा १७५ जना मुद्दामा तानिएका थिए ।

ललिता निवासको फाइल सर्वेन्द्र खनाल आइजीपी हुँदा खुलेर गहिरो अनुसन्धान भयो । त्यतिबेला कारबाही अगाडि बढ्यो । त्यसपछिका आइजीपीहरुले पनि फाइल खोले ।
वर्तमान आइजीपी वसन्त कुँवरको पालामा पुनः फाइल खोलिएको छ । तर, ललिता निवास काण्डलाई राजनीतिक अस्त्र बनाउने गतिविधि समेत हुन थालेको छ ।

यो प्रकरणमा मुछिएका कतिपय हस्तीलाई जोगाउन समेत खोजियो । तर, प्रचण्ड सरकारले फेरि संलग्नलाई पक्राउ गर्ने तयारी गरेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया