आजदेखि ऊर्जा सम्मेलन सुरु, ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुँदै

काठमाडौं, ५ वैशाख । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नारासहित आजदेखि आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु हुँदै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले सम्मेलनको आयोजना गरेको गरेको हो । ऊर्जा सम्मेलन आज र भोलि दुई दिनसम्म चल्नेछ ।
भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुने सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरूलगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू पनि सहभागी हुने जनाइएको छ ।
सम्मेलनमा नेपालको विद्युत् बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशीय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूलन विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्र सञ्चालन पनि इपानले जनाएको छ ।