३ आश्विन २०८१, बिहिबार | September 19, 2024

झापालीले चाहे भनें असम्भव केही पनि छैन् : सांसद साँवा


83
Shares

काठमाडौं, २५ चैत्र । नेकपा एमालेका प्रतिनिधिसभाका सांसद एलपी साँवा लिम्बूले झापालीले गफ होइन काम गरेर देखाउनुपर्ने बताउनुभएको छ ।

आज झापा सेवा समाजले प्रकाशन गरेको भित्तेपात्रो वितरण तथा नयाँवर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा काठमाडौंमा उपस्थित झापाको क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् साँवाले झापालीको बारेमा एउटा राम्रो इतिहास भएकाले त्यसलाई थप पुष्टि गर्न काम गरेर देखाउनुपर्ने खाँचो रहेको बताउनुभयो । ‘झापाली भनेपछि सबैले पत्याएका छन्, हामीमा सबैको विश्वास पनि छ त्यसैले कामको माध्यमबाट हामीले अरुलाई पनि प्रभावमा पार्नुपर्छ’ उहाँले भन्नुभयो ‘हामी एकजुट हुने हो भनें केही पनि असम्भव छैन त्यस्ता धेरै उदाहरण मसँग छन् ।’ झापा ४ बाट २०७४ सालको प्रतिनिधिसभाको र अहिलेको निर्वाचनमा पनि अत्यधिक मत ल्याएर निर्वाचित भएका उनले राम्रो काममा सबैको समर्थन आवश्यक भएको बताउनुभयो ।

कहिलेकाहीँ आपसमा खुट्टा तान्ने प्रवृत्ति गलत भएको भन्दै उहाँले आलोचनाबाट माथि उठेर जिल्ला र देशको विकासमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । उहाँले सोलार प्लान्ट निर्माण गरेको प्रसंग कोट्याउँदै भन्नुभयो ‘एक पटक हामीले केही गरौं भनेर छलफल थाल्यौं, सबैको सल्लाहमा सोलार प्लान्ट निर्माण गर्ने र त्यसबाट आम्दानी गर्न सकिन्छ भन्ने हामीलाई लाग्यो, अरु तदर्थ समितिको अध्यक्ष बस्न मानेनन् र मलाई नै जिम्मा दिए, गर्दागर्दै अब त्यसबाट आम्दानी हुने बेला भइसकेको छ ।’ उहाँले आफूसँग पर्याप्त दृष्टिकोण भएकाले राम्रो कामको लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । केही काम गर्न खोज्दा आलोचना गरिहाल्ने र असफल पार्न खोज्ने बानी सच्याएर सकारात्मक बन्नसमेत सबैलाई आग्रह गर्नुभयो । सधैं जनताको दुःख सुखमा सहभागी हुँदै आउनुभएका उहाँले जनताले आफूलाई दिएको विश्वास साकार पर्ने बताउनुभयो । उहाँले झापा सेवा समाजलाई अघि बढाउन आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग हुने भन्दै थप्नुभयो ‘समाज चुप लागेर बस्नु हुँदैन, केही गर्न सकिएन भनें हाम्रो अर्थ हुँदैन त्यसैले जे सकिन्छ त्यो गरिरहनुपर्छ ।’

समाजका अध्यक्ष लक्ष्मण भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा झापा घर भई काठमाडौं उपत्यकासहित वरपर बस्दै आएका विभिन्न पेशा र व्यावसायमा सहभागी भएकाहरुको उपस्थिति रहेको थियो । अध्यक्ष भण्डारीले झापाको हकहितमा मात्र नभएर देशकै लागि केही गरौं भन्ने उद्येश्यले समाजको स्थापना गरिएको बताउनुभयो । उहाँले कसैबाट आर्थिक संकलन नगरेकाले समाज सञ्चालनमा समस्या भएको गुनासो गर्नुभयो । उहाँले समाजका पदाधिकारी र सदस्यबाट मात्र संस्था चलाउन गाह्रो भएको बताउनुभयो ।

उहाँले समाज विशुद्ध रुपमा सबैको साझा भएकाले समाजमा आवद्ध हुनसमेत सबैलाई आग्रह गर्नुभएको छ । समाजले विभिन्न दैवीप्रकोपका घटनाका साथै देशमा परेको असहज अवस्थामा पनि आफ्नो तर्फबाट सम्बन्धित क्षेत्रमा पुगेर सहयोग गर्दै आएको अध्यक्ष भण्डारीले जनाउनुभयो । समाज २०७४ सालमा स्थापना भएको हो ।

 

प्रतिक्रिया