३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्ड गठबन्धन तोडेर भएपनि प्रधानमन्त्री बन्ने रणनीतिमा


December 15, 2022
83
Shares

काठमाडौं, २९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न आतुर देखिएका छन् । उनी सरकारको नेतृत्व गर्नेमा ढुक्क पनि देखिन्छन् ।

प्रचण्डले बुधबार सार्वजनिक कार्यक्रममा आफू प्रधानमन्त्री बन्ने आशय व्यक्त गरे । उनले प्रधानमन्त्री बनेमा देश विकासमा महत्वपूर्ण योगदान दिने बताए । माओवादीका नेताहरु सरकारको नेतृत्व दाबी गर्दै भेटघाटलाई तिव्रता दिइरहँदा प्रचण्डको भनाई सार्वजनिक भएको हो । विश्वस्त स्रोतका अनुसार प्रचण्डले अबको दुई वर्ष आफ्नो नेतृत्वमा सरकारको दाबी गरेका हुन् ।

गठबन्धनको मुख्य दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्डले प्रधानमन्त्रीको दाबी गरेपछि नयाँ घटना विकास भएको छ ।

माओवादीसँग यथास्थितिमा ३२ सिट छ । जुन गठबन्धनलाई बहुमत दिलाउन पर्याप्त संख्या होइन । काँग्रेसको ८९, नेकपा एसको १० र जनमोर्चाको १ सिट छ । कुल मिलाएर १३२ सिट हुन्छ । बाँकी ८ सिट पु¥याउन पहल भइरहेको छ । तर, विभिन्न विकल्पमा गठबन्धनभित्रै छलफल चल्न थालेको छ । कम्युनिष्टलाई बाहिर राखेर या कम्युनिष्ट मिलेर सरकार बनाउने प्रयास पनि चलेका छन् ।

देउवाले रेशम चौधरी र सीके राउतको साथ लिन अध्यादेश नै ल्याएर मुद्दा फिर्ता गराउन खोजेका छन् । यसको चौतर्फी विरोध भइसकेको छ । देउवालाई माओवादी र नेकपा एसलाई बाहिर राखेर सरकार बनाउन सजिलो छैन । यसका लागि उनले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाका अलावा मधेश केन्द्रित दलहरुको साथ लिनुपर्ने हुन्छ । यसलाई रोक्न प्रचण्ड आफै सक्रिय भइसकेका छन् ।

प्रधानमन्त्रीको प्रतिष्पर्धामा देउवा र प्रचण्ड दुवै छन् । प्रचण्ड देउवालाई प्रधानमन्त्री छाड्न तयार छैनन् । माधव नेपालको पनि दाबी देखिन्छ । देउवा र प्रचण्डबीच कुरा नमिले माधव नेपालले बाजी मार्न सक्छन् । तर, यथास्थितिमा तेस्रो शक्ति बनेर निर्णायक अवस्थामा रहेका प्रचण्ड दौड छाड्ने पक्षमा छैनन् । उनले स्पष्ट रुपमा यसको सन्देश दिइसकेका छन् । रणनीतिक चार्तुयताका कारण प्रचण्डले केही स्वतन्त्र सांसदलाई पनि साथमा लिएका छन् । जसमध्ये प्रभु साह र अमरेश सिंह पनि हुन् ।
कम्युनिस्ट मात्रको कुल १२२ सिट छ । त्यो नेमकिपासहितको हो । १२१ सिट मान्दा सरकार बनाउन १७ सिट अपुग हुन्छ ।

जसपा, लोसपा र स्वतन्त्र मिलाएर जाने सम्भावना पनि रहन्छ । प्रचण्डले विभिन्न विकल्पमा सक्रियता बढाएका छन् । एमालेले प्रचण्डलाई साथमा लिने रणनीति चालिसकेको छ । राष्ट्रपति, सभामुख जस्ता पदहरुका लागि पनि एमालेले त्यस्तो चाल चलेको देखिदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दूतहरुमार्फत् प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको बुझिएको छ । यसले प्रधानमन्त्रीको दौड रोचक बन्दै गएको छ । यसमा प्रचण्डले बाजी मार्ने सम्भावना बढेको छ । तर, गठबन्धनभित्र रोचक प्रतिष्पर्धा चल्न थालेकाले नयाँ सम्भावना पनि नरहेको होइन ।

प्रतिक्रिया