३ आश्विन २०८१, बिहिबार | September 19, 2024

रवि लामिछाने यसकारण मधेशमा कमजोर


November 29, 2023
913
Shares

समाचार विश्लेषण । रवि लामिछानेको उदय आकस्मिक नै थियो तर रणनीतिक पनि । लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रीयताको जग भनेको सामाजिक सञ्जाल नै हो जुन कस्मेटिक भन्दा फरक पर्दैन । कुनै ठोस राजनीतिक मुद्या उनीसँग छैन । न त ठोस राजनीतिक सिद्धान्त । सिद्धान्तविनाको राजनीतिक दीगो पनि हुनसक्दैन ।

राणाविरोधी मुद्यामा मात्र केन्द्रित भएको प्रजा परिषद् उक्त मुद्या पूरा भएपछि पार्टी नै समाप्त भयो । लामिछानेले पनि बेथिती र विसंगतिविरुद्ध मुद्या बनाएका छन् । भ्रष्टाचारविरोधी मुद्या बनाएका छन् । यो त जुनसुकै दलको पनि मुद्या हो । अब रवि लामिछाने के कारणले अरुभन्दा फरक भन्ने प्रश्न आउन सक्छ ।

लामिछानेले काठमाडौं केन्द्रित राजनीति बढी गरे । उनको ध्यान शहरी क्षेत्रमा नै रह्यो जहाँ मधेशी जनसंख्या कमै थिए । तराई मधेशमा देशको झण्डै आधा निर्वाचन क्षेत्र र जनसंख्या छ भन्ने हेक्का हुँदा हुँदै लामिछाने पहाडी क्षेत्र र गैरमधेशी बाहुल्य क्षेत्रमै लोकप्रीय बन्न खोजे । भारतसँग सीमा जोडिएको क्षेत्रको सेन्टिमेन्टमा ध्यान दिएनन् ।

पछिल्लो समय जलेश्वरमा केन्द्रीय समितिको बैठक गरेर लामिछानेले आफ्नो ध्यान मधेशमा पनि रहेको सन्देश दिन खोजेका छन् । तर, मधेशमा उनको लोकप्रीयता देखिदैन । उपनिर्वाचनमा बारामा रमेश खरेलको लज्जास्पद पराजयले पनि मधेशमा लामिछाने कमजोर छन् भन्ने देखाइसकेको छ ।

मधेशमा महन्थ ठाकुर, उपेन्द्र यादव जस्ता नेताहरु अलोकप्रीय हुँदा सीके राउत उदाएका छन् । थारु समुदायका रेशम चौधरीलाई पत्याएका छन् पश्चिम तराईको थारु बाहुल्य क्षेत्रमा । यसकारण पनि लामिछानेलाई त्यस्ता क्षेत्रमा प्रभावशाली बन्न सजिलो छैन । भारतसँग सीमा जोडिएको क्षेत्रको अन्तरसीमा सम्बन्धको संवेदनशीलतालाई उनले हेक्का नराखी बोलेका छन् । यसले पनि लामिछानेप्रति मधेशका जनता विश्वस्त छैनन् ।

देशको धर्म संस्कृतिप्रति लामिछानेको स्पष्ट धारणा आउन सकेको छैन । उनलाई हिन्दूवादीहरुले शंकाका दृष्टिले हेरेका छन् । हिन्दूराष्ट्रको मुद्यामा उनको धारणा स्पष्ट हुन सकेको छैन । यो मुद्याप्रति तराई मधेशमा आकर्षण ज्यादा छ । मधेशीको रास्वपामा सहभागिता पनि कमजोर छ । मधेशी जनताले रास्वपालाई आफ्नो हकअधिकारको लागि गम्भीर भएको पार्टीका रुपमा बुझेका छैनन् । यसकारण पनि तराई मधेशमा रास्वपालाई फैलन सजिलो छैन ।

प्रतिक्रिया