३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेपाल भ्रमणमा रहेको चिनियाँ टोली किन पुग्यो एलआरआई स्कुल


0
Shares

काठमाडौं, ८ साउन । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य चुआन च्या च्युन नेतृत्वको टोली सोमवार कलंकीस्थित एलआरआई स्कुल पुगेको छ । यति उच्च स्तरको भ्रमण टोली नेपालको एक विद्यालयमा किन पुग्यो ? चासो बढेको छ ।

एलआरआई का संचालकहरुको चीनसँग सुमधुर सम्बन्ध छ । उक्त स्कुलमा अनिवार्य चिनियाँ भाषाको पढाई हुन्छ । एलआरआईमा चिनियाँ नेताले सभामुख देवराज घिमिरेसहित संयुक्त रुपमा नेपाल चीन मैत्री ल्याब उद्घाटन गरे ।

एलआरआईमा चिनियाँ भाषा अध्यापन गराएपछि चीनले परियोजना नै ल्याएर नेपालका विद्यालयहरुमा यो भाषा पढाउन थाल्यो ।

कोरोना महामारी पछि भने चिनियाँ भाषाको नेपालका विद्यालयमा पढाई कमै हुन थालेको छ । विगतमा चिनियाँ शिक्षक नै नेपालका विद्यालयहरुमा भोलेन्टर सेवा गर्थे । उनीहरुलाई चीन सरकारले नै सुविधा उपलब्ध गराएर पठाउँथ्यो ।

यसैगरी, नेपाल भ्रमणका रहेको चिनियाँ टोलीले आइतवार कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटेको छ । खड्कासँगको भेटलाई अर्थपूर्ण मानिएको छ । चीनसँग नेपालले सैन्य गाडीहरु खरिद प्रक्रिया बढाएकोमा रोक्किएको छ ।

नेपालमा सेनाले निर्माण गरिरहेको फाष्ट ट्रयाकमा पनि चिनियाँ कम्पनीहरुले ठेक्का पाएर काम गरिरहेका छन् । यसकारण पनि सैन्य क्षेत्रमा चिनियाँ चासो बढी छ ।

चिनियाँ टोलीले बुधवार नै नेकपा माओवादी केन्द्रको टोलीसँग डिनर बैठक गरेको थियो । होटलमा भएको डिनर मिटिङमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ सहभागी थिए ।

प्रतिक्रिया