२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

ट्रम्पले यौन सम्बन्ध लुकाउन पोर्न स्टारलाई पैसा दिएकै हुन् ?


0
Shares

एजेन्सी, ६ चैत्र । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चर्चामा आएका छन् । यसपटक उनी आफैले गिरफ्तार हुन लागेको सनसनीपूर्ण खुलासा गरेर चर्चामा आएका हुन् । सन् २०१६ को राष्ट्रपति चुनाव अगाडि एकजना पोर्न स्टारलाई अनुचित रकम तिरेको आरोप लागेका ट्रम्पलाई यसै मामलामा कारबाही गर्न लागिएको विषय उठिरहँदा गिरफ्तारीका सम्भावना बढेको हो । यसले उनको सन् २०२४ को राष्ट्रपति चुनाव लड्ने योजनामा धक्का लाग्ने त होइन ?

त्यसो त नाम होस् या बदनाम डोनाल्ड ट्रम्प कहिले गुमनाम हुन चाहँदैनन् । राष्ट्रपति नहुँदै उनी विवादास्पद अभिव्यक्ति र गतिविधिले चर्चामा आइरहन्थे । सानै उमेरदेखि हक्की ट्रम्पले अमेरिकामा व्यवसायिक साम्राज्य नै बनाए । अमेरिकामा अहिलेसम्म बनेकामध्ये उनी धनाढ्य राष्ट्रपतिका रुपमा परिचय बनाउन सके । ट्रम्प अर्बपति व्यवसायी मात्र होइनन् सेलिब्रिटी पनि हुन् । सुन्दरी प्रतियोगिताका आयोजक बने । टेलिभिजन रियालिटी शो चलाए । जसबाट ठूलो सम्पत्ति जोडे । रियालिटी शो मा सहभागी हुँदा उनले ठूलो धनराशी लिन्थे ।

ट्रम्पको धेरै महिलासँग नाम जोडियो । तीन महिलासँग उनको विवाह भयो । इभाना ट्रम्पबाट तीन सन्तानको जन्म भएपछि पारपाचुके गरे । मारला मेपल्सबाट एक सन्तानको जन्म भयो । उनीसँग पनि पारपाचुके गरी आफूभन्दा निकै कम उमेरकी मेलानिया ट्रम्पसँग विवाह गरे । जसबाट एक सन्तान छन् । मारला र मेलानिया सुन्दरी प्रतियोगितामा भाग लिइसकेका मोडलहरु हुन् । यसबाहेक पनि ट्रम्पको नाम धेरै महिलाहरुसँग जोडियो जसमध्ये कतिपय स्वीकार गरेका छन् ।

ट्रम्पमाथि सन् १९७० को दशकयता यौन दुव्र्यवहारको आरोप लगाउने महिलाहरुको संख्या २ दर्जन कटिसकेको छ । मी टु आन्दोलनमा कतिपय महिलाले उनीमाथि गम्भीर आरोपहरु लगाए । तर, ट्रम्पलाई उक्त घटनाले छोएन । उनले आरोपीहरुलाई झुटा भने । ट्रम्पकी पहिलो पत्नी इभानाले त आफ्नो पुस्तकमा बलात्कारको आरोप नै लगाइन् । उनले त्यो आरोप अस्वीकार गरे ।

ट्रम्पको एकजना पोर्न स्टारसँगको सम्बन्ध सन् २०१६ को चुनाव अघि चर्चामा आयो । त्यसलाई लुकाउन एक लाख ३० हजार डलर दिएको विषय आयो । पोर्न स्टार स्टेफानी क्लिफोर्डले ट्रम्पको एकजना विचौलिया मिसेल कोहेनले आफूलाई उक्त रकम दिएको खुलासा गरिन् । यो रकम उनको मुख बन्द गर्नका लागि दिइएको थियो । सन् २००६ मा ट्रम्पसँग गल्फ प्रतियोगितामा भेटेको र त्यसपछि सम्बन्धहरु बनेको खुलासा गरिन् । अनुचित तरिकाले तिरिएको यही रकमबारे अनुसन्धान हुँदै ट्रम्पको गिरफ्तारीको सम्भावना उनी स्वयंले औल्याएका छन् । महिलाहरुप्रति ट्रम्पको नकारात्मक टिप्पणी सधै चर्चामा आइरह्यो । तरपनि, ट्रम्पलाई अमेरिकी जनताले सन् २०१६ को राष्ट्रपति चुनावमा विजयी बनाए ।

सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति बनेका ट्रम्पले २०२० को चुनाव झीनो मतान्तरले जो वाइडेनसँग हारे । उनीविरुद्ध शक्तिको दुरुपयोगको आरोपमा दुईपटक महाभियोग लगाइयो । तर, त्यहाँको सिनेटले उन्मुक्ति दियो । ट्रम्प सन् २०२४ मा पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरी तयारीमा छन् । उनी फेरि ह्वाइटहाउस पुग्ने दौडमा रहँदा विवादमा मुछिइरहेका छन् । यसले उनको फेरि राष्ट्रपति बन्ने दौडमा अवरोध बन्न सक्छ । तर, ट्रम्पको अविचलित रहेर निर्भिकताका साथ बढ्ने शैलीले पुनः ह्वाइटहाउसमा नपु¥याउला भन्न सकिदैन ।

 

प्रतिक्रिया