श्रद्धा श्रेष्ठका लागि गणपति श्रेष्ठलाई कल्याण श्रेष्ठले किन रोके
काठमाडौं, १० कात्तिक । सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठलाई पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नबाट कुन शक्तिले रोक्यो भन्ने चासो सर्वत्र छ । सुशीला कार्की नेतृत्वको सरकारमा गणपति मन्त्री बन्ने चर्चा तिहार अगावै भएको थियो । तर, अन्तिम समयमा आएर उनलाई सुशीलाले डाकेर भूमिसुधार मन्त्री बन्न भनिन् । गणपतिले भूमिसुधार मन्त्री बन्दिन भनेपछि कसैलाई वचन दिइसकेको भनेर पठाइन् ।
गणपतिलाई रोक्ने शक्ति पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ हुन् । श्रेष्ठले पर्यटन बोर्डकी कर्मचारी श्रद्धा श्रेष्ठलाई पर्यटनमन्त्री बनाउने गरी सेटिङ गरिसकेका छन् । यसमा उनको ठूलो स्वार्थ जोडिएको छ ।
कल्याण श्रेष्ठलाई नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रबन्ध निर्देशक प्रदीप अधिकारीले हेलिकोप्टरमा नाम्चे लिएर गई अब हुने नियुक्ति, सरुवामा योजना बनाएका थिए । त्यसका लागि भनेबमोजिम गर्ने मन्त्री बनाउने सहमति पनि बनाए । गणपतिले कल्याणले भनेको नटेर्ने देखियो । प्रदीप अधिकारीको पनि माघमा कार्यकाल सकिदैछ ।
नेपाल वायुसेवा निगमको कार्यकारी निर्देशकबाट युवराज अधिकारीको पनि कार्यकाल सकिएको छ । अब निगमको कार्यकारी निर्देशक आफू अनुकूलको व्यक्तिलाई बनाउन पनि कल्याण र प्रदीपबीच साँठगाँठ बनेको छ ।
प्रदीपले प्राधिकरणमा पुनः नियुक्ति लिने गरी योजना बनाइसकेका छन् । यसका लागि पनि उनले ठूलै चलखेल गरिसकेका छन् ।
अहिलेको राजनीतिक घटनाक्रमका पछाडिका योजनाकार मध्येका कल्याण श्रेष्ठ पनि हुन् । उनी आफै प्रधानमन्त्री बन्न चाहन्थे । ५२ जना संवैधानिक निकायको नियुक्ति खारेजको फैसला गराउन उनले ठूलै भूमिका खेलेका थिए । तर, सफल हुन सकेनन् ।
प्रधानन्यायाधीशबाट सेवानिवृत्त भएपछि कल्याण भित्री रुपमा राजनीतिक दाउपेचमा सक्रिय छन् । देशको महत्वपूर्ण निकायमा हुने नियुक्तिमा उनको स्वार्थ रहने गरेको छ । देशमा बदनाम व्यवसायीहरुसँग उनको उठबस बाक्लो छ । पछिल्लो समय विभिन्न भ्रष्टाचारमा मुछिएर अख्तियारले मुद्दा हाल्न ठिक्क पारेका प्रदीप अधिकारीसँग कल्याण नजिकिएका छन् । यसमा ठूलै आर्थिक स्वार्थ रहेको बुझिएको छ ।


