२९ असार २०८२, आइतबार | July 14, 2025

दलाई लामाको सेरोफेरोमा भारत-चीन सम्बन्ध


913
Shares

विपिन देव: ६ जुलाई २०२५ को दिन तिब्बतीको आस्थाको केन्द्र दलाई लामाले जीवनको ९ दशकको यात्रा पूरा गरेका छन् । नोबेल पुरस्कारबाट सम्मानित भएका दलाई लामालाई तिब्बतीहरू आर्दशको केन्द्रबिन्दुका रूपमा ग्रहण गर्दछन् भने चीनले दलाई लामालाई बिखण्डवादीको रूपमा चित्रित गर्दै आएको छ । सन् १९५० अक्टुबरमा चीनले तिब्बतमाथि आक्रमण गर्दै सन् १९५१ सम्म पूर्ण रूपमा कब्जामा लिएका थिए । चीनले तिब्बतमाथि कब्जा गर्नु अगाडि तिब्बत पूर्ण रूपमा दलाई लामाको शासन पद्धति अनुसार स्वतन्त्र राष्ट्रको रूपमा विश्व भूगोलमा स्थापित थिए । हुनत इतिहासको उत्तारचढाबमा चिनियाँ शासक र दलाई लामाबीच बेलाबखतमा द्वन्द्व समेत भएको पाइन्छ ।

सन् १७९३ मा चीनका मिग वंशका राजाले दलाई लामाको पुर्नजन्मको पद्धति माथि प्रश्न गर्दै सुनको कलशको पद्धतिबाट दलाई लामाको चयनको अभ्यास र प्रयास गरेका थिए । तिब्बतको शासन पद्धतिमा चिनियॉ हस्तक्षेपको लामो परम्परा रहिआएको छ । वर्तमान दलाई लामालाई १४ औं दलाई लामाको रूपमा स्वीकार गरिन्छ । दलाई लामाको अर्थ ज्ञानको भण्डार भन्ने बुझिन्छ । सन् १९५१ मा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बतमा पूर्ण रूपले कब्जा भए पश्चात दलाई लामा सन् १९५६ ताका भारत यात्रा गरेका थिए । सन् १९५४ मा चिनियाँ नेता ची एन लाऔले भारत यात्रा गर्दा चीन र भारत बीच दलाई लामाको सेरोफेरोमा वार्ता समेत भएको थियो । धर्मलाई पूर्ण रूपमा अफिम मान्ने चिनियाँ कम्युनिष्ट पार्टीको मनोग्रन्थिमा दलाईप्रति कुनै सहानभूति र आस्था थिएन । अर्थात् तिब्बतीहरूको दिल र दिमागबाट धार्मिक आस्थलाई पूर्ण रूपमा निर्मुल गरेर उनीहरूको मानसपटलमा कम्युनिष्ट सिद्धान्तलाई प्रत्यारोपण गर्ने चीनियॉ कम्युनिष्ट पार्टीको नियतलाई दलाई लामाले अन्दाज गरिसकेका थिए ।

सन् १९५९ मा आफ्ना समर्थक सहित दलाई लामाले भारतमा शरण लिएका थिए । दलाई लामा भारतमा शरण लिनु एउटा महत्वपूर्ण घटना रहेको थियो । सन् १९५९ मा अमेरिकी पत्रिका टाइमले दलाई लामाको व्यथालाई आलोकित गरेको थियो । वर्तमान परिवेशमा दलाई लामा जीवनको उत्तरार्दमा रहेका छन् । दलाई लामाको उत्तराधिकारी चयन एक गम्भीर विषय रहेको छ । तिब्बती धार्मिक मान्यता अनुसार दलाई लामाको पुनःजन्मको परम्परा रहिआएको छ । दलाई लामाको देहत्याग पश्चात भिक्षुहरू कुनाकुनामा दलाई लामाको पुनः जन्मको खोजी गर्ने प्रचलन रहेको छ । तदनुरुप दलाई लामाको चश्मा, छडी र अन्य वस्तुको मद्दतबाट दुई वा तीन वर्षको बच्चालाई परीक्षा लिने परम्परा रहेको छ । उक्त तिब्वती धार्मिक परम्परा आस्थामा आधारित रहेको छ । वर्तमान १४ औं दलाई लामा यही परम्परा र पद्धतिद्वारा चुनिएका हुन्थे वर्तमान १४ औं दलाई लामा आध्यात्मिक ज्ञानमा अब्बल रहेका छन् । जीवनको एक काल खण्डमा वीपी कोइराला दलाई लामासंग संवाद गर्न उनको धर्मशालामा जाने गर्थे । जीवनको शाश्वत प्रश्न प्रति दलाई लामाको स्पष्ट विचार रहेको छ ।

दलाई लामाको ९० औं जन्म दिनको अवसरमा भारतका उच्च स्तरीय अधिकारीहरू समेत सहभागी भएका थिए । चीनको दलाई लामा प्रतिको संवेदनशीलतालाई मध्य नजर राख्दै भारतका उच्च अधिकारीहरू समेत सतर्कता अपनाउ‘दै आएका थिए । तर यस पटकको जन्मदिन पृथक रहेको थियो । भारतका केन्द्रीय मन्त्री किरण रिबजीले दलाई लामाको १५ औं उत्तराधिकारीको छनौट तिब्बती धार्मिक परम्परा अनुसार हुनु पर्ने तर्क राखेका थिए । किरण रिबजीको अभिव्यक्तिलाई चीन सरकारले चीनको आन्तरिक मामिलामा हस्तक्षेपको संज्ञा दिएका थिए । किरण रिबेजीको अभिव्यक्ति पश्चात भारतका परराष्ट्र मन्त्रालयले चीनको संवेदनशिलतालाई मध्य नजर राख्दै दलाई लामाको चयनमा भारतको कुनै अभिरुचि नभएको खुलाएको थियो ।

चीनले दलाई लामाको चयन सुनको कलश पद्धतिबाट हुनु पर्ने अडान लिएको छ । दलाई लामाको विवादले नै गर्दा भारत-चीन सम्बन्धले धेरै आरोह र अवरोह भोगेका छन् । सन् १९६२ मा भारत चीन युद्धका विभिन्न कारणहरू मध्ये दलाई लामाको भारतमा शरण लिनु समेत एक कारण रहेको छ । दलाई लामाको विषयवस्तुका कारणले गर्दा नै अमेरिका लगायत पश्चिमा राष्ट्रहरूले चीनलाई दबाबमा राखेको पाइन्छ । तिब्बतमा भएको खम्पा विद्रोह पूर्ण रूपमा अमेरिकी सहयोग र सदभावका कारणले मात्र सम्भव भएको थियो । वर्तमान परिवेशमा समेत भारत(चीन सम्बन्धलाई दलाई लामाको कारणले प्रभावित रहेको देखिन्छ । दलाई लामाको लाखौ सर्मथकहरू भारतमा रहेको पाइन्छ । तर तिब्बती समुदाय शान्ति, सदभाव र अथक परिश्रमका कारणले गर्दा भारतीय समाजमा सम्मानित रहेको पाइन्छ । हिंसक र अपराधिक गतिविधिमा तिब्बतीको संलग्नता न्यून रहेको पाइन्छ । वर्तमान परिवेशमा चीन भारतप्रति आक्रमण रहेको पाइन्छ । भारतलाई आर्थिक दवावमा राख्न चीनले आफ्ना उच्च स्तरीय प्राविधिकहरूलाई फिर्ता वोलाउन अघि बढिरहेको छ भने विद्युतीय उपकरणमा प्रयोग हुने लिथिनियमको निर्यातमा समेत चीन नकारात्मक हुने संकेत दिएका छन् ।

संसारमा सबभन्दा तीव्र गतिले बढिरहेको अर्थतन्त्र भएको कारणले गर्दा अमेरिकी पूँजी र लगानी भारतमा बढिरहेको अवस्था छ । भारतलाई दबाबमा राख्न चीनले ८०को दशकमा राजीव गान्धी र देङ्ग स्याओ पिङ्गबीच निर्माण भएको संयन्त्रलाई कमजोर पारेको छ । अर्थात् उक्त सम्झौता अन्र्तगत बोर्डरको समस्यालाई थाति राख्दै दुईवटै मुलुकहरू आर्थिक विकासलाई दौत्य सम्बन्धको केन्द्र विन्दु बनाउनु पर्ने सम्झौता रहेको थियो । हुनतः बेलाबखतमा सन् १९१३ मा चुमर, सन् १९१४ मा देपस्याङ्ग र सन् १९१७ मा डोकलम विवाद समेत भारत र चीन बिच भएको देखिन्छ । यी हुंदा हुंदै पनि व्यापारिक सम्वन्ध घनिभूत रूपले बढिरहेको अवस्था छ । दलाई लामाको विवादले पुनः भारत -चीन सम्बन्ध तरङ्गित भएको देखिन्छ ।

प्रतिक्रिया