माधव नेपाललाई धरौटीमा छाड्न आदेश

काठमाडौं, ११ असार । पतञ्जली जग्गा प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई विशेष अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । बुधबार थुनछेकको बहसपछि राति अबेर जारी आदेशमा उनलाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेकपा एसका अध्यक्ष नेपाललाई धरौटीमा छाड्ने आदेश दिएको हो । नेपाल विहान अदालतमा आफै उपस्थित भएका थिए । उनको तर्फबाट पाँच र सरकारी वकिल पाँच जनाले बहस गरेका थिए ।
पतञ्जली जग्गा प्रकरणमा उक्त जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरी अनियमितता गरेको अभियोग पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।