‘एनसेलको ग्राहक बढ्ने तर राजश्व घट्ने’

काठमाडौं, ३ जेठ । पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि टेरामक्स प्रकरणका धेरै तथ्यहरु बाहिर आएको छ । टेरामक्स कर छल्ने कम्पनीहरुलाई निकै ठूलो चुनौती हुने गरी ल्याउन लागिएको थियो । तर, यसमै भ्रष्टाचार भएपछि विवादमा परेको हो ।
बस्नेतले अख्तियारको बयानमा दूरसञ्चारका सेवा प्रदायक कम्पनी मध्ये एनसेलको ग्राहक बढ्ने तर राजश्व घट्ने विषयमा बोलेका थिए । के कति कारणले आम्दानीमा कमी आएको हो भन्ने सत्यतथ्य पत्ता लगाउन टेरामक्स प्रविधि जडान गर्न आवश्यक भएकाले सहमति दिएको बयानमा उल्लेख गरेका छन् ।
कल बाइपास प्रकरण र राजश्व हिनामिना पत्ता लगाउन पनि यो प्रविधि जडान गर्न खोजिएको बस्नेतको जिकिर छ । उनले रुबेल चौधरीको नामै लिएर कल बाइपासमा संलग्न भएको भनेका छन् । अरबौंको कल बाइपास ग्रेर दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले हिनामिना गरेको विषय सार्वजनिक भएको भनेका छन् ।
अख्तियारको बयानमा सनसनीपूर्ण खुलासा गरेका बस्नेतले अर्को भण्डफोर गर्ने चेतावनी पनि दिएका छन् । यसले दूरसञ्चार कम्पनीको क्षेत्रमा भएको अनियमितता र अराजकताको पाटो खुलस्त हुनसक्छ ।