मोहन बस्नेतले भण्डाफोर गर्ने

काठमाडौं, २ जेठ । टेरामक्स घोटाला प्रकरणमा अख्तियारले मुद्दा हालेका मध्ये चर्चित व्यक्ति हुन् पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत । सिन्धुपाल्चोकबाट नेपाली काँग्रेसका प्रत्यक्ष निर्वाचित सांसद बस्नेत हक्की स्वभावका छन् । उनले मुद्दा लाग्न लागेको सूचना पाएर पार्टी बैठकमा पदाधिकारीको नामै लिएर चेतावनी दिएका थिए ।
बस्नेतविरुद्ध मुद्दा दायर भएपछि उनले आफूलाई मात्र तानिएकोमा प्रश्न उठाएका छन् । यो प्रकरणमा ज जस्ले प्रक्रिया बढाउन या सुरु गर्न लगाए उनीहरु नतानिएको र आफू मात्र तानिएकोमा बस्नेतले प्रश्न उठाएका हुन् । उनले यसको भण्डाफोर गर्ने चेतावनी दिएपछि तरंग आएको छ ।
टेरामक्स प्रकरणसँग जोडिएकामा पूर्वसञ्चारमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की र गोकुलप्रसाद बाँस्कोटा पनि छन् । कार्की काँग्रेस र बाँस्कोटा एमालेका सांसद हुन् । दुवैलाई राजनीतिक दबाबमा जोगाइएको चर्चा चलिरहेको छ ।
टेरामक्स प्रकरणमा बस्नेतसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार मुद्दा दायर गरेको हो । अख्तियारले तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बीगो र सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएका प्रतिवादीहरुमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम खनाल, तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, निर्देशकहरु विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, हिरण्य प्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता भ्यानराइल सोलुसन साल अफसोर र सोका मुख्य व्यक्ति प्रमुख कार्यकारी निर्देशक जमन अनुटी, स्थानीय एजेन्ट कनेक्शन ट्रेड लिंक र सोका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेज प्रसाद खरेल रहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।
अख्तियारले टेरामक्स खरिद कार्यक्रमा परामर्शदाताको छनौट गर्दा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार गरी रिक्वेस्ट फर प्रोपोजलमा सहभागी गराई छनौट गरी अनियमितता गरेको आरोपपत्रमा उल्लेख गरेको छ । मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रुपमा निर्णय गरी कार्यान्वयनका लागि निर्देशन दिएको भनिएको छ । यही प्रकरणमा मुछिएका तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भने मुद्दाबाट जोगिएका छन् ।