बँगलादेशमा अपहरणपछि हत्या गरिएका हिन्दू नेता भवेश को हुन्

एजेन्सी, ६ वैशाख । बँगलादेशमा अल्पंख्यक हिन्दूहरु मारिने र लखेटिने क्रम बढिरहेको छ । उनीहरु सुरक्षा खतरा बढेपछि थालथलो छाड्न थालेका छन् । पछिल्लो पटक एकजना हिन्दू नेता घरबाट अपहरणमा परी निर्ममतापूर्वक कुटिएर मारिएका छन् ।
दिनाजपुर जिल्लास्थित वासुदेवपुर गाउँको घरबाट भवेश चन्द्र राय अपहरण गरिए । उनलाई निर्ममतापूर्वक कुटेर हत्या गरियो । ढाकाबाट उत्तरपश्चिम ३३० किलोमिटर टाढा पर्ने गाउँबाट बिहिबार साँझ भवेश अपहरणमा परेको द डेली स्टारले लेखेको छ ।
भवेश चन्द्र राय बँगलादेश पुजा उड्जमन परिषद् को बिर्ला युनिटका उपाध्यक्ष थिए । उनलाई केही व्यक्तिले फोन गरेर घरमा भए नभएको पत्ता लगाएका थिए । त्यसपछि चारजना मानिस मोटरसाइकलमा आएर अपहरण गरेका थिए । उनलाई नजिकैको गाउँमा लगी कुटेर घर पठाइदिएका थिए । बेहोश अवस्थाका भवेशलाई अस्पताल लगिंदा मृत घोषित गरिएको थियो ।
भवेशको मृत्युलाई लिएर नेपाल, भारतलगायत देशका हिन्दूहरु आक्रोशित भएका छन् । भारत सरकारले हत्याको निन्दा गरेर चासो लिएको छ ।