५ बैशाख २०८२, शुक्रबार | April 19, 2025

युनिटिको अरबौं ठगी प्रकरणको गिरोहलाई सजायको फैसला, पीडितले कति रकम पाउलान् ?


996
Shares

काठमाडौं, ३ वैशाख । नेटवर्क व्यवसाय युनिटी लाइफ इन्टरनेसनलसम्बन्धी अरबौं ठगीले दश वर्ष अघि हलचल नै ल्याएको थियो । सर्वसाधारणले अरबौं गुमाएको यो ठगी प्रकरणमा औंलाले गन्न सकिनेहरु मालामाल भए । सरकारको नीतिले पिरामिड शैलीमा रकम संकलन गरिएको यो प्रकरणले अर्थतन्त्रमै तरंग ल्याएको थियो ।

यो प्रकरणसँग जोडिएका दृश्यमा देखिएका मुख्य नाइकेहरु थिए सञ्चालकहरु काशीराम गुरुङ, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्री, महेन्द्र केसी, विष्णुबहादुर क्षेत्री । उनीहरुमध्ये कतिलाई प्रहरीले सीमापारीबाट पक्राऊ गरी ल्याएको थियो ।

सर्वोच्च अदालतले एक दशकपछि यो प्रकरणका दोषीहरुलाई जरिबानासहित कैद सजाय सुनाएको छ । तर, सजाय अधिकतम साँढे दुई वर्ष मात्र छ । जरिवाना मात्र २५ हजार तोकिएको छ । सजाय सुनाइएकाहरुमध्ये कतिपयले र्पुपक्षका लागि थुनामा रहँदाको सजाय भोगिसकेकाले फेरि जेल जानुनपर्ने हुनसक्छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको इजलाशले युनिटी प्रकरणका दोषीमाथि सजाय तोकेको हो । युनिटीसम्बन्धी १६ वटा मुद्दामा सर्वोच्चले एकैपटक फैसला गरेको छ ।
युनिटी प्रकरणमा ठगिएकाहरुको रकम फिर्ता आउने गरी फैसला गरिएको छ । बिगोको हकमा तीनमहिनाभित्र तीनपटक सूचना प्रकाशित गरी कम्पनीको सम्पत्तिबाट भराउने फैसलामा भनिएको छ । सहजीकरणमा फैसला कार्यान्वयन निर्देशनालयका उपनिर्देशकलाई तोकिएको छ ।

२०६२ फागुन २८ मा कम्पनीमा दर्ता भएको थियो । इन्स्युरेन्स युनिटी लाइफ इन्टरनेशनल । २०६४ सालमा नाम परिवर्तन गरी युनीटी लाइफ इन्स्युरेन्स बनाइयो । यसले नेटवर्क नै बनाएर रकम संकलन गर्न थाल्यो । स्थापनाको पाँच वर्षमै सर्वसाधारणको अरबौं संकलन गर्न सफल भएको थियो ।

युनिटीले २२ वटा कम्पनी बनाई लगानी गरिसकेको थियो । जसमा अस्पताल, सपिङ सेन्टर, ट्राभल्स, घरजग्गा, विज्ञापन एजेन्सी, डेरी उद्दोग, जलविदुत कम्पनी समेत थिए । उनीहरु राज्यको आर्थिक निकायमा हावी हुन थाले । छोटो समयमा ठूलो रकमको चलखेलपछि चासो बन्यो । सदस्यमार्फत् ४ वर्षमा तीन अर्ब ८३ करोड ४ लाख रकम संकलन गरिसकेको थियो । कमिशन नै एक अर्ब ८३ करोड ७ लाख ५० हजार बाँडेको खुल्यो ।

एक अर्ब १५ करोड घरजग्गामा लगानी गरेको, ४१ करोड २८ लाख रुपैयाँ बैंकमा रहेको भेटिएको थियो । ती सबै सम्पत्ति फ्रिज भएको थियो । १० वर्षमा फ्रिज भएको रकम र सम्पत्तिको मूल्यांकन पनि बढिसकेको छ । अब ठगिएकाले कुन आधारमा रकम पाउँछन् भन्ने चासो छ । ठगिएको बराबरको मात्र रकम पाउने हो भने युनिटीको सम्पत्ति अझै बाँकी रहन्छ । ब्याज दिएपनि सम्पत्ति बाँकी रहने हिसाब देखिन्छ । यसमा ठूलै चलखेल हुनसक्छ अब ।

३ लाख ६८ हजार ७ सय १० जना सदस्य भइसकेका थिए । २८ फागुन २०६७ मा युनिटीपिवरुद्ध ठगी मुद्दा लाग्यो । ठगी मुद्दामा ४ हजार एक सय ४४ जना युनिटीको माथिल्लो तहका सदस्य र सञ्चालक मुछिए । एक सय १२ जनाविरुद्ध ठगी मुद्दा दायर भयो । ३१ जना अदालतमा पेश भए र ८१ जना फरार थिए ।

प्रतिक्रिया