प्रदीप अधिकारीलाई क्यानबाट हटाउने तयारी

काठमाडौं, १४ चैत्र । अरबौं भ्रष्टाचारमा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारीले शक्तिकेन्द्रको आँडमा आफूलाई जोगाउँदै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनले गरेका भ्रष्टाचारसम्बन्धी छानविनको ठेली नै जम्मा भइसकेको छ । अख्तियारमाथि शक्तिकेन्द्रको दबाब परेकाले मुद्दा दायरमा ढिलाई भएको बुझिएको छ ।
अधिकारीका बारे प्रमाणसहित दस्तावेजहरु फेला पर्न थालेपछि अख्तियार फेरि अगाडि बढ्ने तयारीमा रहेको विश्वस्त स्रोतले बताएको छ । यसै पनि प्रदीप अधिकारीले काँग्रेस र एमालेलाई नोक्शान पुग्ने गतिविधि गरेको तथ्यहरु समेत फेला परेको छ । उनले नेकपा समाजवादीको कोटाबाट नियुक्ति पाएको र उक्त दललाई चुनावमा सहयोग गरेका थिए । पछिल्लो समय चितवनका सांसद हरि ढकालमार्फते अधिकारी रवि लामिछानेको रास्वपा निकट भइसकेका छन् ।
रवि लामिछानेलाई धरौटीमा रिहा गर्दा प्रदीप अधिकारीले आर्थिक व्यवस्थापन गराइदिएको विश्वस्त स्रोतले बताएको छ । लामिछानेनिकट हरि ढकालसँग क्यानका कर्मचारीसहित चितवनमा भलाकुसारी गर्दा त्यहाँका कर्मचारीसमेत छक्क परेका थिए । एक कर्मचारीका अनुसार अधिकारी सबै शक्तिकेन्द्र र दल मिलाउन खप्पिस छन् । उनले रविका खास मान्छे हरि ढकाललाई समेत रिझाए ।
अधिकारीसँग पर्यटनमन्त्री बद्री पाण्डे पनि असन्तुष्ट भएको बुझिएको छ । पाण्डेले दरिलो गरी खुट्टा टेकेमा चाँडै कारबाही अगाडि बढ्नेछ । उनीमाथि भ्रष्टाचारको उजूरीहरुको ठेली जम्मा भएको आधारमा स्पष्टिकरण सोधिनसक्छ । त्यसपछि उनलाई हटाउने प्रक्रिया बढ्न सक्छ ।
आफैले डिल नगर्ने र दुई विश्वासपात्रमार्फते डिल गराउने प्रदीप अधिकारीको शैली छ । यसरी डिल गर्नेमध्येका पूर्वप्रहरी अर्जुन खड्का त अमेरिकी नागरिक हुन् । उनी नेपालमा बसेर अधिकारीको तर्फबाट आर्थिक लेनदेन र ठेक्कापट्टा मिलाउने गतिविधिमा सक्रिय छन् । अर्का ठेकेदार प्रकाश ढकाल अधिकारीको खास मान्छे हुन् । ठेक्कापट्टा उनले जसलाई भन्यो उसैलाई पर्छ ।
अधिकारीलाई जस्ले नियुक्तिका लागि क्याबिनेटमा नाम लग्यो उनैले भ्रष्टाचार गरेको सार्वजनिक रुपमा बोलिसके । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अधिकारीबारे तथ्यहरु छताछुल्ल पारिसके । तर, उनका खास मान्छे र कालो धनबारे भने सबुत नहुँदा छानविन निकाय अलमलमा थियो । नेपाली पेनले कालो धन लुकाउने गिरोहबारे खुलासा गरिसकेको छ ।