नयाँ आइजीपी को ?

काठमाडौं, २८ फागुन । नेपाल प्रहरीले चैत्र ४ बाट नयाँ आइजीपी पाउने भएको छ । वर्तमान आइजीपी बसन्त कुँवर सेवानिवृत्त हुने भएपछि नयाँ आइजीपीको दौड तिव्र भइरहकेो छ । आइजीपीका सबै दाबेदार एक अर्काको विरोधमा भन्दा पनि आफ्नो क्षमता र कुशलताको भरमा दाबी गरिरहेका छन् ।
वरियताका आधारमा आइजीपी बन्ने हो भने एआइजी दीपक थापा बन्नेछन् अबको आइजीपी । उनी प्रहरीमा टाठो अधिकृतको परिचय बनाएका छन् ।
एआइजी टेकबहादुर तामाङ सालिन र बौद्धिक मानिन्छन् । उनी पनि दौडमा गति बढाइरहेका छन् ।
उनीहरु मध्ये एकजना आइजी भएपछि ६ एआइजी पद रिक्त हुनेछ । सो पदका लागि आइजीको लागि भन्दा बढी दौडधुप सुरु भएको छ । अब हुने ६ एआइजीमध्येबाट ३२औं र ३३औं आइजी हुने भएपछि उनीहरूले आफूलाई केन्द्रमा राखेर बढुवाका लागि शक्ति केन्द्रमा लविङ थालेका छन् ।
आइजी कुँवरसँगै एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनक भट्टराईले अवकाश पाउनेछन् । आइजीमा एकजना एआइजीको नियुक्ति हुनासाथ ६ वटा दरवन्दी खाली हुनेछ । जसमा प्रहरीका तीन ब्याचबीच बढुवाको टक्कर छ । सिनियर ब्याचबाट चन्द्र्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरी शर्मा छन् ।
नेपाल प्रहरीको ऐन संसदबाट पास हुन ढिला भएमा यो ब्याचबाट दुई महिनाका लागि आइजी हुने सम्भावनासमेत छ । प्रहरी महानिरीक्षक कुँवर ब्याचका अधिकृतसँगै इन्सपेक्टर भर्नाको परीक्षामा सहभागी भएकोमा नियुक्ति भने ०५२ साल कात्तिक २७ गते दिइएको थियो । कुँवरपछि नियुक्त हुने ३१औं आइजीको कार्यकाल नथपिएमा १९ भदौमा अवकाश पाउनेछन् । त्यो अवस्थामा मात्र उनीहरू आइजी हुनेछन् ।
२०५४ को चैत १८ गते भर्ना भएको टोलीबाट ३२औं आइजीका लागि मुख्य दाबेदार रहनेछ । जसमा डीआईजी दानबहादुर कार्की, डा। मनोज केसी र राजन अधिकारी गत वर्ष नै बढुवा भएकाले उनीहरु सिनियर छन् । यही व्याचबाट ३३औँ आइजी हुने भएकाले एआइजी बढुवाका लागि शक्ति केन्द्रको बल लगाउने गरी कार्की, केसी, अधिकारी र शाह लागिरहेका छन् ।
कार्की अहिले लुम्बिनी प्रदेशमा छन् । अधिकारी कोशी प्रदेशमा छन् भने केसी एकेडेमीमा छन् ।