घूस लिने तत्कालीन न्यायाधीश लेखनाथ ढकालको फाइल खुल्दै, लहरो तान्दा पहरो गर्जने

नेपाली पेन खोज । नेपालको न्याय क्षेत्रमा भ्रष्टाचारले चुचुरो नाघिसक्दा पनि कारबाहीका घटना सायदै हुन्छन् । त्यसमाथि प्रमाणसहित घूस लिएको मामलामा कारबाही त के उल्टै बढुवा गरी भ्रष्ट न्यायाधीशलाई पुरस्कृत गरिएका घटना छन् । यस्तै घटना हो तत्कालीन न्यायाधीश लेखनाथ ढकाल जोडिएको घूस प्रकरण । जसमा उनकी पत्नी पनि सामेल भइन् ।
न्यायाधीशहरु सिधै आफू घूस नलिई विचौलियामार्फत् लगाउने घटना धेरै छ । विचौलियाले न्यायाधीश पत्नी र घूस लेनदेनमा सक्रिय हुनेगरेका वकिलहरुलाई पनि लगाउँछन् । यस्तै घटना काभ्रको पेट्रोलपम्प ठगीको आरोपमा प्रहरीले पक्राउ गरेकोमा छुटाउन र सफाई दिन अदालतमा भएको घूसकाण्ड हो ।
यो काण्डमा तत्कालीन काभ्रे जिल्ला अदालतका न्यायाधीश लेखनाथ ढकालले श्रीमतीमार्फत् १८ लाख घूस लिएका थिए । पेट्रोल पम्प प्रकरणका धेरै मुद्दाहरु रहेकोमा न्यायाधीश मेदिनी प्रसाद पौडेलले घूस लिएर सफाई दिएका थिए । उनले करोडौंको खेल खेलेको तथ्य नेपाली पेनलाई प्राप्त भएको छ । काभ्रेमा उनी संलग्न घूस काण्डका धेरै तथ्यहरु छन् । पौडेलले घूस पनि लिए पेट्रोलपम्प ठगी प्रकरणका आरोपीलाई सफाई पनि दिए र उच्च अदालतको न्यायाधीशको फड्को पनि मारे । ढकालले भने घूस लिएर जेल सजायको फैसला सुनाए । उनीमाथि उजूरीका कारण उच्च अदालतको न्यायाधीश बन्ने बाटो केही समय रोकिएको थियो । तर, चोलेन्द्रको पालामा उजूरी तामेलीमा राखेर उच्च अदालत जाने ढोका खोलियो ।
लेखनाथ ढकालले कसरी कति पैसा बुझे भन्ने प्रमाणसहित उमेश बाँनियाले न्याय परिषद्मा उजूरी दिंदा नै उल्लेख गरेका छन् । २१ भाद्र २०७३ मा लेखनाथ ढकालको मोबाइल नम्बरमा फोन गरी भनेबमोजिम सीतापाइलास्थित ससुरालीमा १८ लाख पुर्याउन लगाएको बाँनियाको उजूरीमा भनिएको छ । बाँनियाका अनुसार पाँच सयको नोटको बन्डल हुँदैन हजारको चाहिन्छ भनेपछि १८ बन्डल नोटको बिटो माइती पुगेकी ढकाल पत्नीलाई बुझाइएको थियो ।
२० भाद्र २०७३ मा भान्जा विनायक पौडेलको नेपाल इन्भेष्टमेन्ट बैंकको खाताबाट ९ लाखको चेक काटी २१ भाद्रमा चेक सटही गरी नारायण आयलको तर्फबाट घनश्याम खत्रीको तर्फबाट दिनुपर्ने १८ लाख सीतापाइलाको ससुरालीमा ढकालकी पत्नीलाई बुझाएको बाँनियाले उजूरीमा स्पष्ट लेखेका छन् । एउटै प्रकृतिको मुद्दामा फरक फरक फैसला र सफाईहरु भएको घटनामा ठूलो घूसकाण्ड भएको तथ्य प्राप्त भएको छ । जसमा सबैभन्दा बढी उच्च अदालतका हालका न्यायाधीश तथा काभ्रे जिल्लाका तत्कालनि न्यायाधीश मेदिनी पौडेलले सबैभन्दा बढी घूस विचौलियामार्फत बुझेका थिए ।
यसबारे उमेश बाँनियाले फिरौतीको शैलीमा रकम आफूबाट न्यायाधीश लेखनाथ ढकालले हात पारेको बताएका छन् । उनले आफूसँग आर्थिक लेनदेनको यथेष्ट प्रमाण हुँदा हुँदै न्याय परिषद्बाट न्याय नभएको बताए ।
२३ भाद्र २०७३ को पेशी सोही दिन नगर्ने भनी तत्कालीन न्यायाधीश ढकालबाटै वकिललाई निवेदन दिन लगाई स्थगित गरी २७ भाद्रमा पेशी तोकी उमेश बाँनियालाई पेट्रोल पम्पबाट ठगी प्रकरणमा ६ महिना कैद र २५ सय जरिवाना ठहरको फैसला गरेका थिए । सोही प्रकृतिको नारायण आयलका संचालक घनश्याम खत्रीलाई भने उही इजलाशबाट ४ महिना कैद र ५ हजार जरिवादा र पार्वती बिष्टलाई सफाईको फैसला सुनाइएको थियो ।
आर्थिक लेनदेन भएको मुद्दामा उमेश बाँनियाले सर्वोच्च अदालत, कानून मन्त्रालय र न्याय परिषद् मा उजूरी दिएपनि कुनै सुनुवाई चलेन । विश्वस्त स्रोतका अनुसार ढकाल कारबाहीमा पर्न लाग्दा उनलाई जोगाउन नातेदार एमाले नेता तथा वर्तमान अर्थमन्त्री विष्णु पौडेलले सक्रियता देखाएका थिए । उनको दबाबले कारबाही रोकिएन मात्र ढकालले उच्च अदालतको न्यायाधीशमा बढुवा पाए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विष्णुले अर्थ मन्त्रालयबाट बजेट विनियोजनको विषय देखाएर दबाब दिन सकेका थिए ।
विष्णुकै कारण लेखनाथ ढकाल प्रमाण नै भेटिएको घूस प्रकरणको कारबाहीबाट जोगिए र उच्च अदालतको न्यायाधीश सम्म बनेर सेवानिवृत्त भए । पेट्रोल पम्प ठगी प्रकरणमा काभ्रेका धेरै व्यवसायी पक्राउ परेका थिए । तर, आर्थिक लेनदेनमा अधिकांशले सफाई पाए । पक्राउकै बखत र्पुपक्षका लागि थुनामा नपठाउने फैसला पनि भयो ।
नेपाली पेनलाई प्राप्त सूचना अनुसार प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश भएपछि तामेलीमा राखिएको लेखनाथ ढकालमाथिको घूस प्रकरणको उजूरीबारे छानविन बढ्ने भएको छ । न्याय परिषद्ले पनि यसबारे चासो देखाएको छ । चोलेन्द्र शमशेरलाई विष्णु पौडेलले दबाब दिई छानविन रोक्न र उच्च अदालतमा लान लगाएपनि यसपटक ढकालमाथिको छानविन र कारबाही नरोकिने बुझिएको छ । यही प्रकरणसँग जोडिएका मेदिनी प्रसाद पौडेलमाथि पनि छानविन बढ्ने विश्वस्त स्रोतले बताएको छ ।