एलिना, मोहको कष्ट कुण्डमा केहीबेर पौडने मात्र हो
भाइ बैनीहरु, ध्यान दिएर पढनुस् । मानिसहरु ‘सम्बन्ध’लाई बडा ठूलो मुद्दा बनाउँछन् । तपाई हामी नयाँ सम्बन्धहरुप्रति उत्साहित पनि हुन्छौं । नयाँ दुलही, नयाँ दुलाहा, नयाँ प्रेमीका, नयाँ प्रेमी, नयाँ घरबेटी, नयाँ ठाउँ, नयाँ जागिर, नयाँ देश, नयाँ डिभाइस आदि इत्यादि । हामीले भुल्नु के हुँदैन भने यो अनित्य संसारमा ‘सम्बन्धहरु भनेका विच्छेद हुनकै लागि कायम भएका’ हुन्छन् । आज जुन नयाँ छ, त्यो भोली पुरानो भइहाल्छ । बिहान पख ताजा हराभरा साग दिउँसो ओइलाउँछ । विहान पाठकहरुमाझ हारालुछ भएको पत्रिका च्यातेर दिउँसो जिरा मरीच पोको पारिन्छ । भर्खर कायम भएको सम्बन्धको रौनक केही दिनपछि हराउँदै जान्छ । ढिलो र चाँडो मात्र हो, पती र पत्निमध्ये कुनै एकले पहिला छाडेरै जान्छन् । हामी कोही सँगै आएको पनि हैन र सँगै जाने पनि हैन । आशक्ति, लगाव र मोहको कष्ट कुण्डमा केहीबेर पौडने मात्र हो ।
मानौं म काठमाडौंबाट विराटनगरतर्फ छुटेको कुनै लोकल बसको यात्रामा छु । नागढुँगामा एउटा यात्रु बसमा चढ्यो र सँयोगले मेरै छेउको सीटमा आएर बस्यो । त्यो यात्रुसँग मेरो दोस्ती भयो, हामीले मकै, काँक्रो, चटपटे, कुरकुरेदेखि खाजा र खानासमेत सेयर ग¥यौं । दुःख सुखका कुरा साट्यौं । यात्राका क्रममा दुई यात्रुविच बडा आत्मीय सम्बन्ध कायम भयो । अन्ततः हेटौंडा आएपछि म झरें । हात हल्लाएर बाई बाई गर्दै हामी बिदा भयौं, दोस्त पनि आफ्नो गन्तब्यमा लाग्यो । दोस्ती भयो भन्दैमा न त म विराटनगरसम्म उनीसँगै जानसक्थें, न उनी मसँगै हेटौंडौ ओर्लिनसक्थे । कहाँ ओर्लने भन्ने त सबको आ–आफनो समय र गन्तब्य निर्धारण भएको हुन्छ । हाम्रा सम्बन्धहरु पनि यस्तै हुन् । विच्छेद हुनकै लागि कायम भएका सम्बन्धहरु टुट्यो भन्दैमा रुवाबासी गर्नु जरुरी छैन । अनि नयाँ सम्बन्ध गाँसीएकोमा हर्ष बढाई पनि जरुरी छैन, के थाहा पहिलाभन्दा झन निम्छरो साथी पो भेटिने हो कि रु
आजको प्रोफेसनल जमानामा आपसी सम्बन्धलाई पनि उपयोगिताबादी दृष्टिकोणले हेरौं । भावुक हुनु जरुरी छैन । सहज, फाइदाजनक, सतमार्ग प्रेरित, इमानदार र उपयागी सम्बन्धलाई बढावा दिदै हरेक सम्बन्धबाट प्राप्त हुने लाभको हिसाब गरेर अघि बढौं । रगतको साइनो, कोखको साइनो, नाता सम्बन्ध आदि मोहका नाममा ‘मेरो फलानो, मेरो प्यारो फलानो ओ हो’ भन्दै लोकाचारले भरिएका नातापिच्छेका सम्बन्धहरुको पाखण्डमा अल्झिनु जरुरी छैन । काम लाग्ने मान्छे हैन भने उसलाई बाटोमा नदेखे झैं गर्दा पनि हुन्छ । सुको लाभ नहुने मान्छेसँग गलफत्ती गरेर आजको वैश्य युगमा समय खोटा गर्नु आवश्यक छैन । हरेक मित्रतासँगै शत्रुता पनि गाँसीएर आएका हुन्छन्, त्यसैले पछि गएर शत्रु बन्नुभन्दा आजैबाट टाढा रहेर आशक्तिको बन्धनमा कसीनुबाट जोगिनुपर्छ ।
हेक्का रहोस्, हरेक सम्बन्धहरु तोडिनकै लागि गाँसीएका हुन्छन् । त्यसैले सम्बन्धहरुलाई प्रोफेसनल्ली डिल गरौं, चाहे पती पत्नीविच नै किन नहोस् । आफु शसक्त हुने, अरुको भरमा नपर्ने, सम्बन्ध चाँही आफु अनुकल रोज्ने । आफु शसक्त भएपछि भाटभटेनीबाट रोजी रोजी विस्कुट किनेर खाए झैं सम्बन्धलाई पनि उपयोगिताबादी कोणबाट हेरौं न, कानून र नीति बमोजिम डिल गरौं । सम्बन्ध अघि बढदै जाँदा कुरा मिलेन भने ड्याम केयर । ‘सात जुनीसम्म तिमी मेरी हौ’ भन्ने कुरा गीतमा मात्र सुहाउँछ ।
सम्बन्ध नै बोझ र समस्या भयो भने त्यस्ता सम्बन्ध तोडेर नयाँ ब्राण्डको अत्याधुनिक सम्बन्ध रोजौं । पुरानो स्मार्ट फोन स्लो भयो भने नयाँ आइफोन किनौं । यदि नयाँ आइफोन किन्ने पैसा छैन भने पैसा कमाउनतिर लागौं । तर, पुरानो स्मार्टफोन मर्मत गरेर काम चलाउँछु भन्नुभयो भने जिन्दगीभर तपाइ स्मार्टफोनमै अल्झीनुहुनेछ । अझ टेसला मोबाइलको त कल्पनै नगर्दा हुन्छ । एक पटक खराब भइसकेपछि जतिसुकै मर्मत सम्भार गरे पनि सम्बन्धले ऐन मौकामा धोका दिनसक्छ भन्ने मेरो पनि निजी अनुभव छ ।
शुभ दिन
(स्वामि धर्म विवेक उर्फ बिन्दास )