२६ पुस २०८१, शुक्रबार | January 10, 2025

लाखभन्दा बढी नक्कली लाइसेन्स प्रकरणको अनुसन्धानमा को को तगारो


January 9, 2025
1.2k
Shares

काठमाडौं, २५ पौष । देशमा एक लाखभन्दा बढी नक्कली सवारी लाइसेन्स रहेको खुलिसकेको छ । यसको अनुसन्धान चलिरहेको छ । अख्तियारले यो प्रकरणमा मुद्दा पनि दायर गरेको छ । यसमा कर्मचारी र दलालको संगठित गिरोह संलग्न छ ।

सीआइबीले नक्कली सवारी लाइसेन्स प्रकरणमा अनुसन्धान गरिरहको छ । तर, प्रहरीलाई यातायात व्यवस्था विभागले सहयोग गर्न मानेको छैन । नेपाल प्रहरीको सिआइबीले मागेको नक्कली लाइसेन्ससम्बन्धी विवरण उपलब्ध नगराई असहयोग गरेको छ विभागले । विभागका महानिर्देशक राजीव पोखरेलले व्यूरोलाई कुनै पनि विवरण उपलब्ध गराउन मानेको छैनन् । तत्कालीन महानिर्देशक उद्धव रिजालको सरुवापछि पुगेका पोखरेलले नक्कली लाइसेन्सको छानवीनलाई रोक्ने प्रयोजननका लागि यसो गरिरहेको बुझिएको छ ।

नक्कली लाइसेन्स प्रकरणमा जोगिन त्यही अनुसार कर्मचारी सरुवा गरिएको छ । यो प्रकरणमा जोडिएका कर्मचारीहरुलाई अहिले विभागमा लगेपछि नक्कली लाइसेन्सको अनुसन्धन ठप्प भएको छ । नक्कली जोडिएका उपसचिवलाई लाइसेन्स जारी गर्ने यातायात व्यवस्था विभागमै सरुवा गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृतमा छानबिन गरिरहेको वेला त्यसै प्रकरणमा जोडिएका उपसचिवलाई विभागमा सरुवा गर्दा अनुसन्धानमा बाधा पुगेको बताइएको छ ।

गत ३१ भदौमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत राजकुमार महर्जनलाई भौतिक पूर्वाधार वा अन्तर्गत सरुवा गरेपछि प्रकृयामा अवरोध आएको थियो । मन्त्रालयबाट उनलाई यातायात व्यवस्था विभागमा ल्याउन लागिएको छ । मन्त्रालयअन्तर्गत विभागमा मात्रै सूचना प्रविधि उपसचिवको दरबन्दी छ ।

महर्जन नक्कली लाइसेन्स प्रकरणमा छानबिनमा रहेका कर्मचारी हुन् । विगतको आन्तरिक छानबिनले पछिल्लो १० वर्षको अवधिमा एक लाख दुई हजार नक्कली सवारी लाइसेन्स जारी भएको निष्कर्ष निकालेको थियो । विभागकै छानबिनसमेतका आधारमा सिआइबीले दुईवटा मुद्दा अभियोजन गरिसकेको छ भने थप अनुसन्धान गरिरहेको छ ।

नक्कली लाइसेन्स छानबिन गर्न गठित समितिले नक्कली लाइसेन्स सम्बन्धमा महर्जनको समेत बयान लिएको थियो । महर्जन ०७० देखि ०७५ सम्म विभागको सूचना प्रविधि शाखामा कम्प्युटर इन्जिनियरका रूपमा कार्यरत थिए । यही अवधिमा धेरै नक्कली लाइसेन्स जारी भएका थिए । नक्कली लाइसेन्स जारी हुने गैरकानुनी काम सुरु भएको सुरुदेखि नै महर्जन विभागमा थिए ।

विभागको सूचना प्रविधि शाखाको प्रमुखकै जिम्मेवारीमा अहिले महर्जनलाई सरुवा गरिएको छ । विभागमा हालसम्म कार्यरत मुकेश रेग्मीलाई सञ्चार मन्त्रालय लगिएको छ ।छानबिन समितिले छानबिनका क्रममा सूचना प्रविधि शाखामा विगतमा कार्यरत कर्मचारीहरू कम्प्युटर इन्जिनियर महर्जनसहित सन्तोष पोखरेल, सुरजप्रकाश अर्याल तथा सूचना प्रविधि निर्देशक पवित्र डंगोलसँग बयान र सोधपुछ गरेको थियो । यसमध्ये अर्यालविरुद्ध भने यसअघि नै मुद्दा दायर भइसकेको छ ।

 

प्रतिक्रिया