२३ माघ २०८१, बुधबार | February 5, 2025

हिन्दू जागरणका लोकप्रीय अभियन्ता सन्तोष आचार्यको निधन


December 28, 2024
221.8k
Shares

काठमाडौं, १३ पौष । हिन्दू जागरणमा अहोरात्र सक्रिय रहँदै लोकप्रीय बन्नुभएका सन्तोष आचार्यको निधन भएको छ । आचार्यको ४१ वर्षको उमेरमा १२ पौषमा निधन भएको हो ।

केही समययता मस्तिष्कसम्बन्धी समस्यासँग जुध्दै आउनुभएका आचार्यको उपचारका क्रममा निधन भएको हो । उनको शनिबार गृहजिल्ला झापाको भद्रपुरमा अन्त्येष्टि गरिएको छ ।

आचार्य हिन्दू स्वयंसेवकको कार्यकर्ताका रुपमा सक्रिय हुनुहुन्थ्यो । उहाँ नीति अनुसन्धान प्रतिष्ठान, नेपाल, नेपाल संवाद केन्द्रमा पनि कार्यरत हुनुहुन्थ्यो ।

आचार्यकी पत्नी र छोरा हुनुहुन्छ । उहाँ निर्भिक, निडर धार्मिक व्यक्तित्वका रुपमा लोकप्रीय हुनुहुन्थ्यो । हिन्दू धर्ममाथिको योजनावद्ध आक्रमणको चिरफार गर्दै कलम चलाउनुहुन्थ्यो । सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेले उहाँलाई हिन्दू धर्मका लागि शतिशाल झै उभिने योद्धा तथा अध्येताका रुपमा उल्लेख गरेका छन् ।

आचार्यका लेखहरु नेपाली पेनलगायत विभिन्न सञ्चारमाध्यम र रिसर्च पुस्तकहरुमा प्रकाशित छन् । मोहन श्रेष्ठद्वारा लिखित धर्मान्तरणको धन्दा पुस्तकको प्रकाशक पनि हुनुभयो ।

व्यक्तिको पहिचान तस्बिर नभई ऊ भित्र निहित गुण र विद्वता हो भन्ने मान्यतालाई शिरोधार्य गरेर सक्रिय हुनुहुन्थ्यो ।

सन्तोष आचार्यको जीवनी
झापा जिल्लामा जन्मिनुभएका आचार्यले सनातन धर्मको संरक्षण, हिन्दू दर्शन र परम्परागत विधि(विधानबारे सामाजिक सञ्जालमा प्रभावशाली उपस्थिति बनाउनुभएको छ । आचार्यको लेख सामाजिक सञ्जालमा एक प्रेरणादायी ऊर्जा बन्यो। फेसबुकमा करिब ३० हजारभन्दा बढी फलोअर रहेका उहाँको प्रत्येक पोस्टले सयौं शेयर र प्रतिक्रियाहरू पाउँथ्यो। सनातन धर्मका मूल्य, दर्शन र विधिहरूको व्याख्या गर्दै उहाँले युवापुस्तामा परम्पराको महत्व जागृत गराउने अमूल्य योगदान पुऱ्याउनुभयो।
ब्रेन टुमरका कारण उहाँले यो नाश्वर शरिर त्याग्नु पर्यो तर उहाँका विचार भने सनातन चौतारी लगायत समग्र ऊँकार परिवारले सम्झिहनेछ।

शैक्षिक पृष्ठभूमि र जीवनको आदर्श

सन्तोष आचार्यले समाजशास्त्र र अंग्रेजी विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभयो । साथै, अंग्रेजीमा बीए र बीएड गर्दै आफ्नो ज्ञानको परिधिलाई फराकिलो बनाउनुभएका उहाँ एक विद्वान् शिक्षाविद् मात्र होइन, अनुसन्धानमा गहिरो रुचि राख्ने अनुसन्धानकर्ता पनि हुनुहुन्थ्यो । समाजको दिगो विकास र समृद्धि उहाँका आजीवन उद्देश्य थिए।

व्यक्तिगत जीवन र सामाजिक भूमिका
सन्तोष आचार्य स्व। सालिग्राम आचार्य र लक्ष्मी आचार्यका सुपुत्र हुनुहुन्छ । उहाँका तीन दाजु र एक दिदीमध्ये सबैभन्दा कान्छा हुनुहन्थ्यो। उहाँकी पत्नी पूजा आचार्य र पुत्र आर्याधित आचार्य हुनुहुन्छ ।
आचार्य समाजको हितका लागि यात्रा गर्न रुचाउने र समुदायका लागि समर्पित भावना राख्नुहुन्थ्यो । उनले परम्परा र आधुनिकताबीच सन्तुलन राख्दै समाजको दिगो विकासका लागि नयाँ सोच र दृष्टिकोण प्रस्तुत गर्नुभयो । उहाँ सधै लोभ लालचबाट मुक्त रहनुभयो । देशको धर्म संस्कृतिका हितमा निडरताका साथ प्रस्तुत हुनुभयो ।

सनातन धर्मको मर्मलाई बुझाउँदै समाजमा यसको प्रचारप्रसार गर्नु उहाँको जीवनको प्रमुख उद्देश्य थियो। आधुनिक समाजमा हिन्दू परम्परालाई नयाँ ढंगले बुझाउने र व्याख्या गर्ने उहाँको क्षमता अतुलनीय थियो। उहाँका विचारहरूले धेरैलाई मार्गदर्शन गर्‍यो र सनातन धर्मप्रति विश्वास अझ प्रगाढ बनायो।

सन्तोष आचार्यको असमयिक निधनले नेपाली समाज मात्र नभई समग्र हिन्दू समाजले एक कुशल अभियन्ता, विद्वान्, र समर्पित धर्मसंरक्षक गुमाएको छ।

प्रतिक्रिया