आरजुको ऋणमा बीआरआई सम्झौतामा भूमिकाले तरंग
काठमाडौं, २५ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन आरजु देउवाको मुख्य भूमिका छ । उनले त्यसवापत् परराष्ट्रमन्त्रीको पुरस्कार पनि पाइन् । आरजुले भारतको विश्वास लिन दिल्लीमा खुबै ओहोरदोहोर गरिन् । परराष्ट्रमन्त्रीका रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग महत्वपूर्ण भेट गरिन् । तर, उनले चीनसँगको बीआरआई परियोजना सम्झौता गराउन पनि भूमिका खेलिन् ।
आरजु बीआरआई फ्रेमवर्कसम्बन्धी सम्झौता हुनु अघि चीन गइन् । उनी ओलीको भ्रमणमा पनि साथमै थिइन् । नेपालमा आएर बीआरआई ऋणमा नलिएको भनिन् । तर, उनले झुट बोलेको पुष्टि भइसकेको छ । बीआरआई ऋणमै हो भन्ने ओली र उनका दलका नेताले खुलाइसकेका छन् ।
बीआरआई ऋणमा लिएको संकेत गर्दै ओलीले दमक पुगेर सोमबार ऋण लिएर घीऊ खाएर नबस्ने बताए । एमालेका प्रभावशाली नेताहरु चीनसँग ऋण लिन नहुने के छ ? भनिरहेका छन् ।
आरजुले भारतको भरोसा त लिइन् तर भारतलाई नै झुक्याएर गतिविधि गरेको विश्लेषण हुन थालेको छ । काँग्रेसभित्र पनि आरजुको चर्को आलोचना हुन थालेको छ ।
भारतविरोधी नेपालका एकथरी समूहले आरजुको खुलेर प्रशंशा गर्न थालेका छन् । उनलाई कूटनीतिक चार्तुयता भएकी नेता समेत भन्न भ्याएका छन् । तर, बीआरआई ऋणमै सम्झौता गर्ने आरजुको चलखेलले काँग्रेसभित्र तरंग नै आएको छ ।
बीआरआई फ्रेमवर्कमा केही ऋण केही अनुदानको विषय पनि आएको छ । यो विगतमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चीनबाट ६ वटा विमान नेपाल वायुसेवा निगमका लागि ल्याएको जस्तै हो । त्यतिबेला चीनले एमए ६० र वाई १२ ई विमान गरी कुल २ अर्ब ९४ करोड अनुदानमा र बाँकी चार विमान ३ अर्ब ७२ करोड ऋणमा दिएको थियो । अहिले ६ मध्ये एक विमान नेपालगञ्जमा दुर्घटनामा पर्यो । बाँकी ५ विमान थन्किएको छ र निगमका लागि सेतो हात्ति सावित भएको छ ।