४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

संविधान भन्दा देश ठूलो हैन बा


September 20, 2024
1.3k
Shares

श्याम खनाल: ए बा ! तपाइँले संविधान दिवस भव्य तरिकाले मनाऔँ भन्नुभयो तामझाम गराउनुभयो । त्यस्तै तपाइँ भन्दा अगाडिका जेठा, एवम् माइलाबाहरूले पनि त्यस्तै भन्दै हुनुहुन्छ भने तपाइँ पछि पालो कुरेर बसिरहनुभएका कान्छाबाहरूले पनि त्यस्तै भनिरहनुभएको छ । तर हामी धान नै राम्ररी खान नपाएका जनताले यो संविधान दिवस किन र के का लागि मनाउने हो त्यसको पत्तो नै छैन । तर पनि उत्तर चाहिँ आइहाले जस्तो लाग्यो ! बा यही भएर पो संविधान दिवस मनाउनुपरेको छ ।

तपाइँहरूले आफ्नो धर्मशास्त्रभन्दा पनि माथि मानेको यो संविधानले हामीलाई के दिएको छ र बा रु दिएको छ त उही कर बढाएर तपाइँहरूलाई पाल्ने विधान त दिएको छ । एउटा नेपालीले जागिर खाएको छ । जागिर खाएको हुनाले पनि चर्को कर बुझाउनुपरेको छ । उसले प्रयोग गर्ने सवारी साधनमा त माथि भनिएअनुसार नै कर बुझाउनुपरेको छ । उसले आफुले प्रयोग गर्ने दैनिक सामग्रीमा पनि कर तिर्नुपरेको छ । त्यतिले मात्र कहाँ पुग्यो र बा । उसले जीवन जिएर हजूरहरूलाई कर तिर्नका लागि पनि दाल भात तरकारीमा पनि कर तिर्नुपरेको छ । यातायातमा हिँड्दा पनि कर तिर्नुपरेको छ । पानी प्रयोग गर्दा वा विजुली प्रयोग गर्दा पनि कर तिर्नुपरेको छ । बा मेरो प्रश्नको उत्तर आएजस्तो लाग्यो ! यही भएर पो संविधान दिवस मनाउनुपरेको छ ।

एउटा नेपालीले आफ्नो सवारीसाधन किन्ने बेलामा हजूरहरूलाई दुई सय प्रतिशतको कर तिरेको छ । त्यतिले मात्र कहाँ भयो र ? पुनः त्यो सवारीसाधनमा राखिने इन्धनमा कर तिर्नुपरेको छ । अझ त्यतिले मात्र कहाँ भयो र ? तपाइँहरूलाई पुनः चर्को वार्षिक कर तिर्नुपरेको छ । बाहिरका देशमा जस्तो साधन किनेपछि साधनको विमा हुने प्रणाली पनि यहाँ लागू गरिएको छैन । किनकि यो काम त फेरि अर्को व्यापारीलाई दिएर हामीलाई पुनः कर तिराउनुपरेको छ । त्यसैले वार्षिक विमा मार्फत् अर्को चर्को रकम तिर्नुपरेको छ । अझ कहाँ पुग्यो र रु त्यस सवारीसाधन बिग्रियो भने बनाउँदा लाग्ने सामानमा पनि कर तिर्नुपरेको छ । बा मेरो प्रश्नको उत्तर आएजस्तो लाग्यो ! यही भएर पो संविधान दिवस मनाउनुपरेको छ ।

नेपाली जनता रोजगारीका लागि खाडी मुलुकमा गएर परिश्रम गर्नुपरेको छ । रोजगारीका लागि पासपोर्ट बनाउन पनि कर तिर्नुपरेको छ । उताबाट कमाएर पठाएको त्यो हातमुख जोर्ने पैसाका लागि पनि कर तिर्नुपरेको छ । त्यतिले मात्र कहाँ भयो र बा । उसले परिवारका लागि माया गरेर ल्याएका सामग्रीमा पनि कर तिर्नुपरेको छ । अझ बा भन्न पनि गाह्रो लाग्छ त्यो नेपाली कथं कदाचित् उतै मर्यो भने उसलाई नेपालसम्म ल्याउनका लागि पनि विभिन्न माध्यमले कर नै तिर्नुपरेको छ । बा मेरो प्रश्नको उत्तर आएजस्तो लाग्यो ( यही भएर पो संविधान दिवस मनाउनुपरेको छ ।

मेरो सानो देश पनि बाँडेर नेताले खाने थलो भएको छ । अनावश्यक रूपमा बाँडिएका प्रदेशका सांसद पाल्न नेपालीलाई कर तिर्न कर गरिएको छ । ती कुर्सीमा बसेर कामै नगरीकन खानेहरूलाई कर तिर्न नेपालीलाई बाध्य बनाइएको छ । त्यस्तै गाउँपालिका र नगरपालिकाका नाममा चर्को प्रणाली लागू गरिएको छ । जसले गर्दा गाउँगाउँमा सिंहदरबारका नाममा गरिब जनतालाई जुनसुकै कामका लागि पनि कर लिने गरिएको छ । त्यो फि कर जन्मदर्ता गर्दा त लिइयो लिइयो मृत्युदर्ता गर्दा पनि लाजै नमानिकन लिइएको छ । सिंहदरबारमा मात्र भ्रष्टाचार गरेर नेपाल चाँडै विग्रिएन भनेर गाउँपालिका नगरपालिका र प्रदेशमा पनि भ्रष्टाचार गरेर देशलाई चाँडै बिगार्नुपरेको छ । बा मेरो प्रश्नको उत्तर आएजस्तो लाग्यो ! यही भएर पो संविधान दिवस मनाउनुपरेको छ ।

यति सानो देशमा अनावश्यक विश्वविद्यालयका नाममा अर्को कार्यकर्ता भर्ती केन्द्र खोलिएको छ । विद्यार्थीहरूलाई दिनप्रतिदिन विदेशतिर लखेटिएको छ । तर यहाँ चाहिँ क(कसको नाममा हो कुन्नी विश्वविद्यालय खोलेको खोल्यै गरिएको छ । अब ती विश्वविद्यालयका नाम पनि रिक्त विश्वविद्यालय राखे भइहाल्ने भएको छ । त्यतिले मात्र कहाँ पुग्यो र हजूर त्रिभुवन विश्वविद्यालयबाट फुटाएर संस्कृत विश्वविद्यालय भनेर संस्कृत संरक्षणका लागि खोल्ने अनि काम चाहिँ फेरि त्रिभुवन विश्वविद्यालयले नै चलाइरहेका आधुनिक शिक्षाका कार्यक्रमहरू थप्ने काम गर्न थालिएको छ । बुद्ध दर्शनको विशेष अध्ययनरअनुसन्धानका लागि बौद्धविश्वविद्यालय खोल्ने अनि फेरि अरु नै विश्वविद्यालयहरूले चलाइरहेका कमर्श आदिका कार्यक्रम ल्याएर पाँच जना विद्यार्थीलाई १५ जना प्राध्यापकहरूले पढाउने काम गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा त विद्यार्थी कमी भइरहेका बेला फेरि उही विश्वविद्यालयका कार्यक्रमको कपि गरेर मध्यपश्चिमाञ्चल विश्वविद्यालय खोलिएको छ । ओहो यतिले मात्र कहाँ पुग्यो र रु लोक सेवा आयोग हुँदाहुँदै प्रत्येक विश्वविद्यालयमा सेवा आयोग खोलेर फेरि अर्को जनताका नाममा आर्थिक टेन्सन ल्याइएको छ । ल ठिक छ सेवा आयोग नै चाहियो भने के सबै विश्वविद्यालयको एउटै सेवा आयोग बनाइदिए त टन्टै साफ हुन्नथ्यो र रु अरु संस्थानहरूको पनि यस्तै हालत छ । के गर्ने जसरी पनि यो देश विगार्न त पर्यो नि है । बा मेरो प्रश्नको उत्तर आएजस्तो लाग्यो ( यही भएर पो संविधान दिवस मनाउनुपरेको छ ।

देशका बाटाघाटाको कुरै नगरौँ । हग्नेलाई भन्दा देख्नेलाई लाज भनेर हाम्रा पूर्खाहरूले पहिल्यै भविष्यवाणी गरेको यसैका लागि रहेछ । सबैले देख्ने बुटवल(नारायणगढको हालत त यस्तो छ । अझ देशभित्रका सडकको हालत कस्तो होला । बन्दै बन्दैनन् । बने भने पनि अर्को दिन विग्रने गरी लिपपोत गरिन्छन् । तपाइँहरूलाई सरकार बचाउन र विगार्न नै फुर्सद नभइरहेका बेला त्यता नजर त कसरी पो लगाउने । तपाइँहरूका पालिकाका छोटे महाराजहरूलाई भन्यो – यो त प्रदेशको काम हो भन्छन् । प्रदेशमा गयो फेरि यो त केन्द्रको काम हो भन्दछन् । के गर्ने यहाँ युवाको कुरो नै छोडौँ यहाँ पचास काटेकाहरूमा पनि तपाइँहरू जनित फ्रस्टेसनले गर्दा देशै छोड्ने विचार गरिरहनुपरेको छ । बा मेरो प्रश्नको उत्तर आएजस्तो लाग्यो ( यही भएर पो संविधान दिवस मनाउनुपरेको छ ।

देशमा बसेकाहरूले नागरिकता पाउन गाह्रो भएको समयमा तपाइँहरूले बंगलादेश वर्मा र पाकिस्तानबाट आएकाहरूलाई लाखौँ नागरिकता दिनुभयो । यसरी फ्रिमा बाँडेको देखेर छिमकीहरूले पनि नागरिकता लिए । धर्मनिरपेक्षवादी छिमेकीहरूले नागरिकता लिँदा त्यतिखेर मतलव गरेनन् तर बल्ल हाम्रा मधेसी दाजुभाइहरूले कुरो बुझेका छन् । बेला गइसकेपछि बुझेर के गर्ने रु त्यस्तै यहाँबाट केही वर्ष पहिला भुटान गएर बसेका तर फेरि त्यहाँबाट लखेटिएका नेपालीहरूलाई नागरिकता दिनुभएन । उनीहरूलाई नागरिकता दिनुभएको भए कति राम्रो हुने थियो । यहाँ देशमा बसेका पुराना मिया मुसलमान जसको हृदय नै नेपालीमय भइसकेको छ उनीहरूलाई माया गर्नुको सट्टा त तपाइँहरूले समावेशीताका नाममा बाहिरबाट आएका मुसलमानहरूलाई नागरिकता दिएर ज्वाइँ बनाएर पाल्नुभएको छ । धर्मपरिवर्तन गराएर नेपाली नेपालीलाई लडाउने र अर्को खाओवादी आन्दोलन मच्चाउन परिपञ्च रचेर आएकाहरूलाई देश निकाला गर्न सक्नुभएको छैन । समावेशीताका नाममा जातजातीका कुरा ल्याउनुभएको छ । गरीब भए पनि बाहुन क्षेत्रीले केही पाएको छैन तर बेलायतमा बसेर यता आएका मित्र परियार र आङ्काजी आदिहरूका सन्तानले यहाँ समावेशिताका नाममा राज्यद्वारा दिइएको सुविधा भोग गरिरहेका छन् । बा मेरो प्रश्नको उत्तर आएजस्तो लाग्यो ( यही भएर पो संविधान दिवस मनाउनुपरेको छ ।

ए बा ! अब त विचार गर्नुहोस् । दलमर्दन बा बाहेकका जेठा बा, माइला बा, कान्छा बाहरूले पनि विचार गर्नुहोस् । अहिले बहुत तपाइँहरूलाई ठूलो मौका आएको छ । यही समयमा यी सबै समस्याहरूको समाधान गर्ने मौका आएको छ । अब यो मौकामा पनि तपाइँहरूले चौका हान्न सक्नुभएन भने तपाइँहरू त सिद्धिनु नै हुनुहुनेछ । हाम्रो यो देश नेपाललाई पनि सिद्धाउनुहुनेछ । हामीलाई पनि सिद्धाउनुहुनेछ । त्यसैले यो देशको संस्कार संस्कृति र संस्कार विपरितको जनतालाई ढाड मात्र सेक्ने प्रणालीको संविधानलाई तुरुन्त संशोधन गरी यहीँको माटो सुहाउँदो संविधान बनाउनमा अग्रसर हुनुहोस् । अनि मात्र हामी सबैले अर्को वर्ष हर्षोल्लासका साथ संविधान दिवस मनाऔँला । तपाइँहरूको संविधान दिवस मनाउने दिन पनि विहानदेखि लाइन नभएकाले बल्ल बल्ल डाटा खोलेर लेखेका कुरा बुझ्नोस् है बा ! संविधान भन्दा त देश ठूलो हैन र बा !

प्रतिक्रिया