३ आश्विन २०८१, बिहिबार | September 20, 2024

पाकिस्तान र बँगलादेशमा हिन्दू घटेको घट्यै नेपालमा मुसलमान र इशाई बढेको बढ्यै


August 13, 2024
1.2k
Shares

आलोक गौतमः ‘सौ चूहे खा के बिल्ली चली हज को’ अर्थात् ‘सय मूसा खाएर बिरालो हजयात्रामा गयो,’ यो लोकोक्तिले पुग्दो पाप गरेर तीर्थयात्रा गएको भन्न खोजिएको हो । सँसारमा अहिले धार्मिक सहिष्णुताको आवाज फैलाउनेहरु धार्मिक नरसंहार नै गर्नेहरु नै छन् । विशेषगरी पश्चिमाहरुले सहिष्णुताको नारा खुबै घन्काउँछन् । तर, इतिहास साक्षी छ उत्तर अमेरिका, दक्षिण अमेरिका र अफ्रिकामा उनीहरुले रैथाने धर्म संस्कृतिमाथि आक्रमण गर्न नरसंहार नै गरेका थिए । अनि इशाई धर्म फैलाएका थिए । उत्तर अमेरिकामा मात्र ५ करोड मानिस मारिएका थिए । अफ्रिकामा पनि नरसंहार गरियो र दास बनाएर लगियो । उनीहरु दास मात्र बनेनन् धर्मान्तरण गर्न वाध्य भए ।

अहिले फरक रणनीतिका साथ धर्मान्तरण गरिदैछ । रणनीतिक तरिकाले द्वन्द्व फैलाएर स्थानीय धर्म संस्कृतिमाथि स्थानीयकै काँधमा बन्दुक पड्काएर आक्रमण गरिन्छ । हुटु र टुट्सीबीचको द्वन्द्वले निम्त्याएको नरसंहारका पछाडि पश्चिमाहरु नै थिए । अफ्रिकाको स्रोत साधनमाथि कब्जा र धर्मान्तरण साथ साथ गरिरहे उनीहरुले । अहिले उनीहरु नै धार्मिक सहिष्णुताको नारा घन्काइरहेछन् सय मूसा खाएर बिरालो हजयात्रामा गएको लोकोक्तिसँग मिल्ने जसरी ।

अफगानिस्तानमा हिन्दू बौद्ध जनसंख्या नामेट पारिएको छ अहिले । बामियानको विश्वकै सबैभन्दा पुरानो बुद्धमूर्ति तोपले उडाउनबाट रोक्न सकेनन् धार्मिक सहिष्णुताको नारा घन्काउनेहरुले । न त अफगानिस्तानमा हिन्दू बौद्धमाथिको आक्रमण रोक्न नै जिम्मेवारी ठाने कुनैबेला बहुसंख्यक हिन्दू बौद्ध जनसंख्या रहेको अफगानिस्तानमा ५० हिन्दू बौद्धको जनसंख्या एक सयभन्दा कममा झरेको छ । उनीहरु कि लखेटिए कि मारिए कि धर्म परिवर्तन गर्न वाध्य भए । के त्यही हो धार्मिक सहिष्णुता । सन् १९७० को दशकमा ७ लाख, १९८० मा झण्डै २ लाख, २००५ सम्म झण्डै एक लाखको संख्यामा थिए हिन्दू तर २०१० मा १० हजारमा झरेका उनीहरु अहिले सय भन्दा कम संख्यामा छन् । अफगानिस्तानमा एकमात्र हिन्दू पण्डित बाँकी छन् त्यो पनि मन्दिरको सुरक्षागार्डका रुपमा । उनको पनि जीवन खतरामा छ । बरु अफगानिस्तानमा अझै २० हजार इशाई रहेको तथ्यांक छ ।

पाकिस्तान नबन्दा त्यस क्षेत्रमा ३० प्रतिशत माथि हिन्दू जनसंख्या थियो । पाकिस्तान बन्दा २४ प्रतिशत हिन्दू थिए । अहिले पाकिस्तानमा २.४ प्रतिशत हिन्दू जनसंख्या छ । उनीहरु कि लखेटिए कि धर्मान्तरण गर्न वाध्य पारिए । रोचक यो छ कि पाकिस्तानमा इशाईको जनसंख्या बढेको छ । उनीहरु त्यहाँ सुरक्षित छन् र प्रभाव फैलाइरहेका छन् । बँगलादेशमा झण्डै १० प्रतिशत हिन्दू जनसंख्या छ । द सन्डे गार्डेनको अबको ३० वर्षमा बँगलादेशका कुनै हिन्दू बाँकी नरहने प्रक्षेपण गरेको छ । बँगलादेश नजन्मिदा त्यस क्षेत्रमा १९४० ताका कुल जनसंख्याको २८ प्रतिशत अर्थात् ३ करोड हिन्दू थिए । अहिले ९ प्रतिशतमा झरेको छ । त्यहाँ पनि हिन्दू मारिने, लखेटिने र धर्म परिवर्तन गर्न वाध्य पारिने क्रम चलिरहेको छ । बँगलादेशको हालैको सत्ता परिवर्तनमा हिन्दूहरु मारिए । उनीहरुले सुरक्षा खतरा भोगे । रोचक त यो छ कि बँगलादेशमा इशाईको जनसंख्या बढेको बढ्यै छ । उनीहरुलाई इशाई देशहरुको संरक्षण छ ।

हिन्दू बाहुल्य दक्षिण एशियामै हिन्दूहरु असुरक्षित भइरहेका छन् । उनीहरु सुरक्षा खतराले कि थालथलो छाड्नुपर्ने कि धर्मान्तरण गर्नुपर्ने वाध्यता झेलिरहेका छन् । तर, रोचक यो छ कि हिन्दू बाहुल्य नेपाल र भारतमा गैरहिन्दू जनसंख्या बढ्दैछ । यो हिन्दूको सहिष्णुता हो कि सहिष्णुतालाई कमजोरी ठानिएको हो ? यो प्रश्न गम्भीर बनेको छ ।
नेपालमा १९५२ तिर २ लाख मुसलमान जनसंख्या रहेकोमा २०२१ मा १४ लाख पुगेको छ । उनीहरुको जनसंख्या ह्वात्तै बढेको छ । २०५० सम्म नेपालमा ३२ लाख मुसलमान जनसंख्या हुने प्रक्षेपण छ ।

सन् १९६६ मा एक सयको संख्यामा थिए नेपालमा इशाई । १९९० मा आइपुग्दा ५० हजार पुगेको तथ्यांक छ । २०२१ को जनगणनाले इशाई जनसंख्या ५ लाख नाघेका छन् । यो क्रम अझ बढ्दो छ । ५० वर्षमा सयबाट ५ लाख पुगेका छन् इशाई । कुल जनसंख्याको झण्डै २ प्रतिशत उनीहरुको संख्या छ । हिन्दू बाहुल्य भारतमा पनि मुसलमान र इशाई जनसंख्या बढिरहेको छ । यो क्रम मुगल शासन हुँदै ब्रिटिश शासन देखि हिन्दूवादी भाजपा शासनकालमा पनि चलिरहेको छ । १९५१ म मुसलमान १० प्रतिशतको हाराहारीमा रहेकोमा २०११ म १४ प्रतिशत भन्दा बढी देखियो । पछिल्लो समय झन् बढेको प्रक्षेपण छ । इशाईको जनसंख्या पनि बढेको छ । बरु हिन्दूको जनसंख्या १९५१ म ८४ प्रतिशत रहेकोमा २०११ म ८० प्रतिशतभन्दा कम देखियो । यसबाट हिन्दूमा धर्मान्तरण गर्नेहरुको प्रहार स्पष्ट बुझ्न सकिन्छ ।

हिन्दूहरुको धार्मिक सहिष्णुतालाई कमजोरी ठानेर उनीहरु अल्पसंख्यक रहेको देशमा दमन गर्ने, नरसंहार गर्ने देखि लखेट्ने वा धर्मान्तरण गर्ने क्रम तिव्र छ । उनीहरुको जनसंख्या ती देशहरुमा तिव्र रुपमा घटिरहेबाट यो बुझ्न सकिन्छ । हिन्दूहरु जहाँ बहुसंख्यक छन् त्यहाँ मुसलमान र इशाईको जनसंख्या बढिरहेको छ । यसबाट पनि बुझ्न सकिन्छ कि हिन्दू कति सहिष्णु छन् र उनीहरुको सहिष्णुतालाई कमजोरी ठानेर मुसलमान र इशाई बाहुल्य देशहरुले योजनावद्ध तरिकाले धर्मान्तरण गराइरहेका छन् । के हिन्दूमात्र सहिष्णु बन्नुपर्ने अरु बन्नुनपर्ने ? मुसलमान र इशाई असुरक्षित भइहाले मुस्लिम र इशाई देशले बोलिहाल्ने हिन्दूका लागि को बोल्ने ? हिन्दूका लागि बोल्ने राष्ट्र खै ? सहिष्णुताको शब्दजालमा हिन्दू सिध्याउन खोज्ने ?

प्रतिक्रिया