४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कर्मले ‘ब्राम्हण’ बनेका आचार्य कृष्ण दमाई


August 12, 2024
3.6k
Shares

काठमाडौं, २८ साउन । ब्राम्हण तपस्याबाट मात्र बन्न सकिन्छ । यो जात होइन । बाहुन जन्मजात हो ब्राम्हण कर्मले प्राप्त गर्न सकिने विषय हो । कृष्ण दमाई गहिरो तपस्याबाट संस्कृतिमा आचार्य गर्न सफल भए । उनी व्यासासनमा बसेर तारिफयोग्य प्रवचन दिन थाले । उनको प्रवचनको चर्चा देशभित्र र बाहिर भइरहेको छ ।

विश्वामित्र ऋषि क्षेत्री जातका थिए । तपस्याबाट ब्राम्हण बने । ऋषि बेद व्यास त माझी युवतीको कोखबाट जन्मिएका थिए । उनी तपस्याबाट ब्राम्हण बने । बेद व्यासले महाभारत लेखे ।

यतिबेला कृष्ण दमाईं ब्राम्हण बनेकोमा क्रिया प्रतिक्रिया आइरहेको छ । उनले जात नै बदले जस्तो गरिएको छ । हिन्दू धर्ममा जात जन्मजात हो जुन फेरिदैन । तर, कर्मले अर्थात् तपस्याले ब्राम्हण बन्न सकिन्छ । कर्मले राजा बन्न सकिन्छ या विभिन्न पदमा पुग्न सकिन्छ ।

कृष्ण दमाईले आचार्य उपाधि प्राप्त गरेर समाजमा महत्वपूर्ण सन्देश दिएका छन् । यसले जातीय विभेद हटाउने नाममा व्यक्तिगत लाभ लिने र समाजमा घृणा फैलाउनेहरुलाई धक्का पुगेको छ । घृणाले होइन प्रेमले विभेद हट्छ । विभेद हटाउने त समाजले हो ।

हिन्दू धर्म ग्रन्थले छूवाछूतको विरोध गरेका छन् । महाभारतमा बेद व्यास, कर्ण जस्ता पात्रको चरित्र र भूमिबाट यही देखिन्छ । समाजमा कृष्ण दमाईहरु ब्राम्हण बन्ने मार्ग बन्द छैन । कर्मबाट नै समाजमा उच्च सम्मान पाउन सकिन्छ चाहे जुनसुकै जात किन नहोस् । जातीय छूवाछूद या विभेद पनि कर्मको शक्तिबाट हटाउन सकिन्छ ।

यो समाज हाम्रै हो । यसलाई नष्ट गर्ने धर्ममाथि प्रहार गर्ने गरेर विभेद हट्दैन । धर्म परिवर्तन गरेकाहरुभित्र पनि जातीय विभेद कायमै छ । परिवर्तन त समाजका लागि हुनुपर्छ । त्यो दीगो हुनुपर्छ । भागेर कहीं पुगिदैन । घृणा गरेर केही परिवर्तन आउँदैन । परिवर्तनका लागि टिक्नुपर्छ यही कर्म गर्नुपर्छ यहीं । कृष्ण दमाईहरु ब्राम्हण बन्न सक्ने वातावरण विकास भएको छ भने छूवाछूत पनि हट्दैछन् । त्यसका लागि पनि कर्म गर्नुपर्छ सबैले आफ्नो आफ्नो ठाउँबाट ।

प्रतिक्रिया