‘माओवादी पार्टी कस्ले फुटाउन खोज्यो ?’
काठमाडौं, २७ साउन । ‘माओवादी पार्टी कस्ले फुटाउने खोज्यो ? जर्नादन शर्माले फुटाउन खोज्यो भन्दै बालुवाटारमा बसेर हल्ला मच्चाइयो ।’ नेकपा माओवादी केन्द्र स्थायी कमिटी बैठकमा जर्नादन शर्माले लिखित प्रस्ताव पेश गर्दै आक्रोशित तरिकाले भने आइतबार ।
शर्माले नेतृत्वको कडा आलोचना गरे । माओवादीभित्र अध्यक्ष प्रचण्डको कमैले आलोचना गर्ने आँट गर्ने गरेकोमा शर्मा खुलेर प्रस्तुत भए । उनले प्रचण्डले प्रधानमन्त्री भएकै बेलामा कार्यकर्तामाझ पोखरा पुगेर माओवादी पार्टी फुटाउने षड्यन्त्र भएको अभिव्यक्ति दिएको भन्दै आफूमाथि संगिन आरोप तेर्साएको संकेत गरे ।
माओवादी सरकारमै रहँदा पार्टी फुटको हल्ला चलेको थियो । विगतमा गृह, ऊर्जा, शान्ति जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका शर्मालाई प्रचण्डले यसपटक सरकारमा पनि लगेनन् । संगठनमा बलियो पकड भएका उनलाई चिढ्याउने काम गरियो । बरु पार्टी फुटाउन खोजेको आरोप लगाइयो । त्यस्ता हल्ला बजारसम्म आइपुगेका थिए ।
शर्माले लिखित प्रस्ताव पेश गर्दै माओवादी नेताहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने, नेतृत्व हस्तारणलगायतका विषय उठाए । प्रचण्डले चाहेकै व्यक्तिलाई नेतृत्व हस्तान्तरणको प्रस्ताव पनि राखे । यद्यपि प्रचण्डले आफू जिवित रहुञ्जेल नेतृत्व हस्तान्तरण नगर्ने गरी सन्देश दिइसकेका छन् ।

