हिन्दुत्व विचारको जगमा आधुनिक नेपाल
डा. दीपेश केसीः सँसारमा चार मुख्य सभ्यताबीच सदीऔंदेखि संघर्ष चलिरहेको छ । पहिलो, इशाई सभ्यता जसको केन्द्रभूमि यूरोप रह्यो । दोस्रो, इस्लाम सभ्यता जसको केन्द्रभूमि खाडी मुलुकहरु रहेका छन् । तेस्रो, पूर्वीय सभ्यता जहाँ हिन्दू र बौद्ध धर्मालम्बी रहेको नेपाल, भारत, जापान, बर्मा जस्ता देशहरु छन् । चौंथो, कन्फ्युसियसलाई मान्ने चिनियाँ सभ्यता । यी चार सभ्यताको प्रभाव यति फैलिइरहेको छ कि विभिन्न देश र समाजमा असरहरु विभिन्न रुपमा देखिएका छन् ।
इशाईहरु सांस्कृतिक आक्रमणबाट आफ्नो संख्या र प्रभाव बढाइरहेका छन् । विगतमा साम्राज्यवाद र हिंसाबाट उनीहरुले आफ्नो प्रभाव फैलाए । हालको अमेरिकी महादेशहरुमा भौगोलिक र सांस्कृतिक अतिक्रमणका लागि करोडौंको नरसंहार समेत भएको शोधकर्ताहरुले खुलाइरहेका छन् । पछिल्लो समय उनीहरु ठूलो धनराशी खर्चिएर धर्मान्तरण र सांस्कृतिक अतिक्रमणको उद्देश्यका साथ प्रोपोगान्डालाई अस्त्र बनाइरहेका छन् आफ्नो प्रभाव विस्तार गर्न । इस्लामहरु पनि हिंसा र धर्मान्तरणलाई नै अस्त्र बनाइरहेका छन् आफ्नो प्रभाव फैलाउन । जनसंख्या वृद्धि उनीहरुको मुख्य उद्देश्य देखिन्छ । मध्यपूर्व र मध्य एशियाबाट इस्लाम अतिक्रमणकारीहरुबाट दक्षिण एशियामा आक्रमण भएको इतिहास साक्षी छ । १४औं शताब्दीमा सुल्तान समसुद्दीनले २० हजार सैनिकसहित आएर काठमाडौं उपत्यकामा लुटपाट मच्चाएका थिए । पशुपतिनाथसहित पुरातात्विक धरोहर ध्वस्त पारेर गएका थिए जुन पुनः निर्माण गर्न कैयौं वर्ष लाग्यो ।
मुगलहरुले त भारतमा लामो शासन गरी इस्लाम सभ्यतालाई फैलाउन खोजे । १२औं शताब्दीमा बखितार खिलजीले आक्रमण गरी विश्वकै महान ग्रन्थहरु संग्रहित नालन्दा विश्वविद्यालय जलाएर खरानी पारे । मुगलहरुले मन्दिरहरुको नामोनिशान मेटेर मस्जिदहरु निर्माण गरे । अयोध्यास्थित बाबरी मस्जिदमा वैज्ञानिकहरुले अनुसन्धान गर्दा त्यस्तो तथ्य भेटिएको थियो । जहाँ अहिले राम मन्दिर निर्माण भइरहेको छ । अफगानिस्तानमा हिन्दू र बौद्धहरु निमिट्यान्न पारिए । बामियानमा रहेको विश्वको सबैभन्दा ठूलो बुद्धको मुर्ति तालिवानले तोपले उडाइदिए ।
इशाई र इस्लाम अतिक्रमणकारीहरुको सबैभन्दा चपेटामा परेकोमा भारत र चीन नै हुन् । कुनैबेला विश्वकै समृद्ध ती मुलुकहरु पराधीन भए । भारतवर्षमा त सुरुमा इस्लाम मुगल अनि इशाई बेलायतीहरुको उपनिवेश नै चल्यो । सांस्कृतिक अतिक्रमण यति धेरै भयो कि मानिसहरु धर्म परिवर्तनका लागि वाध्य भए । प्रारम्भमा बाह्य भूमिबाट आएका इस्लाम अतिक्रमणकारीसँग भारतवर्षका राजाहरु पराजित हुँदै गए । त्यसपछि इशाईको केन्द्र रहेको यूरोपेलीहरु भारतमा पसेर राज गरे । अधिकांश भूभागमा अंग्रजसहित यूरोपेली देशहरुले शासन गरे । दक्षिण एशियाका सारा हिन्दू बाहुल्य राष्ट्रहरु पराधीन भए । त्यस्तो जटिल युगमा पृथ्वीनारायण शाहको उदय भयो । उनी हिन्दुत्व विचारधाराका थिए । त्यही अनुसारको शिक्षादिक्षा हासिल गरेका थिए ।
इतिहासकार बाबुराम आचार्यको पुस्तक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा उल्लेख भए अनुसार गोरखपुरसँग उनको गहिरो साइनो थियो । नाथ समुदायको मठमा दिक्षित भएका थिए । गोरखपुरका राजपूत दयाराम सिंहकी छोरीलाई गोरखा ल्याएर विवाह गराइएको आचार्यले उल्लेख गरेका छन् । बनारसमा पनि उनको बाक्लो आवतजावत् हुन्थ्यो । राम्रो शिक्षादिक्षा लिएका र निडर पृथ्वीनारायण शाह भारतवर्षका सारा हिन्दु राजाहरु पराजित भएको देखेपछि ‘‘असली हिन्दुस्थान’’ बनाउने उद्देश्यमा अघि सरे । उनलाई हिन्दू धर्मगुरु, मन्दिर र मठका योगीहरुको ठूलो साथ भयो । विशेषगरी दक्षिणतर्फको गोखरपुर र बनारसका योगीहरुले निकै साथ दिए । गुरु भगवन्तनाथ त उनको एकीकरण अभियानका रणनीतिकार नै थिए भनी इतिहासकारहरुले उल्लेख गरेका छन् । यसरी हिन्दूहरुको साथमा एकमात्र हिन्दुराष्ट्र जोगाउन सफल भए पृथ्वीनारायण ।
एकीकरणका क्रममा उनलाई दक्षिणको समथर भूभागका हिन्दु राजपूतहरुको साथ मिलेको थियो । भारतवर्षका सारा हिन्दूराजा विगतमा मुगल र त्यसपछि यूरोपेलीसँग पराजित भएपछि नेपाल पृथ्वीनारायण शाहले भनेजस्तै ‘‘असली हिन्दुस्थान’’ का रुपमा जोगिनसक्यो । अंग्रेज र मुसलमानहरुले आक्रमण गर्दा पृथ्वीनारायण शाहले विफल पारिदिए । उनीहरु चारकोसे झाडी पारी नै सिमित पारिदिए । उपत्यकालगायतका भागमा भइरहेको सांस्कृतिक आक्रमण अन्त गर्न शाहले पादरीहरुलाई लखेटे । यो कदम त्यतिबेला निकै जोखिमयुक्त थियो । तर, उनले सबै किसिमका जोखिम उठाएर हिन्दुत्वको जगलाई अझ मजबुत पारे । नेपाल राष्ट्रको आफ्नो पहिचान र संस्कृति मेट्ने ग्रान्डडिजाइनलाई असफल पारिदिए । त्यसैले उनले एकीकरणपछि हिन्दू धर्मालम्बीभित्रका अनेक जातजातिको संस्कृतिको उच्च सम्मान गरी अझ विकसित बनाउने परिस्थिति निर्माण गरे ।
वास्तवमा नेपालमा हिन्दुत्व वर्तमानमा विकास भएको होइन । यो त हिन्दुत्वको जगमा उभिएको देश पो हो । हिन्दुत्व विचारधारालाई मजबुत पार्ने महान ऋषिहरु बाल्मिकी, व्याँस जस्ता तपस्वीको भूमि हो । उनीहरुले हिन्दू सभ्यतालाई महान कृतिहरु सुम्पिएर गए । जसको तेज सिगो भारतवर्षमा कायमै छ । नेपाल हिन्दुत्वको जगमा उभिएको देश हो भन्ने किराँतकालभन्दा अघि देखि हिन्दू संस्कृति झल्काउने पुरातात्विक प्रमाणहरुले देखाउँछ । हिन्दुत्व त अनेकन चुनौतीको सामना गर्दै अझ जरा गाड्दै गइरहेको छ । लिच्छिवीकालका मन्दिर, पोखरी, प्रशासन हिन्दुत्वका उदाहरण हुन् । गुठी परम्परा लिच्छवीकालमा सबैभन्दा विकास भएको देखिन्छ जुन हिन्दुत्वको पृथक र सशक्त पहिचान हो ।
अंशुवर्माकालिन सातौ शताब्दीको समृद्ध नेपाल हिन्दुत्वको मजबुत जगको परिणाम हो । मल्लकालमा बनेका पुरातात्विक धरोहरले हिन्दुत्व विचारधाराको सशक्त अभ्यास दर्शाउँछ । सबैले खाएपछि खाने राजा महीन्द्र मल्ल जन्मिएको काल थियो त्यो । मल्लहरु छिन्नभिन्न भएपछि हिन्दू सभ्यतामाथि चुनौती थपियो । ऋषिमुनी र योगीहरुले एकीकृत नेपालको आवश्यकता ठाने । भगवन्तनाथ जस्ता योगीको योजना मुताबिक चलेका पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरी सँसारभर समाप्त हुन लागेको हिन्दूराष्ट्रलाई जोगाए ।
नेपाल हिन्दुत्वको मुटु हो र यही भूमिबाट यो विचारधाराको फैलावट हिमालबाट पहाडका चट्टानमा ठोक्किदै समथर भूभागमा पानी बगेर सिंचित भएझै हो । यसको अझ विकास सँसारका विभिन्न भागमा ऋषिमुनिहरुले गर्दै गए । तर बिडम्बना हिन्दुत्व विचारको अपनत्व ग्रहण गर्नुपर्नेमा उल्टै बाह्य विचारधारा हो भनी हाँस्यास्पद तर्क गरेर दिग्भ्रमित पार्नेहरु नभएका होइनन् । के माक्र्सवाद, माओवाद चाहिं बाह्य मुलुकमा सृजना भएका विचारधारा होइनन् ? सँसारभर प्रभावशाली बन्दै गएको हिन्दुत्व विचारधारालाई कुनै देश या संगठन विशेषको मात्र हो भनी भ्रम फैलाउन खोज्नेहरु नेपाल एकीकरणको विरोधी हुन् किनकि यो देश हिन्दुत्वको जगमा उभिएर एकीकरण भएको हो । पृथ्वीनारायण शाहको विचारधारा नै हिन्दुत्व विचारधारा थियो भन्ने उनका भनाई र गराईबाट प्रष्ट हुन्छ ।
आफ्नै माटोमा फलेको र फूलेको विचारलाई धिक्कार्दा अन्य देश र समाजले यही विचारबाट आफूलाई समुन्नत र समृद्ध बनाउँदै लगेका छन् । भारतमा नरेन्द्र मोदीले हिन्दुत्व विचारधाराबाट दश वर्षमा विश्वको दशौं धनी देशबाट पाँचौ धनी बनाइसकेका छन् । भारत सँसारको राजनीतिक भूगोलमा सशक्त पहिचान बोकेर बढिरहेको छ । इन्डोनेशियाको बाली हिन्दुत्व विचारधारालाई कायमै राखी समृद्ध छ । संस्कृतिको रक्षा गर्दै पर्यटकको ओइरो लगाएर सशक्त बनिरहेको छ ।
धर्म र संस्कृतिको रक्षाले कुनैपनि सभ्यता कालजयी भई सशक्त रहन्छ भन्ने उदाहरण इन्डोनेशियाको बाली उदाहरण बनेको छ । अहिले मोदीले मजबुत पारेको हिन्दुत्वको लहरले सँसारभरका एक अर्बभन्दा बढी हिन्दूहरुमा सांस्कृतिक जागरण र एकताको भावना र बलियो पहिचानको ऊर्जा प्रवाहित भइरहेको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले गर्वका साथ हिन्दू हुँ भन्ने अवस्था बनेको छ अहिले । यस्तो अवस्था पनि थियो कि कुनैपनि हिन्दू आफ्नो समाजबाहिर पुग्दा आफूलाई गर्वका साथ हिन्दू भन्न डराउनुपर्दथ्यो । परिस्थिति बदलिएको छ । हिन्दू सभ्यताको महत्व एक्काइसौं शताब्दीमा अझ सान्दर्भिक देखिनु कुनैपनि हिन्दूका लागि गर्वको विषय हो । मोदी त एउटा कालमा उदाएका न हुन् हिन्दुत्व विचारधारालाई सशक्त बनाउन हजारौ हजार वर्षअघि देखि ऋषिमुनी, तपस्वी देखि यसका अभ्यासकर्ताको उत्तिकै भूमिका छ ।
नेपालमा भने हिन्दुत्व विचारधारालाई खतरनाक देखाउने प्रपञ्च रचिएको छ । व्यक्तिको लाभ र हानीसँग जोडेर यो विचारको सान्दर्भिकताको असान्दर्भिक बहस छेड्न खोजिएको छ । व्यक्ति र परिवारको लाभहानी हेर्ने विचारधारा होइन हिन्दुत्व । यसले त समाज र सामूहिक विकासको चेतनाको काम गर्छ । हिन्दुत्व विचारधारा यस्तो विचारधारा हो जसको कुनै संस्थापक नै छैनन् । यो विचारधारामा हिन्दूग्रन्थको वसुधैव कुटुम्बकम् अर्थात् विश्व एउटा परिवार हो भन्ने सद्भावपूर्ण विचारमा जोड दिइन्छ । देशभक्ति, संस्कृतिको जर्गेना, सामूहिक एकता, सहकार्य र समद्धिको भावना जगाउने विचारधारा हो हिन्दुत्व । यही जगमा उभिएकाले नेपाल जस्तोसुकै कठिन परिस्थितिमा पनि सामाजिक रुपमा कहिले धराशायी बनेन र बन्दैन पनि । यहाँ कोही भोकै मर्दैनन् । कोही एक्लो पर्दैनन् । परिआउँदा एकजुट हुन्छन् नेपाली । यसकारण पराधीन हुनुपरेन नेपालीले । कुनैपनि प्रकारका अतिक्रमणलाई निस्तेज पारेर संस्कृतिको रक्षा गरिरहे नेपालीले । त्यसैले हन्दुत्वलाई खतरा देखाउन खोज्नेहरु उल्टै नेपाल राष्ट्र, धर्म र संस्कृतिका लागि खतरा हुन् । हिन्दुत्वको दरिलो जगमा उभिएकाले नेपाली समाज, राष्ट्र र सभ्यतालाई कुनैपनि बाह्य शक्तिले उखेल्न सक्दैन ।