भारतले दियो बेलिब्रिजका उपकरण
काठमाडौं, ५ मंसिर । भारतले नेपाललाई ७० मिटर लामो पुलका उपकरणहरु दिएको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हेटौंडामा आयोजित एक समारोहबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई बिहिबार ७०–मिटर लामो मोड्युलर पुलको पूर्ण सेट र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरु हस्तान्तरण गरे ।
यसै वर्षको विनाशकारी वर्षापछि क्षति पुगेको पुलहरुको साटो ती पुलहरु जडान हुने जनाइएको छ । नेपालले भारतसँग कुल दशवटा ७०–मिटर लामो र अग्ला स्प्यान पुलहरु प्रदान गर्ने जनाइएको छ ।
७३ करोडभन्दा बढी मूल्यका दशवटा बेली ब्रिजहरु भारतले अनुदानमा प्रदान गरिरहेको छ । मोड्युलर पुललाई तुरुन्तै रामेछापमा जडानका लागि पठाइने जनाइएको छ । यो वर्षको भारी वर्षा पछि सडक कनेक्टिभिटी प्रभावित भएको थियो ।
गत वर्ष आएको बाढी र पहिरोपछि भारत सरकारले ४१ करोड बराबरका १० वटा प्री–फ्याब्रिकेटेड स्टील ब्रिजहरु उपलब्ध गराएको थियो जस मध्ये ४ वटा जडान भइसकेका छन् ।
कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मोड्युलर पुल र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरुको आपूर्ति भारत–नेपाल सम्बन्धलाई परिभाषित गर्ने मित्रताको दिगो सम्बन्धको शक्तिशाली प्रमाण भएको र नेपालको पूर्वाधार विकास र विपद्पछिको पुनर्निर्माण प्रयासहरुका लागि सबै सम्भव सहयोग उपलब्ध गराउने भारत सरकारको नीतिलाई पुष्टि गरेको बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री घिसिङले भारतको निरन्तर र महत्वपूर्ण सहयोगप्रति कृतज्ञता व्यक्त गरे । उनले छिटो जडान गर्न सकिने यस्ता पुलहरु तथा पुल जडान गर्न प्रयोग हुने उपकरणहरुको उपलब्धता आपतकालीन पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउन अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे ।


