२३ आश्विन २०८२, बिहिबार | October 9, 2025

इस्का विश्व च्याम्पियनसिप बक्सिङमा भिड्ने उमंग र अजितलाई महालक्ष्मी कन्स्ट्रक्सनबाट शुभकामनासहित सहयोग


September 27, 2025
10.4k
Shares

ललितपुर, ११ असोज । अष्ट्रेलियामा आगामी असोजको अन्तिम साता हुने इस्का विश्व च्याम्पियनशिप बक्सिङमा नेपालबाट उमंग खत्री र अजित मगर सहभागी हुने भएका छन् । उनीहरुलाई महालक्ष्मी कन्स्ट्रक्सनले शनिबार शुभकामनासहित बिदाई गरेको छ ।

बिदाई तथा आर्थिक पुरस्कार वितरण कार्यक्रममा पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा नेपालका टिम म्यानेजर म्याक्स बस्नेत पनि सहभागी थिए । उनले खेलाडीलाई दिएको हौसलाप्रति कृतज्ञ रहेको भन्दै नेपालमा होनहार खेलाडी जन्माउने सपना पूरा गरेरै छाड्ने बताए ।

खेलाडी उमंग खत्रीले आफूलाई मिलेको हौसलाले विश्व च्याम्पियनशिपमा जित्ने तागत बढेको बताए । उनले हौसला र पुरस्कारका लागि धन्यवाद दिए ।

अर्का खेलाडी अजित मगरले आफूहरुले खेलमा ठूलो त्याग र तपस्या गरिरहेको बताए । उनले एकदिन अवश्य लक्ष्यमा पुगेर देशको गौरव बढाउने दृढता व्यक्त गरे ।

महालक्ष्मी वडा नम्बर ८ का वडा सदस्य बिनोद केसीले खेलाडीहरुलाई जितको शुभकामना दिए । उनले बक्सिङको विकासका लागि विशेष योजनासहित अगाडि बढ्न लागेको बताए ।

महालक्ष्मी कन्स्ट्रक्सना मुकेश खड्काले खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । समाजसेवी रविन खत्री र प्रविन खत्रीका अलावा पत्रकार डा. दीपेश केसीले खेलाडीहरुलाई जितेको शुभकामना दिए । उनीहरुले विश्व च्याम्पियन बनेर कुनै दिन नेपाली खेलाडीहरुले देशको गौरव बढाउनेमा आशावादी भएको बताए ।

कार्यक्रमको संचालन खेलप्रेमी तथा समाजसेवी कुबेर खत्रीले गरेका थिए । उनले खेलाडीहरुलाई सबैले सहयोग र प्रेरणा दिनुपर्नेमा जोड दिए ।

ललितपुरको महालक्ष्मी ८ विष्णुडोलका उमंग खत्री बक्सिङका उदीयमान खेलाडी हुन् । २१ वर्षमै उनले अन्तर्राष्ट्रिय खेलहरु खेलिसकेका छन् ।

अर्का खेलाडी अजित मगर उदयपुर गाईघाटका हुन् । उनले निकै संघर्ष गरेर बक्सिङमा आफूलाई होनहार खेलाडीका रुपमा स्थापित गरेका छन् ।

प्रतिक्रिया