२३ भाद्र २०८२, सोमबार | September 9, 2025

जेन जे आन्दोलनमा राज्य आतंकको प्राज्ञिक विद्यार्थी परिषदको भत्र्सना, प्रधानमन्त्रीको राजीनामा माग


September 8, 2025
830
Shares

काठमाडौं, २३ भाद्र । नेपाल सरकारले सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, युट्युबलगायत) बन्द गर्ने निर्णयपछि उठेको GEN Z पुस्ताको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमनप्रति प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले कडा आपत्ति जनाएको छ।

परिषद्का अनुसार भदौ १८ गते माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा भएको शान्तिपूर्ण प्रदर्शनलाई सरकारले ‘निर्ममतापूर्ण, विभत्स र अमानवीय’ ढंगले दमन गरेको बताइएको छ। प्रहरीको गोली लागेर दर्जनौं युवाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको घटना ‘राज्यको अदूरदर्शिता, अपरिपक्वता र असंवेदनशीलताको परिणाम’ भएको परिषद्को भनाइ छ।

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले मृतक युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, आन्दोलनका क्रममा भएको हिंसात्मक दमनप्रति सरकारले पूर्ण जिम्मेवारी लिनुपर्ने माग गरेको छ।

परिषद्को विज्ञप्तिमा भनिएको छ, यस्तो गम्भीर परिस्थिति सिर्जना गर्ने वर्तमान सरकारले नेतृत्व गर्ने नैतिक अधिकारगुमाइसकेको छ। त्यसैले प्रधानमन्त्री  गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ।

युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई केही शक्ति केन्द्रहरूले अराजक बनाउने षड्यन्त्र गरेको ठहर परिषद्को छ। त्यसैले युवाहरूप्रति संयमता र शान्तिपूर्ण ढंगले लोकतान्त्रिक आन्दोलनलाई निरन्तरता दिन आग्रह गरिएको छ।

परिषद्ले GEN Z पुस्ताले उठाएका मुद्दाहरूलाई पूर्ण समर्थन जनाउँदै, युवाहरूलाई सडकमा आउनु र रगत बगाउनु पर्ने परिस्थिति अन्त्य गर्न सरकारले तुरुन्तै माग सम्बोधन गर्नुपर्ने जोड दिएको छ।

प्रतिक्रिया