२२ श्रावण २०८२, बुधबार | August 6, 2025

मोदी चीन जाने


0
Shares

एजेन्सी, २१ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाने भएका छन् । उनी ३१ अगष्टमा चीन जाने समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

मोदी सांघाई कोअपरेशन अर्गनाइजेशनको समिटमा सहभागी हुनेछन् । बैठकमा क्षेत्रीय सुरक्षा, आर्थिक सम्बन्ध र भूराजनीतिक मामलामा छलफल हुने उल्लेख छ ।

सन् २०२० मा गलवानमा भारत र चीनका सेनाबीच झडप भएपछि दुई देशका नेताले एक अर्को देशमा भ्रमण गरेका छैनन् । २०२४ को ब्रिक्स समिटमा मोदी र सी चिनफिङबीच भेट भएको थियो ।

भारतको अमेरिकासँग टकराव बढ्दै जाँदा मोदीको चीन भ्रमणलाई चासोका साथ हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय उत्पादनमा २५ प्रतिशत थप कर लगाइसकेका छन् । रुससँग कच्चा तेल र कोइला खरिद गरेको भन्दै अमेरिकाले कर थपेको घटनालाई भारतले गम्भीरताका साथ लिएको छ ।

यसैगरी, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल मस्को पुगेका छन् । उनी मस्कोमा रणनीतिक साझेदारी, प्रतिरक्षा र सुरक्षा सहयोगका विषयमा कुराकानी गर्न पुगेका हुन् ।-File Photo

प्रतिक्रिया