महालक्ष्मीबाट सरुवाको रमाना नलिई प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल कता ?

ललितपुर, १२ साउन । महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप पौडेलको नाम अझै वेवसाइटमा छ । उनी सरुवा भएको १५ दिन भइसकेको छ । तर, अझै रमाना लिन मानिरहेका छैनन् ।
प्रमुख प्रशासकीय अधिकृत पौडेल कार्यालय पनि आएका छैनन् । उनी साउनको मौसममा रमाना लिन कार्यालय नआउने र बिदामा बस्नुलाई रहस्यमय मानिएको छ ।
महालक्ष्मीमा कतिपय महत्वपूर्ण फाइलहरु चासोमा छन् । यही फाइलसँग जोडिएका विषयका कारण पौडेल रमाना लिन नआई सम्पर्कमा नआएको स्रोतले बताएको छ ।
पौडेलले फाइल अड्काउने गरेर जनप्रतिनिधिहरुलाई नै घुमाउने गरेको विषय अहिले चर्चामा छ । महालक्ष्मीका जनप्रतिनिधिहरुलाई प्रमुख प्रशासकीय अधिकृतले नटेर्ने गरेको विषय बेला बेलामा सुनिन्थ्यो । यसपटक भने जनप्रतिनिधिलाई नै हिस्स पारेर पौडेल बिदामा बसेका छन् । न त रमाना लिन आउँछन् न त कार्यालयमा ।
विगतमा ठेकेदारहरुसँग स्वार्थ जोडेर उनी विदेश घुम्न गएको विषय पनि सेलाएको छैन । पिक आवरको उनी विदेश घुम्न गएका थिए ।