महालक्ष्मीमा प्रधानाध्यापक छनोटमा नियम कानूनको धज्जी उडाइएपछि…

ललितपुर, ९ साउन । महालक्ष्मी नगरपालिकामा मनपरीतन्त्रको हद नाघेको छ । कानूनको धज्जी उडाइएका एकपछि अर्को फेहरिस्ताहरु खुल्न थालेको छ । त्यस्तै भएको छ शिक्षा क्षेत्रमा ।
महालक्ष्मीमा प्रधानाध्यापक छनोटमा नियम कानुनको धज्जी उडाइएको भेटिएको छ । यसबारे नेपाल शिक्षक संघ महालक्ष्मी कार्यसमितिका अध्यक्ष माधव चन्द र सचिव शोवाखर भुसालले ध्यानाकर्षणपत्र नै मेयर हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनलाई बुझाएका छन् । ज्ञापनपत्रमा छनोट प्रक्रियामा छनोट समितिका सदस्यहरु बाहेक पनि शिक्षा निर्देशक स्वयं आफ्नो पदीय मूल्य र मान्यता विपरित उपस्थित भई मूल्यांकन प्रक्रियामा प्रभावित पारेको भेटिएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
राजनीतिक दलका अघोषित र घोषित कार्यकर्ताको महालक्ष्मीको सार्वजनिक विद्यालयहरुमा हालीमुहाली छ । उनीहरुले गिरोह नै बनाएर शिक्षा क्षेत्रलाई आफ्ना मान्छे भर्ती गर्ने अखडा बनाएका छन् । जसका कारण शैक्षिक वातावरण धमिलिएको छ ।