अरबौं डुबाएका यी पाँच सहकारीलाई बचतकर्ताको रकम तिर्न ताकेता

काठमाडौं, ९ साउन । सहकारीमा बचतकर्ताको अरबौं गुमिसकेको छ । तैपनि, बचतकर्ता झीनो आशा लिएर बाँचेका छन् । कतिपय सहकारीलाई रकम तिर्न ताकेता गरिएको छ ।
बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न भनेको हो ।
ती सहकारी संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा एक दिन अघिसम्मको ऋण तिर्न ऋणीहरुलाई भनिएको सूचनामा उल्लेख छ । सिभिल २०८० भदौ २१ गते, दर्शन २०८१ कात्तिक ११ गते तथा नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्था २०८१ पुस २८ गते समस्याग्रस्त घोषणा भएका थिए ।
ती सहकारी संस्थाका ऋणीहरुले भदौ ३१ गतेभित्र पनि ऋण नबुझाएमा साँवा, ब्याज र हर्जानासमेत गणना गरी ऋण असुल गर्ने र ऋण असुली सम्बन्धी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।