७ श्रावण २०८२, मंगलबार | July 22, 2025

भारत-चीन निकटताको प्रभाव


664
Shares

डा. दीपेश केसीः गलवान भ्यालीमा भारत र चीनका सैनिकबीच सन् २०२० मा झडप भएपछिको पाँचवर्ष पछि दुई देशबीच सम्बन्ध अचानक सुदृढ हुनथालेको छ । अहिले भारतीय उच्च अधिकारीहरुको चीन भ्रमण बाक्लो हुन पुग्यो । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल बेइजिङ पुगेर उच्चस्तरीय भेटवार्ता गरे । सांघाई कोअपरेशन अर्गनाइजेशनका देशहरुका रक्षामन्त्रीस्तरीय बैठकमा भारतका रक्षामन्त्री राजनाथ सहभागी भए । विदेशमन्त्रीयस्तरीय बैठकमा डा. एस. जयशंकर सहभागी भए । यी भ्रमण र बैठकहरुबाट भारत र चीनबीच सम्बन्ध सुदृढ बन्दै गएको सन्देश प्रवाह भएको छ ।

यी घटना तब विकास भएको छ जब पाकिस्तानका शक्तिशाली सेनापति असिम मुन्सिरलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा लन्चसहितको भेटवार्ता गरे । कुनैपनि अमेरिकी राष्ट्रपतिले पाकिस्तानी सेनापतिलाई यसरी भेटेको पहिलो घटना बन्यो । क्यानडामा जी सेभेन सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साइडलाइन वार्ता हुने भनिएकोमा भएन । ट्रम्पले जी सेभेन बैठक छोट्याएर अमेरिका पुगेर मुनिरलाई निम्त्याएको घटनालाई मोदीले सामान्य रुपमा लिएनन् । भारतका विदेश सचिव विक्रम मिश्रीले मोदीको ट्रम्पसँगको टेलिफोन वार्ताबारे कडा अभिव्यक्ति दिए । मोदीले अमेरिका भ्रमणको निम्तो अस्वीकार गरेको देखि भारत र पाकिस्तानबीच युद्धविराम ट्रम्पको मध्यस्थतामा नभएको बताए । जबकि पाकिस्तानी सेनापति मुनिरले ट्रम्पको मध्यस्थता रहेको भन्दै प्रशंशा गरे । पाकिस्तान सरकारले त ट्रम्पले भारत पाकिस्तानबीचको युद्ध रोकेर नोबेल शान्ति पुरस्कार पाउनुपर्ने प्रस्ताव नै ग¥यो । यो घटनाले भारत अमेरिकाप्रति सशंकित बन्न पुग्यो ।

भारतसँगको केही दिनको युद्धमा पाकिस्तानले चीनमा बनेको हतियार प्रयोग गरेको खुलासाहरु भए । चीनले पाकिस्तानमा अरबौं डलरका परियोजनाहरुमा लगानी गर्दै आयो । पाकिस्तानमा चिनियाँ प्रभावको विषयहरु जोडतोडले उठे । तर, पाकिस्तानी सेनापति मुनिरले मौका छोपेर अमेरिकासँग हात मिलाएपछि चीन पनि झस्किएको देखियो । चिनियाँ कार्ड प्रयोग गर्दै पाकिस्तानले भारतलाई चुनौती दिने गरेको तर उसको खास सम्बन्ध अमेरिकालगायत पश्चिमाहरुसँग नै रहेको तथ्यहरु छर्लंग भए ।

बँगलादेशमा अन्तरिम सरकारका प्रमुख बनेका मोहम्मद युनुसले पनि चीन भ्रमण गर्दा भारतको चीकेन नेकमाथिका राज्यहरुलाई भूपरिवेष्ठित भनिदिए । बँगलादेशमा शेख हसिनाको सत्ता पल्टाइएको विद्यार्थी आन्दोलनबाट सत्तामा पुगेका युनुस सिधै यूरोपबाट ढाका पुगेर सत्ता सम्हाल्न पुगेका थिए । नोबेल पुरस्कार विजेता युनुसले भारतलाई चुनौती दिने खालका अभिव्यक्ति दिदै आएका छन् । बँगलादेशमा हिन्दूहरुमाथिको आक्रमण उनको सत्ता रहँदा अत्याधिक भइरहेको छ । अर्कोतर्फ, बँगलादेशको सत्ता पल्टाइएको आन्दोलन चलाउन ठूलो रकम पश्चिमाहरुको परियोजनामा चलेका गैर सरकारी संस्थामार्फत् पुगेको खुलासा भइसकेको छ । युएसएडको ठूलो रकम बँगलादेशको लोकतन्त्र सुदृढीकरणका नाममा दुरुपयोग भएको खुलासा स्वयं ट्रम्पबाट भइसकेको छ । विद्यार्थी आन्दोलन चलाउने संस्थासम्म पुगेर त्यस्ता रकम दुरुपयोग भए ।

एकातर्फ, चीनले दक्षिण एशियामा विभिन्न परियोजनाका नाममा लगानी बढाइरह्यो । अर्कोतर्फ, अमेरिकालगायत पश्चिमाहरुको परियोजना पनि देखापरे । दुई शक्तिराष्ट्रको सक्रियतासँगै भारतमाथि चुनौती थपियो । पाकिस्तानले अमेरिका, बेलायत जस्ता पश्चिमा देशहरुबाट ठूलो सैन्य सहयोग पाएको खुल्यो । पहलगाम हमलापछि भारतले पाकिस्तानमाथि आतंकवादलाई आश्रय र प्रश्रय दिएको भनेपछि पाकिस्तानी रक्षामन्त्री खवाजा असिफले विगतमा आतंकवादी संगठनलाई अमेरिका र बेलायतलगायत पश्चिमा देशहरुले साथ दिएको सार्वजनिक रुपमै बोले । अल कायदालगायत संगठनलाई संरक्षण गर्ने विगतको नीति गम्भीर भूल भन्दै पश्चिमातर्फ देखाए । वर्तमान फरक भएको भने उनले । तर, पाकिस्तानको शक्तिशाली सेनाका उच्च अधिकारीहरु आतंकवादी घोषित संगठनका नेताहरुसँग देखापरेको तस्बिर र भिडियो सार्वजनिक भए । भारतसँग केही दिनको युद्धपछि पाकिस्तानी सेनापतिलाई अमेरिकामा रातो कार्पेट ओछ्याइनुले भारतमात्र नभई चीन पनि सशंकित भएको देखियो । जसका कारण भारत र चीन सम्बन्ध सुदृढ बनाउने वाध्यात्मक अवस्थामा आइपुगे ।

चीन पुगेर त्यहाँका राष्ट्रपति सी चिनफिङसँग भेटेका भारतका विदेशमन्त्री एस जयशंकरले भारत र चीन सम्बन्धको बीचमा अर्को कुनै शक्तिलाई स्थान नभएको प्रष्ट बोलिदिए । पाकिस्तानतर्फ संकेत गर्दै आतंकवादको मुद्दालाई बेइजिङमा पनि उठाए । भारतले आतंकवाद, पृथकतावाद र अतिवादको विषयलाई चीनसँगको वार्तामा प्रमुख बनाउने गरेको छ । दुवै देश उल्लेखित समस्यासँग जुध्दै आएका छन् । भारत आतंकवाद र अतिवाद दुवैको चुनौती भोगिरहेको छ । चीनको पनि कतिपय प्रान्तमा अतिवादीहरु सक्रिय छन् । दुवै देशका कतिपय चुनौती साझा छन् । तर, एशियाका शक्तिशाली दुई देशको टकरावले क्षेत्रीय अस्थिरता पनि बढ्ने गरेको छ । भारत र चीनबीचको टकरावको सबैभन्दा बढी लाभ पाकिस्तानले लियो विगत वर्षहरुमा । तर, जब भारत र चीनबीच सम्बन्ध सामान्य बन्यो पाकिस्तान आफ्नो परम्परागत मित्रशक्ति अमेरिकालगायत पश्चिमाहरुसँग खुलेर नजिकियो । यो घटनापछि भारत र पाकिस्तानले उच्चस्तरीय भेटहरु बढाएनन् मात्र सम्बन्ध सुधारका क्षेत्रमा उपलब्धि नै हासिल गरेका छन् । विश्व राजनीतिमा प्रभाव पार्ने गरी भारत र चीनबीच विकास भएका सम्बन्धले दुरगामी असर पार्न सक्छ ।

भारत बेलायतको उपनिवेश बन्न पुगेको थियो । चीन पनि जापानको उपनिवेश बन्यो केही दशक । उपनिवेशबाट छुटकारा पाएको एक शताब्दीमै भारत र चीनले अभूतपूर्व सफलता हासिल गरे । चीन विश्वको दोस्रो धनी देश भइसकेको छ । भारत चौंथो धनी देश बनिसक्यो र चाँडै तेस्रो बन्ने प्रक्षेपण छ । सैन्य शक्ति पनि बढाइरहेका छन् दुवै देशले । भारत विश्वकै बढी जनसंख्या भएको देश हो भने चीन दोस्रो ठूलो जनसंख्या भएको देश हो । दुवै देशको जोड्दा विश्वको कुल जनसंख्याको ३६ प्रतिशत जति हुनआउँछ । जनसंख्या आधुनिक विश्वको बलियो अस्त्र हो । जुन भारत र चीनसँग छ । यी दुई देशका डायस्पोरा विश्वभर फैलिएका छन् । यसले पनि उनीहरुलाई शक्तिशाली बनाएको छ । जनसंख्यालाई सही तरिकाले व्यवस्थापन गर्दै तिव्र आर्थिक वृद्धि हासिल गर्न सकेका छन् । चीन र भारतको तिव्र विकास र प्रगतिका कारण उनीहरुले चुनौती पनि भोगिरहेका छन् प्रतिष्पर्धी देशहरुबाट । दुवै देश एक अर्काका प्रतिष्पर्धी पनि हुन् । बाह्य र आन्तरिक चुनौतीको सामना गर्ने क्रममा पछिल्ला घटनाहरु देखिएका छन् । एशियाका दुई शक्तिशाली देशहरुको जुधाईको लाभ अन्य शक्तिले लिन खोजेको देखिन्छ । भारत र चीनका छिमेकी देशहरुबाट उनीहरुलाई सुरक्षालगायत अन्य चुनौती दिने रणनीतिहरु फरक फरक तरिकाले देखापर्ने गर्छ । यसमा उनीहरुका प्रतिष्पर्धी बलिया देशहरु सक्रिय हुने गरेका छन् । त्यस्ता सक्रियता सायदै खुल्छन् । जति खुलेका छन् त्यसले पनि गम्भीर खालका चुनौती रहेको देखिन्छ ।

भारत र चीन दुवैले सुरक्षालगायत चुनौती भोग्नुले छिमेकमा पनि प्रभाव पर्छ नै । नेपाल त झन् भारत र चीनको बीचमा पर्छ । विश्व मानचीत्रमा यस्तो संवेदनशील क्षेत्रमा हुनुले नेपालका लागि पनि चुनौती छ । भारत र चीन टकराव हुँदा पनि नेपाललाई चुनौती बढ्छ । यी दुई देशको अर्को विश्वशक्तिसँग टकराव बढ्दा झन् नेपालमाथि सुरक्षालगायत चुनौती बढ्छ । नेपालको भूगोलबाट भारत र चीनलाई खतरा बढाउने खालका गतिविधि गर्नेहरु सक्रिय हुनसक्छन् । त्यो नेपालका लागि सबैभन्दा चुनौतीको विषय हुनसक्छ । भविष्यमा यस्ता चुनौती झन् बढ्न सक्छ । भारत र चीनको सम्बन्ध सुदृढ हुनु क्षेत्रीय शक्तिसन्तुलनका हिसाबले मात्र सकारात्मक होइन स्थिरताका लागि पनि सकारात्मक हो । इतिहास साक्षी छ जब जब भारत र चीन समृद्ध भए नेपाल पनि समृद्ध भयो । जब जब भारत र चीनका विशाल क्षेत्रमा शान्ति र स्थिरता छायो तब तब नेपालमा पनि शान्ति र स्थिरता रह्यो । भारत र चीन जस्ता विश्वकै पुरानो सभ्यताबीच रहनु नेपालका लागि चुनौती पनि हो र अवसर पनि हो । यी दुई देशको सुरक्षा चुनौतीलाई बुझेर दुवैको द्रुत विकासबाट लाभ लिने पहलकदमी र नीतिनिर्माणको तर्जुमा नै नेपालको हितमा छ ।-दृष्टि साप्ताहिकमा प्रकाशित भई साभार

प्रतिक्रिया