न्यायाधीश बनेलगत्तै मेघराजको धम्की कस्लाई ?

काठमाडौं, ४ साउन । न्यायाधीशको दौडमा नरहेको भन्दै सार्वजनिक रुपमै बोलेर पछि फ्याट्ट सर्वोच्च अदालतको न्यायाधीश बनेका मेघराज पोखरेलले शनिबार विवादास्पद स्टाटस लेखेका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो नाम लिएर माछा मार्ने प्रयत्न भएको भन्दै यस्तो दुष्प्रयास नगर्न धम्कीयुक्त स्टाटस लेखेका हुन् ।
पोखरेल सर्वोच्च अदालत बार एशोशिएसनको अध्यक्ष बनेको एक वर्ष नबित्दै न्यायाधीश नियुक्त भएका हुन् । उनको नियुक्तिबारे प्रश्नहरु उठे । सत्य र न्यायको खोजी अभियानका अध्यक्ष ध्रुवलाल श्रेष्ठले बारलाई अलपत्र पारेर नियुक्ति भएकोमा आलोचनाहरुबारे उल्लेख गरेका थिए । श्रेष्ठले यो विषयलाई नैतिकतासँग जोडेर प्रश्न गर्दै आएका छन् । यही सन्दर्भमा न्यायाधीश मेघराजबारे पछिल्लो टिप्पणी सार्वजनिक भएको हो ।
श्रेष्ठले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई महाभियोग लगाउन सांसदहरु तयार हुनुपर्ने विषय पनि उठाइसकेका छन् । यसबीच त्रसित पार्ने अभिप्रायले जिम्मेवार व्यक्तिहरुबाट धम्कीयुक्त कदम र स्टाटस नै आउन थालेको छ ।
न्यायाधीश पोखरेलले स्टाटसमा लेखेका छन्ः मेरो यो नयाँ जिम्मेवारीको छोटो समयभित्रै एउटा अनुभव गर्दैछु, धमिलो पानीमा माछा मार्न खोज्नेहरु निक्कै हुँदा रहेछन् समाजमा । मेरै नाम लिएर माछा मार्ने प्रयत्न गर्नेहरु पनि सुन्दै छु । मेरो नम्र निवेदन छ, यस्तो दुष्प्रयास कहिल्यै नगर्नुहोला । त्यसले राम्रो परिणाम दिने छैन ।
पोखरेल २७ जेलमा न्याय परिषदको बैठकबाट नियुक्तिका लागि सिफारिश भएका थिए । २४ असारमा सपथ लिए । उनलाई प्रधानन्यायाधीश राउतले न्यायाधीश बनाउन निकै जोडबल गरेका थिए ।
न्यायाधीश पोखरेलको नियुक्तिबारे प्रश्न उठ्नु र इजलाशमा बस्न थालेको केही दिनमै धम्कीयुक्त स्टाटस लेख्नुले तरंग ल्याएको छ । उनले कस्लाई ताकेर यस्तो स्टाटस लेखे भन्ने चासो पनि चलेको छ । न्यायाधीशको पदमा बसेर यस्ता स्टाटस लेख्नुलाई सामान्य मानिदैन । कतिपयले पोखरेलमा अझै बारको धङधङी हावी भएको टिप्पणी गरेका छन् । सार्वजनिक पदमा बसेर आलोचना सहन नसक्ने र उल्टै धम्कीयुक्त स्टाटस लेख्नुले न्याय क्षेत्रलाई थप विवादमा पार्ने विश्लेषणहरु हुन थालेका छन् ।
न्यायाधीश मेघराज पोखरेलले लेखेको स्टाटस
आफैं ठूलो आफैं सही, आफैं जान्ने भन्ने जस्ता आत्मकेन्द्रित मान्छेले आफूलाई सही देखाउन संधै कसै न कसैलाई हेच्याउने र खुट्टा तांन्ने तानावाना बुन्दै आफ्नो उर्जा सिध्याउछन्। तर उनिहरूलाई यो वोध हुँदैन कि आफैंप्रतिको यति धेरै केन्द्रिकरणले मान्छेलाई एक्ल्याउन थाल्छ। एक्लोपनले अरू र आफूमा फरक पांउछ, फासला बढाउंछ। अरूले पाएको दुःख आफ्नो दुःख होइन भनि पन्छाउने मात्र होइन भित्रभित्र खुशी हुनथाल्छ। अझ गहिरा आत्मकेन्द्रितहरू त अरूलाई हरतरहले दुःख दिएर पर्दापछाडी रमाई रहन्छन्। यसले उनिहरूमा असहनशीलता बढाउछ।
मलाई लाग्छ, यस्ता आत्मरति, आत्मश्लाघा, अहं र अरूका नजरमा चढ्ने मोहभन्दा तिनलाई समन गर्ने र हामी सबै एकै सिर्जना हौं, एकअर्कामा बांधिएका छौं, आफ्नो एउटा कृत्यले अरूलाई पनि प्रभाव पार्छ भन्ने सोचिदिए मात्र पनि समाजमा ठूलो प्रभाव पार्छ। संसारमा एक्लो कोही छैन। सबै एकअर्कामा गांसिएका छौं भन्ने बहिर्गम सोच निर्माण गर्नसके हामी सबै खुसियालीमा रमाउन सक्छौं।
मलाई यो पनि थाहा छ, शक्ति, पद, प्रतिष्ठा कालजयी हुंदैन। क्षणिक हुन्छ। शक्ति सधैं आफ्नै अनुकूल भैराख्छ भन्ने पनि हुंदैन। तर मेरो यो नयाँ जिम्मेवारीको छोटो समयभित्रै एउटा अनुभव गर्दैछु, धमिलो पानीमा माछा मार्न खोज्नेहरू निक्कै हुँदा रहेछन् समाजमा। मेरै नाम लिएर माछा मार्न प्रयत्न गर्नेहरू पनि सुन्दैछु। मेरो नम्र निवेदन छ, यस्तो दुस्प्रयास कहिल्यै नगर्नु होला। त्यसले राम्रो परिणाम दिनेछैन। यसबाट प्रभाबितहरूलाई यस्तो भूलभूलैयामा नपर्न पनि सादर अनुरोध गर्दंछु। वचनको संमय र व्यावहारमा सुद्धता अत्यन्त महत्वपूर्ण छ। जिब्रो त कुरा भनेर मुखभित्र पसिहाल्छ। त्यसको परिणाम भने बोल्नेले त ब्यहोर्नुपर्छ पर्छ, असर पर्नेले पनि अनाहकमा व्यहोर्नुर्छ।
म प्रष्ट छु, मेरो कसैसंग प्रतिस्पर्धा छैन। प्रतिस्पर्धा आफैंभित्र छ, केवल आफैंसंग। अरूको होईन आफ्नै कुरा गुनगुनाउछु। राग द्वेषबाट मुक्त हुने प्रयास गर्छु। जगत् र जीवनलाई जे जसरी बुझेको छु, निरधक्कसंग राख्छु। निन्दा र स्तुतिको कुरा गरिपनि रहन्न र सुनिपनि रहन्न। यो मेरो भिन्न धार हो। मलाई यसैमा रहनुछ बाँकी जीवन पनि।