३० असार २०८२, सोमबार | July 14, 2025

प्राध्यापक बन्दना मिश्र मधुको ‘कविताको अन्नप्राशन’ लोकापर्ण


415
Shares

काठमाडौँ, ३० असार । प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को आइतबार विमोचन गरिएको छ । काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, पत्रकार नम्रता शर्मा, लेखक तथा पत्रकार रोहित भण्डारी र प्रकाशक रोश्ना सुवेदी मिश्रको हातबाट संयुक्त रुपमा लोकापर्ण गरिएको हो । सो अवसरमा उपसभामुख राना मगरले ‘कविताको अन्नप्राशन’ले महिलालाई प्रेरणा दिने बताइन् ।

मधेसमा महिला हिंसाका घटना सुनिने गरेकामा आफ्नै सासूलाई कविता सङ्ग्रह प्रकाशन गर्न बुहारीले सघाएको सन्देशले अन्य महिलालाई हौसला दिने र साहित्यिक गतिविधि बढाउन मद्दत पुग्ने उनको भनाइ थियो । उपसभामुख राना मगरले भनिन्, “एउटा बुहारीले सासूलाई पुस्तक लेख्न सघाएको र आफू प्रकाशक बसेको खबरले मलाइ हर्षित बनाएको छ । यसरी महिलाहरूले एकापसमा गर्ने सहकार्यले राम्रो नतिजा दिनाका साथै सामीप्यता र सद्भावलाई बढाउने काम गर्छ । साथै लेखिका मिश्रले विवाह भएर नेपाल आएपछि नेपाली भाषा सिकेर गर्नुभएको यो प्रयासको म प्रशंसा गर्छु ।” आफूले पनि कविता र गीत कोर्ने गरे पनि त्यसलाई पुस्तकको स्वरूप दिन नसकेकाले आफ्ना लागि पनि कवि मिश्रको कविता सङ्ग्रह प्रेरणा भएको उपसभामुख राना मगरले बताइन् ।

“लेखिका मिश्रले नेपाल आएर नेपाली भाषा सिकेर त्यसलाई पुस्तकका रूपमा हामीसम्म ल्याउन सक्नुहुन्छ भने हामी पनि सक्छौँ, म पनि सक्छु । हामीले आफ्नो ऊर्जा यस्ता सकारात्मक कार्यमा खर्चिनु पर्छ”, उनले भनिन् ।

उक्त कविता सङ्ग्रहकी लेखिका मिश्रले आफू भारतबाट नेपाल विवाह भएर आएपछि सिकेको भाषा र आफ्नो साहित्यको दक्षतालाई पुस्तकको स्वरूप दिएको बताइन् । “म सन् १९८६ मा नेपाल आएकी हुँ । यहाँ आएपछि भाषा सिकेँ, आज सोही कारण मैले कविता सङ्ग्रह ल्याउन सकेकी हुँ । यो मेरो सुरुआत हो, आउँदा दिनमा पनि म साहित्यलाई निरन्तरता दिन्छु”, उनले भनिन् । उनले परिवारको साथकै कारण आफूले कोरेका शब्दलाई पुस्तक प्रकाशन गर्न सम्भव भएको बताइन् ।

पुस्तकमाथि पत्रकार नम्रता शर्मा र रोहित भण्डारीले टिप्पणी राखेका थिए ।

प्रतिक्रिया