मोदीले चिनेको डायस्पोराको शक्ति

डा. दीपेश केसीः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सम्मेलनमा भाग लिने क्रममा पाँच देशको भ्रमणलाई कार्यतालिकामा पारे । अफ्रिकाको घानाबाट सुरु गरेको भ्रमण दक्षिण अमेरिका हुँदै अफ्रिकाकै नामिबियामा पुगेर टुंग्याउँदै मोदी भारत फर्कने तय भयो । उनी जहाँ पुगे त्यहाँ भारतीय मूलका मानिसहरुसँग भेटे । भारतीय डायस्पोराले मोदीको भव्य स्वागत गरे । मोदीले पनि उनीहरुको भारतसँगको कनेक्टिभिटी बढाउने सन्देश दिए । डायस्पोराप्रति मोदीको सद्भावले उनको भारतबाहिर लोकप्रीयता मात्र बढेन प्रभाव पनि बढ्न पुग्यो । विश्व राजनीतिमा मोदी मजबुत देखिनुमा डायस्पोरा शक्तिले दिएको ऊर्जा पनि हो ।
सँसारमा कुनै देश नहोला जहाँ भारतीय मूलका मानिसहरु नहुन् । भारत सँसारकै सबैभन्दा बढी डायस्पोरा भएको देशका रुपमा चिनिन्छ । ३ करोडभन्दा बढी भारतीय मूलका मानिसहरु भारतबाहिर बसोबास गर्छन् । सन् २०२४ मा भारतको विदेश मन्त्रालयले लगभग ३ करोड ५४ लाख भारतीय डायस्पोराको संख्या निकालेको छ । जसमा १ करोड ५८ लाख गैर आवाशीय भारतीय र १ करोड ९५ लाख भारतीय मूलका मानिसहरु छन् । सबैभन्दा बढी अमेरिकामा ५४ लाख, दोस्रोमा युएईमा ३६ लाख भारतीय डायस्पोरा छन् । उनीहरुले भारतका लागि आर्थिक योगदान गरेकै छन् । भारतको संस्कृतिलाई विश्वभर परिचित गराउन पनि योगदान गरेका छन् । डायस्पोराका कारण सँसारभर भारतीय खानामा आकर्षण बढ्दै गएको छ । योग सँसारभर लोकप्रीय बनेको छ ।
मोदीले घाना, ट्रिनिडाड एण्ड टोबागो, अर्जेन्टिना र ब्राजिलको भ्रमण गरिसके । त्यहाँ भारतीय डायस्पोरासँग भेटे । उनीहरुले बचाएको भारतीय संस्कृतिको प्रदर्शन अवलोकन गरे । ट्रिनिडाड एन्ड टोबागोमा भारतीय डायस्पोराको परम्परागत खाना खाए । जसमा पूजामा समेत चढाइने सोहारीको पातमा खाना खाने परम्परा पनि थियो । विहारमा दरिलो आधार बनाएको भोजपुरी संस्कृति हो सोहारीको पातमा खाना खाने परम्परा । मोदीले भारतीय मूलकी हिन्दू धर्मालम्बी ट्रिनिडाड एन्ड टोबागोकी प्रधानमन्त्री कमला पेरसाद बिसेसरसँग सोहारीको पातमै खाना खाए । भारतीय मूलका त्यहाँका बासिन्दाबाट भोजपुरी संस्कृति झल्कने प्रदर्शनहरु अवलोकन गरे । कमलाका लागि अयोध्या भएर बग्ने सरयू नदी र महाकुम्भ मेला ताकाको पवित्र जल उपहारका रुपमा दिए । अयोध्याको राम मन्दिरको प्रतिरुप पनि प्रदान गरे ।
डायस्पोरालाई सांस्कृतिक सम्बन्धबाट जोड्ने कदमहरु चालेको सन्देश दिए । ट्रिनिडाड एन्ड टोबागोका भारतीय मूलका छैठौं पीढीका लागि ओसीआई अर्थात् गैरआवाशीय नागरिकता कार्ड प्रदान गर्ने घोषणा गरे । उनले त्यहाँ रहेका भारतीय मूलका नागरिकको भारतसँगको कनेक्शनलाई बढाउने नीति पनि खुलाए । प्रधानमन्त्री कमलालाई भारतीयहरुले विहारको छोरीका रुपमा लिने गरेको बताए । पोर्ट अफ स्पेनमा भोजपुरी चौतालाको प्रस्तुती हेरे । नयाँ पीढीका भारतीय मूलका युवासँग भेटे । उनी जुन देशमा पुगिरहेका छन् त्यहाँ भारतीय मूलका मानिसहरुसँग भेट्ने कार्यक्रमहरुमा सरिक हुँदै आएका छन् । उनको स्वागतमा भारतीय मूलका मानिसहरु उल्लेख्य संख्यामा भ्रमण मुलुकमा पुग्ने गरेको दृश्यहरु विगतमा जस्तै यसपटक पनि देखिए । घानामा भारतीय डायस्पोराहरु मोदीलाई भेट्न भेला भएका थिए । राजधानी आक्रामा डायस्पोराको उल्लेख्य संख्या उपस्थित थिए मोदीको स्वागतमा ।
मोदीले सँसारभर रहेका साँढे तीन करोड भारतीय डायस्पोरालाई ‘भारतको शान’ भने ट्रिनिडाड एन्ड टोबागोमा । डायस्पोरालाई मोदीले कूटनीतिक अस्त्रका रुपमा लिएको विश्लेषण नभएको होइन । मोदीको सांस्कृतिक कूटनीतिमा डायस्पोराको महत्वपूर्ण भूमिका देखिन थालेको छ । अर्कोतर्फ, भारतको तिव्र आर्थिक विकासको महत्वाकांक्षा पूरा गर्न बाह्य व्यापारमा डायस्पोराको योगदान पनि देखिन थालेको छ । भारतीय मूलका लक्ष्मी मित्तल बेलायतकै धनी हुन् । दक्षिण अफ्रिकाका नामी व्यवसायिक घराना गुप्ता परिवार भारतीय मूलकै हुन् । यसकारण पनि मोदीले डायस्पोरालाई भारतको पनि पूँजी भनिरहेका छन् ।
डायस्पोराको पूँजी, प्रविधि र क्षमतालाई राष्ट्र हितमा प्रयोग गर्ने कौशल विश्वका कमै नेताहरुमध्ये मोदीले पनि देखाएका छन् । डायस्पोरालाई भारतमा लगानीका लागि वातावरण विकास गरेका छन् । यतिमात्र नभई ग्रामीण विकास देखि गँगा नदी सफाई अभियानमा समेत सहभागी गराए । अयोध्याको मन्दिर निर्माणमा भारतीय डायस्पोराबाट समेत आर्थिक सहयोग जुटाउन सके मोदीले । डायस्पोराको शक्ति र त्यसबाट प्राप्त गर्न सक्ने लाभको दायरा निकै ठूलो देखेर मोदीले अध्ययन नै गर्न लगाए । सँसारभर रहेका भारतीय डायस्पोराको विवरण संकलन गर्न निर्देशन दिए । एक अध्ययनका अनुसार भारतीय डायस्पोराको कुल सम्पत्ति १० खर्ब डलर रहेको छ । जसमध्ये आधा वित्तिय सम्पत्ति हो । यो यथार्थलाई गहिरोसँग बुझेका मोदीले डायस्पोरालाई भारतको विकासमा जोड्ने नीति सारेका हुन् । यसका लागि उनले संस्कृति, विचार र विदेश नीतिलाई माध्यम बनाएका छन् । योगा होस् या अन्य दक्षिण एशियामा चल्तीका सांस्कृतिक अभ्यास नै किन नहोस् विश्व व्यापी स्थापित गराउन डायस्पोराको निकै महत्वपूर्ण भूमिका रह्यो । त्यसमाथि पनि भारतीय डायस्पोराले योगलाई अन्तर्राष्ट्रिय रुपमै दिवसका रुपमा मनाउने अवस्था निर्माणमा योगदान गरे ।
डायस्पोराको भूमिका र प्रभावकारिताले वर्तमानमा भारतको प्रतिष्ठा विश्वभर बढ्न पुगेको छ । कुनैबेला भारतलाई भोकमरी, अशिक्षा र गरिबीले आक्रान्त देशका रुपमा लिइन्थ्यो विश्वभर । वर्तमानमा भारतीय डायस्पोराहरुले प्राप्त गरेका उचाईले भारतको समेत प्रतिष्ठा चुलिएको छ । भारतीय मूलकी कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति बनिन् । उनी डेमोक्रयाटिक पार्टीबाट डोनाल्ड ट्रम्पसँग राष्ट्रपतिको प्रतिष्पर्धामा उत्रिएर पराजित भइन् २०२४ मा । भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बने । भारतीय मूलका नाम चलेका वैज्ञानिक, साहित्यकार, कलाकार विभिन्न देशमा छन् । उनीहरुको प्रभावलाई बुझेर मोदीले सरकारी तहबाटै खोजी खोजी सम्पर्क स्थापित गराए । लगानी अभिवृद्धि गराए ।
२२ सेप्टेम्बर २०१९ मा हाउडी मोदी नाम दिएर अमेरिकाको टेक्सासमा भारतीय डायस्पोराको आयोजनामा वृहत्त सम्मेलन आयोजना गरिएको थियो । ५० हजार भारतीय मूलका अमेरिकी सहभागी भएको सम्मेलन निकै चर्चामा आयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी उक्त सम्मेलनबाट डायस्पोराको शक्ति र मोदीले त्यसलाई आफ्नो राष्ट्रहितमा कसरी ढालिरहेछन् भन्ने देखिएको थियो । उनले अन्तर्राष्ट्रिय तहमा भारतीय मूलका मानिसहरुको ज्ञान, आर्थिक क्षमता, राजनीतिक प्रभाव, सांस्कृतिक पहुँच, सामाजिक प्रभावलाई भारतको अधिकतम हितमा लगाउने नीति अन्तर्गत डायस्पोरासँग सम्पर्क बढाइरहेका छन् । प्रविधिको द्रुत विकाससँगै राष्ट्रका सीमाहरु भित्र मात्र मानिसहरु संकुचित भइरहन तयार छैनन् । मानिसहरु विश्वका कुना काप्चामा अवसरको खोजीमा फैलिइरहेका छन् । तिनले संस्कृतिलाई साथमा लिएर गएका छन् ।
तिनलाई मूल थलोसँग जोडेर राख्न सके उक्त समाजले अधिकतम लाभ लिन सक्छ । मोदीले विश्वभर छरिएका भारतीय डायस्पोरालाई संस्कृति, अर्थतन्त्र, भाइचाराका माध्यमले जोडिरहेका छैनन् मात्र भारतको प्रभाव विश्व व्यापी बनाउने रणनीतिका रुपमा पनि सदुपयोग गरिरहेका छन् । भारतीय डायस्पोरा जुन देशमा छन् ती देशमै संगठित गराउन मोदी सफल भएका छन् । संगठित भारतीय डायस्पोराको प्रभाव अमेरिका र बेलायतको चुनावमा पनि देखियो । मौरिसस, फिजी, ट्रिनिडाड एन्ड टोबागो जस्ता देशहरुमा भारतीय मूलका मानिसहरु शासनसत्ताको बागडोर सम्हाल्ने हैसियतमा पुगिसके । मोदीले यसकारण पनि डायस्पोराको शक्तिलाई बुझे । तिनको साथ लिन जाने र साथ दिन पनि जाने । मोदी जुन देश पुगे त्यहाँ भारतीय डायस्पोराको माया पाए । डायस्पोराको समेत सामथ्र्य शक्तिलाई बुझेर उनीहरुको ज्ञान, पूँजी र क्षमतालाई मूलथलो राष्ट्रले सदुपयोग गर्न सके त्यो राष्ट्र र समाज अझ द्रुत गतिमा प्रगति गर्न सक्छ । मोदीले पुस्तौं विदेशमा बसिसकेका भारतीय मूलका डायस्पोरालाई खोजी खोजी मूलथलोसँग जोड्ने नीतिबाट एकातर्फ देशलाई लाभ दिलाइरहेका छन् अर्कोतर्फ भारतीय संस्कृतिलाई विश्वव्यापी बनाइरहेछन् । मोदी स्वयं यस्ता कदमबाट लोकप्रीय भइरहेछन् । दृष्टि साप्ताहिकबाट