डायस्पोराको शक्ति खोज्दै मोदी

एजेन्सी, २० असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पाँच देशको भ्रमणमा छन् । उनी ती देशहरुको भ्रमणमा जाँदा भारतीय डायस्पोरासँग पनि भेटिरहेका छन् ।
विगतमा पनि विदेश भ्रमणमा जाँदा मोदीले भारतीय मूलयका डायस्पोरासँग भेट्ने गर्दथे । अमेरिकामा होस् या यूरोपमा उनको डायस्पोरा भारतीयले जय जयकार गरेका थिए ।
यसपटक घाना र ट्रिनिडाड एण्ड टोबागोमा मोदीले भारतीय डायस्पोरासँग भेटे । उनीहरुले बचाएको भारतीय संस्कृतिको प्रदर्शन अवलोकन गरे । ट्रिनिडाड एन्ड टोबागोमा भारतीय डायस्पोराको परम्परागत खाना खाए । जसमा सोहारीको पातमा खाना खाने परम्परा पनि थियो । त्यहाँका प्रधानमन्त्र िकमला पेरसाद बिसेसरले मोदीका लागि सोहारीको पातमै खाना उपलब्ध गराउन लगाइन् ।
मोदीले ट्रिनिडाड एन्ड टोबागोकी भारतीय मूलकी हिन्दू प्रधानमन्त्री कमलाका लागि सरयू नदी र महाकुम्भ मेला ताकाको पवित्र जल उपहारका रुपमा दिए । अयोध्याको राम मन्दिरको प्रतिरुप पनि प्रदान गरे ।
ट्रिनिडाड एन्ड टोबागोका भारतीय मूलका छैठौं पीढीका लागि ओसीआई अर्थात् गैरआवाशीय नागरिकता कार्ड प्रदान गर्ने घोषणा गरे । उनले त्यहाँ रहेका भारतीय मूलका नागरिकको भारतसँगको कनेक्शनलाई बढाउने नीति पनि खुलाए । प्रधानमन्त्री कमलालाई भारतीयहरुले विहारको छोरीका रुपमा लिने गरेको बताए । पोर्ट अफ स्पेनमा भोजमुरी चौतालाको प्रस्तुती हेरे । नयाँ पीढीका भारतीय मूलका युवासँग भेटे ।
मोदीलाई ट्रिनिडाड एन्ड टोबागोको राजधानी पोर्ट अफ स्पेन पुग्दा त्यहाँकी प्रधानमन्त्री कमला पेरसाद बिसेसरले एयरपोर्टमै स्वागत गरिन् । उनको क्याबिनेटका सदस्य नै मोदीको स्वागतमा पुगेका थिए ।
मोदीले घाना भ्रमणमा भव्य स्वागत पाए । उनलाई त्यहाँका राष्ट्रपति जोन ड्रमनी महामाले एयरपोर्टमै पुगेर स्वागत गरेका थिए । घानामा उनको नागरिक सम्मान भयो । द अफिसर अफ द अर्डर अफ द स्टार अफ घानाबाट सम्मानित भए ।
घानाको संसदलाई सम्बोधन गर्ने क्रममा मोदीले भारत विश्वको तागतको स्तम्भ भएको बताए । उनले त्यहाँका सांसदहरुसँग हातेमालो गरेको दृश्य निकै चर्चामा आयो ।
घानामा मोदीले भारतीय डायस्पोरासँग भेटे । राजधानी आक्रामा डायस्पोराको उल्लेख्य संख्या उपस्थित थिए मोदीको स्वागतमा ।