१० असार २०८२, मंगलबार | June 24, 2025

अमेरिकाको ‘पाकिस्तान कार्ड’ को तरंग


1.9k
Shares

डा. दीपेश केसीः जब छिमेकी इरानमाथि अमेरिकी आक्रमण हुँदै थियो तब पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबल शान्ति पुरस्कारका लागि सिफारिश नै ग¥यो । यो घटना अघि पाकिस्तानी सेना प्रमुख असिम मुनिरले ह्वाइट हाउसमा ट्रम्पसँग लन्च भेटको अवसर पाए त्यो पनि एक घन्टाका लागि तय गरिएको समयभन्दा दोब्बर दुई घन्टा । पाकिस्तानी रक्षामन्त्री खवाजा असिफले इरानमाथि इजरायलको हमलापछि मुसलमान देशहरुलाई एक हुन गरेको आव्हानलगत्तै मुनिरलाई ह्वाइट हाउसमा बोलावट भएको थियो । यो यस्तो मौका थियो कि पाकिस्तानी सेनाले इरान मामलालाई आफ्नो लाभको रणनीतिमा ढालिहाल्यो ।

इरानमा अमेरिकाबाट इस्लामिक सत्ता पल्टाउने गरी भइरहेको हमलामा पाकिस्तानले आफ्ना लागि उत्तम अवसर देख्यो । अमेरिकाले पनि पाकिस्तानलाई साथमा लिएर इरानलाई थप दबाब दिन थाल्यो । इरानमाथि अमेरिकाले खतरनाक बम हमला ग¥यो । पाकिस्तानले इरानसँगको साझा धर्म, चीनले खन्याएको अरबौं डलरको लगानी देखि मुस्लिम देशको एकताको मुद्दा सबै बिर्सिएर मौकाको फाइदा उठाउने रणनीति बनायो । मुनिरको अमेरिका भ्रमण, त्यसपछि पाकिस्तानको ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने औपचारिक प्रस्ताव देखि पहलगाम हमलाको बदलामा आतंकवादविरुद्धको अपरेशन सिन्दूरपछि विकसित घटनामा भारतलाई गलत सावित गर्न ट्रम्पले मध्यस्थकर्ता गरेको भनिनुमा रणनीतिक स्वार्थ देखियो ।

यसै पनि पाकिस्तान अमेरिकासँग विशेष सम्बन्ध राख्दै आएको छ । उसले कहिले तत्कालीन सोभियत संघविरुद्ध अमेरिकालाई साथ दिएर सैन्य लाभ लियो त कहिले अल कायदाविरुद्धको लडाईँमा अमेरिकालाई साथ दिएर अरबौं डलरको लाभ लियो । पाकिस्तानले विगतमा अमेरिका र बेलायतको स्वार्थका लागि आतंकवादीलाई विगतमा प्रश्रय र आश्रय दिएको विषय पाकिस्तानी रक्षामन्त्री खवाजा असिफले स्काई न्युजलाई दिएको अन्तवार्तामा भनेको भिडियो भाइरल छ । अल कायदा नेता ओसामा विन लादेनलाई पाकिस्तानको अवोटावादमा लुकाएर लिएको लाभ अमेरिकाले गरेको सैन्य कारबाहीबाट छताछुल्ल भयो । लादेन पाकिस्तानमा मारिएका थिए सन् २०११ मा अपरेशन नेप्टुन स्पेयरमार्फत् । चीनसँग सैन्य सम्बन्ध बढाएर भरपूर लाभ लिन सक्यो सेना हावी रहने गरेको पाकिस्तानी सत्ताले । चीनको अरबौं डलर लगानी गराएन मात्र भारी मात्रामा हतियार आयात ग¥यो । आर्थिक संकटमा फस्दै गएको पाकिस्तानले अरब देशहरुबाट साथ पाइरह्यो । अर्कोतर्फ, चिनियाँ कार्डको पाकिस्तानी प्रयोग फेरि अमेरिकालाई आफूसँग नजिक ल्याउने परिस्थिति निर्माणमा सफल बन्यो । यति नजिक कि ट्रम्पले पाकिस्तानका सबैभन्दा शक्तिशाली मानिने सेनाप्रमुख असिम मुनिरलाई ह्वाइट हाउसमा अहिलेसम्म कुनैपनि पाकिस्तानी सेनापतिलाई नदिएको महत्व दियो ।

पाकिस्तानको निर्माण, तत्कालीन सोभियत संघविरुद्ध अफगानिस्तानमा भएको लडाईँ, तालिवानको सत्तारोहरण, पतन र सत्तामा फेरि फिर्तीपछिका केही समय पाकिस्तानको अमेरिकासँग जे जस्तो सम्बन्ध भएपनि उसको परम्परागत मित्र त हुँदै हो । पाकिस्तानी सेना प्रमुख असिम मुनिरले अन्ततः परम्परागत मित्र अमेरिकासँग विशेष सम्बन्धको सन्देश दिइहाले । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पाकिस्तानसँगको विशेष सम्बन्धको सन्देश दिइसके मुनिरसँग भेटमार्फत् । यो बैठक त्यतिबेला भएको थियो जतिबेला ट्रम्प क्यानडामा भएको जी सेभेन समिट छोट्याएर वासिङटन फर्किएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भनिएको ट्रम्पको साइडलाइन वार्ता भएन । ट्रम्पले मोदीलाई अमेरिका हुँदै भारत फर्कन आग्रह गरे । तर, मोदीले अस्वीकार गरिदिए । विक्रम मिश्रीले ३५ मिनेट लामो मोदी–ट्रम्प फोनवार्ताको दौरान भएका कतिपय संवेदनशील विषय नै उजागर गरिदिएर महत्वपूर्ण सन्देश दिएका छन् ।

अमेरिकाले भारतलाई चिढ्याउने गरी पाकिस्तानलाई महत्व दिएको देखिइसकेको छ । भारत ट्रम्पलाई पाकिस्तानसँगको चार दिने युद्ध रोक्ने मध्यस्थकर्ता मान्न तयार छैन । तर, पाकिस्तान सरकारले मध्यस्थकर्ता भनिसकेको छ औपचारिक रुपमै । पाकिस्तानी सेनाप्रमुख मुनिरले ट्रम्पले मध्यस्थकर्ता मात्र नभई मुख्य भूमिका खेलेर युद्ध रोकेको जस दिए । तर, मोदी ट्रम्पलाई जस दिने पक्षमा देखिएनन् । उनले ट्रम्पसँग क्यानडामै रहँदा भएको ३५ मिनेट लामो टेलिफोन वार्तामा भारतले पाकिस्तानसँगको सम्बन्धमा कहिले मध्यस्थकर्ता नचाहेको र भविष्यमा पनि नचाहने स्पष्ट पारेको बताइदिए । यसबारे भारतका विदेश सचिव विक्रम मिश्रीले भिडियो सन्देशमार्फत् जानकारी दिंदाको शैली निकै कडा थियो । मोदी ट्रम्पसँग असन्तुष्ट बनेको मिश्रीको प्रस्तुतीको भाषा र शैलीबाट पनि बुझ्न सकिन्छ ।

मोदीको ट्रम्पसँग क्यानडामा तय भएको साइडलाइन वार्ता नहुनु तर ट्रम्प वासिङ्टन फर्किएर पाकिस्तानी सेनाप्रमुख मुनिरसँग लन्च मिटिङ गर्नुलाई भारतले सामान्य रुपमा लिएको देखिएन । त्यसमाथि पाकिस्तानी जासुसी संस्था आइएसआईका प्रमुख जनरल असिम मलिक समेतको सहभागितामा भएको ट्रम्पको लन्च मिटिङमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र मध्यपूर्वका लागि ट्रम्पका मध्यस्थकर्ता स्टिभ विटकफको सहभागिता चासोको विषय बन्यो । भारतले पटक पटक युद्ध लडिसकेको देशका सेना प्रमुखलाई अमेरिकी राष्ट्रपतिले वासिङ्टनमा रातो कार्पेट ओछ्याउनुलाई भारतका प्रधानमन्त्री मोदीले सामान्य रुपमा लिएको देखिदैन । यसले भारतसँग अमेरिकाको सम्बन्धमा मात्र नभई दक्षिण एशियाको राजनीतिमा पनि असर पार्न सक्छ । यस क्षेत्रमा हतियारको होडवाजीसँगै अमेरिका र रुसजस्ता हतियार उत्पादक देशहरुको सक्रियता बढ्न सक्छ ।

आक्रामक अमेरिका
भारत र पाकिस्तानबीच चार दिने युद्ध अनि ट्रम्पको दाबीअनुसार उनको मध्यस्थतामा युद्ध अन्त । आतंकवादी अखडामा भारतको हमलामा इजरायलको समर्थन । त्यसपछि इजरायलद्वारा इरानमाथि हमला । अमेरिका युद्धमा प्रत्यक्ष संलग्न भई बम हमला । इरानको सत्ता पल्टाउन अमेरिका लागिसकेको ट्रम्पको संकेत । यी घटना अघि बँगलादेशमा शेख हसिनाको सत्ता पल्टाउने माहोल तयार गर्न अमेरिकी यूएसएडले त्यहाँको लोकतन्त्रका लागि भनी गरेको सहयोग रकमको दुरुपयोगको खुलासा । यूरोपमा रहेका नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई सत्तारोहण । युनुसको भारतलाई चुनौतीपूर्ण गतिविधि अनि बँगलादेशमा पाकिस्तान समर्थित कट्टरपन्थी मुस्लिम संगठनहरु हावी भई हिन्दूमाथि हमला । अमेरिका मध्यपूर्वी एशिया र दक्षिण एशियामा आक्रामक ढंगले प्रस्तुत भइरहेको संकेत हो यो । यसका लागि उसले परम्परागत शक्तिसँगको सामिप्यतालाई पुनः लयमा फर्काइसकेको छ । पाकिस्तानसँगको उसको सामिप्यता यसकै उदाहरण हो ।

चीनसँग नजिकिइसकेको पाकिस्तान एकाएक अमेरिकासँग पुनः नजिकिनु अस्वाभाविक होइन । इतिहास केलाउँदा पाकिस्तानले जहिले अमेरिकालाई साथ दिएको छ । सन् १९७९ मा अफगानिस्तानमा सोभियत संघको हमलाका बखत अमेरिका र पाकिस्तान मिलेर चुनौती दिएका थिए । अफगानिस्तानमा अमेरिकी हस्तक्षेपका बखत पनि पाकिस्तानले साथ दियो । अल कायदाले २००१ को सेप्टेम्बर ११ को ट्वीन टावरमा गरेको हमलापछि अमेरिकाको आतंकवादविरुद्धको लडाईँमा पाकिस्तानले साथ दिएको इतिहास छ । बितेको दुई दशकमा अमेरिकाले पाकिस्तानलाई ३० अर्ब डलरभन्दा बढी सहयोग दिइसकेको छ । त्यो सहयोग सबैभन्दा बढी आतंकवादविरुद्धको लडाईँमा थियो । सैन्य क्षेत्रमा अमेरिकाको ठूलो सहयोग रहने गरेको छ पाकिस्तानलाई । आतंकवादविरुद्धको लडाईँमा अमेरिकाले पाकिस्तानलाई अरबौं डलर बराबरको सैन्य सहयोग दियो । तर, पछिल्लो समय पाकिस्तानमा चिनियाँ लगानी बढ्दो छ । चीन-पाकिस्तान इकोनोमिक कोरिडोका लागि मात्र चीनले ६२ अर्ब डलर लगानी गरेको छ ।

भारतसँगको चार दिने युद्धमा पाकिस्तानले चीनबाट ठूलो परिमाणमा हतियार खरिद गरेको पुष्टि भयो । पाकिस्तानले पछिल्ला वर्षहरुमा आयात गरेका कुल हतियारको ८० प्रतिशत चिनियाँ रहेको खुल्यो । जसमा चिनियाँ युद्धक विमान, मिसाइल समेत छन् । त्यस्ता हतियारको प्रयोग पाकिस्तानले भारतसँगको युद्धमा गरेको थियो । यसकारण पनि अमेरिका पाकिस्तानलाई आफूबाट टाढा नपु¥याउने गरी नयाँ रणनीतिमा बढेको देखिन्छ । अर्कोतर्फ, इरानसँग इजरायलको युद्धमा पाकिस्तान गतिलो कार्ड बन्न सक्छ अमेरिकाका लागि । पाकिस्तानलाई इरानसँग धेरै करिब हुन नदिन र परिआए युद्धमा मध्यस्थकर्ता बनाउन पनि अमेरिकाले नयाँ रणनीति चालेको देखिन्छ । अर्कोतर्फ, आर्थिक र सैन्य प्रगतितर्फ द्रुत गतिमा बढिरहेको भारतलाई सन्तुलनमा राख्न पाकिस्तान अमेरिकाका लागि उपयुक्त कार्ड हुनसक्छ । ट्रम्पले त्यो कार्डको प्रयोग गर्न खोजेका छन् । तर, भारतलाई चिढ्याउनु ट्रम्पका लागि घातक सावित हुनसक्छ । चीनलाई चेक एन्ड ब्यालेन्समा राख्न अमेरिकालाई भारतको साथ विना सम्भव छैन । पाकिस्तानलाई महत्व दिएर भारतलाई चिढ्याउँदा तत्कालका लागि अमेरिकाको हित देखिएला । कालान्तरमा अमेरिकाले एशियामा आफ्नो मित्रशक्ति गुमाउने अवस्था बन्न सक्छ । अमेरिकाले इरान मामला देखि अफगानिस्तान मामला मात्र नभई चीनलाई एशियामा प्रभावशाली हुनबाट रोक्न पाकिस्तान कार्ड प्रयोग गरेको छ । यो कार्डले क्षेत्रीय राजनीति तरंगित भइसकेको छ ।

दक्षिण एशियाको राजनीतिमा अमेरिकाले खेलेको पछिल्लो भूमिकाको तरंगहरु बढेका छन् । नेपालमा पनि असरहरु देखिइसके । नेपालमा ट्रम्प प्रशासनले एमसीसी सुचारु गर्नु अर्थपूर्ण छ । अमेरिकाले क्षेत्रीय शक्तिमार्फत् चाल्ने कदमबाट रणनीति बदलेको संकेत हो यो । ऊ आफै सिधा सक्रिय हुन थालेको छ अब । यसले नेपाल जस्तो देशहरुमा शक्तिराष्ट्रहरुको चासो झ्न बढ्न थाल्छ । अमेरिकाको आक्रामक रणनीति मध्यम शक्तिका देशहरुमा देखापर्दा त्यो रणनीति साना देशहरुमा पनि देखिन सक्छ । नेपालमा भारत र चीनको चासो यसै पनि छँदैछ । अमेरिकाको चासो झन् बढ्दा पर्ने प्रभाव राजनीतिक, आर्थिक र सामाजिक तीनवटै क्षेत्रहरुमा देखिने नै छ ।

 

प्रतिक्रिया