तीन ठूला भ्रष्ट नेताहरुको स्वार्थ र मिलिभगतमा जबरजस्त प्रधान न्यायाधीश नियुक्ति- वरिष्ठ अधिवक्ता श्रेष्ठ

काठमाडौं, ७ असार । वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले अवैधानिक रुपमा भएका प्रधानन्यायाधीशहरुको नियुक्ति भ्रष्टाचारको मुहान बन्नुको कारण भएको निष्कर्ष निकालेका छन् । उनले हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतलाई तीन ठूला नेताहरुको स्वार्थ र मिलिभगतमा जर्बजस्त प्रधानन्यायाधीशमा नियुक्तिले अदालतमा भ्रष्टाचारको मुहान तयार भएको समेत बताएका छन् ।
सत्य र न्यायको खोजी अभियानका तर्फबाट शनिबार विहानै सामाजिक सञ्जालमा पोष्ट गर्दै श्रेष्ठले न्यायपालिकाको सुधारको थालनी सर्वोच्च अदालतबाटै गर्नुपर्नेमा जोड दिएका छन् । उनले लेखेका छन्, ‘अदालत भित्रै वकिल र न्यायाधीशहरु नै भ्रष्टाचारमा संलग्न छन् भन्ने सर्वोच्चका न्यायाधीशहरुबाटै तयार पारिएका प्रतिवेदनहरुबाट प्रमाणित गरिएका छन् ।’
न्यायिक भ्रष्टाचारका विषयमा कार्यान्वयन हुन नसकेका भ्रष्टाचार सम्बन्धी प्रतिवेदनहरुको थुप्रोले अदालत प्रशासनको फोहोरको डुंगुर चुलिएको र कुनै प्रतिवेदन त डुंगुरबाट हटाइएर लुकाइएको उनको भनाई छ । उनले लेखेका छन्, ‘कार्यान्वयन नगरिएका र लुकाइएका प्रतिवेदनहरुले देखाएको भ्रष्टाचार भन्दा ठूलो रुपको विसंगतियुक्त भ्रष्टाचार जन्य कुकार्यको मुहान भनेको संवैधानिक परिषदले कानूनको रिक्ततामा असंवैधानिक रुपमा हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ र सं. प्रकाशमान सिंह राउतलाई तीन ठूला भ्रष्ट नेताहरुको स्वार्थ र मिलिभगतमा जबरजस्त प्रधान न्यायाधीशमा नियुक्ति गरिएको कार्य हो ।’
समस्याको मुहानमा नबोल्नेहरु साखुल्य हुन झिना मसिना र साना कर्मचारी र न्यायाधीशहरुलाई कारबाही गरेजस्तो देखाइदा वाही वाही गर्ने गरेको समेत श्रेष्ठको भनाई छ । उनले न्यायालयको फोहोर पखाल्न पुर्नसंरचना नै हुनुपर्ने तर्क गरेका छन् ।
पछिल्लो समय अदालतबाट विवादास्पद फैसलाहरु भई सर्वत्र आलोचना बढिरहँदा श्रेष्ठको भनाई आएको हो । न्याय परिषदले सर्वसाधारण र न्यायालयको हितमा कार्य गर्नेहरुले चर्को आवाज उठाएपछि विवादास्पद फैसला गर्ने न्यायाधीशहरुमाथि छानविन बढाउँदा वरिष्ठ अधिवक्ता श्रेष्ठको भनाई सार्वजनिक भएको हो ।