५ असार २०८२, बिहिबार | June 19, 2025

भारतले मध्यस्थता नस्वीकार्ने


0
Shares

विक्रम मिश्री: प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच जी–सेभेन शिखर सम्मेलनको साइडलाइनमा भेट्ने कार्यक्रम थियो । तर राष्ट्रपति ट्रम्प चाँडै अमेरिका फर्कनुपरेको कारणले गर्दा यो भेटघाट हुन सकेन । त्यसपछि राष्ट्रपति ट्रम्पको अनुरोधमा दुवै नेताहरुले आज टेलिफोनमा कुराकानी गर्नुभयो । कुराकानी लगभग ३५ मिनेटसम्म चल्यो । अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलापछि राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई फोन गरेर समवेदना व्यक्त गर्नुभएको थियो । साथै वहाँले आतंकवाद विरुद्धको लडाइमा आफ्नो समर्थन रहेको पनि व्यक्त गर्नुभएको थियो । त्यसयता दुई नेताबीच भएको यो पहिलो कुराकानी थियो । तसर्थ प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग अपरेशन सिन्दूरको बारेमा विस्तृत रुपमा कुरा गर्नुभयो ।

प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई अप्रिल २२ पछि भारतले आतंकवाद विरुद्घ कारबाही गर्नेे आफ्नो दृढ संकल्पबारे पुरै विश्वलाई जानकारी दिएको भनेर स्पष्ट शब्दमा बताउनुभयो । प्रधानमन्त्री मोदीले मे ६–७ को रातमा भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा रहेका आतंकवादी शिविर र उनीहरु लुक्ने ठाउँहरुलाई मात्र निशाना बनाएको बताउनुभयो । भारतको प्रतिक्रिया सन्तुलित, सटीक र गैर–उत्तेजक थियो । भारतले पाकिस्तानबाट हुने कुनै पनि आक्रमणको कडा प्रतिक्रिया दिइने भनेर समेत स्पष्ट पारेको थियो ।

उपराष्ट्रपति भान्सले मे ९ को रातमा प्रधानमन्त्री मोदीलाई फोन गर्नुभएको थियो । उपराष्ट्रपति भान्सले पाकिस्तानले भारतमाथि ठूलो आक्रमण गर्न सक्ने जानकारी गराउनुभएको थियो । यस्तो कारबाही भएको खण्डमा भारतले त्यसको थप कडा जवाफ दिने कुरा प्रधानमन्त्री मोदीले वहाँलाई स्पष्ट शब्दमा भन्नुभयो । मे ९–१० को रातमा भारतले पाकिस्तानी सेनालाई उल्लेखनीय क्षति पुर्‍याई पाकिस्तानको आक्रमणको कडा र निर्णायक जवाफ दियो । उनीहरुका सैन्य हवाई अड्डाहरु निष्क्रिय पारिए । भारतको कडा कारबाहीका कारण पाकिस्तान सैन्य कारबाही रोक्न अनुरोध गर्न बाध्य भयो ।

प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई यस सम्पूर्ण घटनाक्रमको कुनै पनि बिन्दुमा भारत–अमेरिका व्यापार सम्झौता वा भारत र पाकिस्तानबीच अमेरिकाले मध्यस्थता गर्ने कुनै प्रस्तावबारे कुनै पनि स्तरमा छलफल नभएको स्पष्ट रुपमा बताउनुभयो । सैन्य कारबाही रोक्ने छलफल भारत र पाकिस्तानका दुई सशस्त्र बलहरुबीचको विद्यमान सञ्चार माध्यमबाट प्रत्यक्ष रुपमा भएको थियो र यो पाकिस्तानको अनुरोधमा सुरु गरिएको थियो । प्रधानमन्त्री मोदीले भारतले मध्यस्थता नस्वीकार्ने र कहिल्यै पनि स्वीकार नगर्ने भन्दै दृढतापूर्वक बताउनुभयो । यस विषयमा भारतमा पूर्ण राजनीतिक सहमति छ ।

राष्ट्रपति ट्रम्पले प्रधानमन्त्रीले व्यक्त गर्नुभएका बुँदाहरुलाई ध्यानपूर्वक सुन्नुभयो र आतंकवादविरुद्ध भारतको लडाइमा आफ्नो समर्थन व्यक्त गर्नुभयो । प्रधानमन्त्री मोदीले भारतले अब आतंकवादलाई परोक्ष युद्धको रुपमा नभई युद्धको रुपमा नै हेर्ने र भारतको अपरेशन सिन्दूर अझै जारी रहेको कुरा पनि बताउनुभयो । राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई क्यानडाबाट फर्कने क्रममा अमेरिका आउन सक्नुहुन्छ कि भनेर सोध्नुभयो । पहिले गरिएका प्रतिबद्घताका कारण प्रधानमन्त्री मोदीले त्यसो गर्न असमर्थ भएको कुरा व्यक्त गर्नुभयो । दुवै नेताहरुले निकट भविष्यमा भेट्ने प्रयास गर्ने सहमति जनाउनुभयो । राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीले इजरायल र इरानबीच चलिरहेको द्वन्द्वबारे पनि छलफल गर्नुभयो ।

दुवै नेताहरुले रुस–युक्रेन द्वन्द्वमा शान्तिका लागि दुई पक्षबीच प्रत्यक्ष वार्ता आवश्यक रहेको र यसलाई सहज बनाउन निरन्तर प्रयास गरिनुपर्ने कुरामा सहमति जनाउनुभयो । हिन्द–प्रशान्त क्षेत्रका सम्बन्धमा दुवै नेताहरुले आ–आफ्ना दृष्टिकोण साझा गर्नुका साथै यस क्षेत्रमा क्वाड (QUAD) को महत्वपूर्ण भूमिकाप्रति आफ्नो समर्थन व्यक्त गर्नुभयो । प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई अर्को क्वाड शिखर सम्मेलनका लागि भारत भ्रमणको निमन्त्रणा दिनुभयो । राष्ट्रपति ट्रम्पले उक्त निमन्त्रणा स्वीकार गर्दै आफू भारत भ्रमणका लागि उत्सुक रहेको बताउनुभयो ।-भारतका प्रधानमन्त्री तथा अमेरिकी राष्ट्रपतिबीच भएको टेलिफोन वार्ताबारे भारतका विदेश सचिव मिश्रीको वक्तव्य

प्रतिक्रिया