१२ को रिजल्ट नआउँदै प्रिमियरको ग्राजुएसन, शिक्षा सचिव पौडेल देखि ललितपुरका मेयर चिरिबाबु सहभागी

ललितपुर, ३ असार । शिक्षामा ब्रम्हलुट मच्चाउने स्कुल, कलेज र कन्सल्टेन्सीहरुको बिगबिगी नै मच्चिएको छ । नियमनकारी निकायलाई नै प्रभावित पारेर व्यापार गरिरहेका कतिपय शैक्षिक संस्थाहरुको लुटले हद नाघिसकेको छ । उनीहरु भर्ना शुल्क भनेर ठूलो रकम मात्र असुल्दैनन् पढाई सकिएपछि पनि बिदाईका नाममा ठूलो रकम अभिभावकसँग असुल्छन् । यस्तै गरेको छ प्रिमियम इन्टरनेशनल स्कुलले ।
कक्षा १२ को परीक्षाको नतिजा नआउँदै प्रिमियर स्कुलले २४ जेठमा तामझामका साथ ग्राजुएसन गराएको छ आफ्ना ७० विद्यार्थीलाई । त्यसका लागि प्रति विद्यार्थी १७ हजार रकम लिएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनेर विद्यार्थीलाई १७ हजार तिर्न वाध्य बनाइएको थियो । शिक्षामन्त्री रघुजी पन्त पनि आउने भनिएको थियो । तर, उनीहरु आएनन् । शिक्षा सचिव चुडामणि पौडेल पुगे ।
प्रिमियरका एक अभिभावकले नेपाली पेनलाई बताए अनुसार तामझामका साथ गरिएको कार्यक्रमप्रति ठूलो असन्तुष्टि थियो । कक्षा १२ को परीक्षाफल नै नआई विद्यार्थीलाई ग्राजुएसनको टोपी र गाउन लगाउन लगाइयो । आइबीका समेत केही विद्यार्थीलाई सहभागी गराएर ग्राजुएसन गराइएको थियो । त्यस्तो कार्यक्रममा शिक्षा सचिव पौडेल पुग्नुले प्रश्न उठेको छ ।
शिक्षा मन्त्रालयका सूचना अधिकारी निलकण्ठ ढकाल परीक्षाको नतिजा नआई ग्राजुएसन गर्न नमिल्ने बताउँछन् । नतिजा नआई प्रिमियरको ग्राजुएसनमा शिक्षा सचिव पौडेल सहभागी भएकोबारे सोध्दा उनले भने, उहाँ जानु भए नभएको जानकारी भएन, यसबारे बुझ्छु ।
यसैगरी, ललितपुरका मेयर चिरिबाबु महर्जन पनि प्रिमियरको कक्षा १२ को ग्राजुएशनमा पुगेका थिए । उनले पनि प्रिमियरको गुणगान गाए ।
प्रिमियरले आइबी समेत सञ्चालन गरेर ठूलो रकम असुल्ने गरेको छ । नेपाली विद्यार्थीलाई सिधै विदेश धकेल्ने धन्दामा देशभित्र खुलेका शैक्षिक संस्था नै लाग्नु र त्यसमा शिक्षा मन्त्रालयका अधिकारीहरुले नै प्रोत्साहित गर्नुले गम्भीर प्रश्न खडा गरेको छ ।