२७ जेष्ठ २०८२, सोमबार | June 9, 2025

के छ भारत-चीनको सामरिक अवस्था


830
Shares

विपिन देव: पचासको दशकदेखि नै भारत चीन सम्बन्ध असहज रहदै आएको छ । सन् १९६२ को युद्ध पश्चात् भारत चीन सम्बन्धमा लामो कालखण्डसम्म कूटनीतिक सम्बन्ध समेत अवरोध भएको अवस्था थियो । सन् १९८८ मा भारत का तत्कालीन प्रधानमन्त्री राजीव गान्धी र चिनियाँ राष्ट्रपति देङ्ग स्याओ पिङबीच भएको सम्झौता र सम्झादारीको कस्तीमा एक संरचनाको विकास भयो । तद्नुरूप दुईवटै मुलुकहरू सीमा सम्वन्धी समस्यालाई थाती राख्दै आर्थिक विकासलाई अर्जुनदृष्टिमा राख्दै अगाडि बढ्ने सहमति निर्माण भयो । बर्लिन पर्खाल भत्किनु, सोभियत संघ विघटन हुनु, आर्थिक उदारवादको युग सुरुवात हुनु, पूर्वी युरोपबाट साम्यवाद समाप्त हुनु, भूमण्डलीकरणको बिगबिगी बढ्नु जस्ता कारकहरूले चीन र भारतले आर्थिक विकासको यात्रामा अभूतपूर्व सफलता प्राप्त गर्योे । चीनले तीन दशकसम्म दुई अंकको आर्थिक विकास गरेर ८०० मिलियन जनतालाई गरिबीको रेखामुनीबाट बाहिर ल्याउन सफल हु‘दै विश्वको दोस्रो आर्थिक महाशक्ति बन्न सफल भएको छ ।

एक दशक पश्चात भारतले खुला आर्थिक बजारमा प्रवेश गरे तापनि वर्तमान परिवेशमा भारत विश्वको चौथो अर्थतन्त्र हुन सफल भएकै हो । यो भारतको द्रुत आर्थिक प्रगति हो । दुईवटै मुलुकहरू आर्थिक विकासको यात्रामा सफल धाबक भए तापनि कटुता निरूपण गर्न दुईवटै मुलुकहरू असफल देखिएको छ । सन् २०२० मा गलवान घाटीमा भएको भिडन्तले गर्दा भारतले चीनसंगको सामरिक नीतिमा परिर्वतनको संकेत दिएको थियो । भारतका परराष्ट्रमन्त्री डा. एस. जयशंकरले सीमा सम्बन्ध समस्यालाई निरूपण गरे मात्रै चीनसंग सहज सम्बन्ध हुने उद्घोष गरेका थिए ।

गलवान तनावले दुईवटै मुलुकहरूलाई युद्धको संघारमा उभ्याएको थियो । हुनतः दुई मुलुकहरू विच सन् २०१४ मा चूमर भिडन्त, सन् २०१७ मा देनचोक भिडन्त र सन् २०१७ मा डोकलममा समेत मुठभेडको अवस्था रहेको थियो । तर यी तनावहरू अल्पकालीन रहेका थिए । गलवान घाँटीमा १८ हजार फिटको उचाईमा ५० हजार शस्त्रद्वारा दुई देशका सैनिकहरू आमने सामने रहेका थिए । गलवान तनाव शिथिलिकरण गर्न अन्तर्राष्ट्रिय दवाव समेत चर्को रहेको थियो । गलवान घाँटीमा तनाव बढ्नुमा विभिन्न आयमहरू रहेको देखिन्छ । यी आयमहरूलाई यथोचित सम्वोधन गरेको खण्डमा मात्रै भारत चीन सम्बन्ध सहज हुने जानकारहरूको बुझाई रहेको छ । सन् २०१४ देखि राष्ट्रपति सीले चिनियाँ सैनिक (पि.एल.ओं) लाई आधुनिकरण गर्न जर्मको गरेका थिए । राष्ट्रपति सीले चिनियाँ सैनिक संरचनामा परिर्वतन गर्दै सैनिक कमाण्डमा कम्युनिष्ट पार्टीका उच्च ओहदाका व्यक्तिहरूलाई न्यूक्ति गरेका थिए । “चिन्दु” र “लेपच्याङ्ग” कमाण्डमा परिर्वतन गर्दै भारतसंगको सीमा वर्ती क्षेत्रमा सैन्य भण्डारण गरेका थिए ।

भारतले समेत आफ्नो सीमावर्ती क्षेत्रमा सैनिक पूर्वाधार विकासका लागि भगिरथ मिहेनत र लगानी गरेका थिए । भारतको बढ्दो लगानी र पूर्वाधार विकासले गर्दा चिनियाँ सैनिकहरूले सीमा इलाकामा निर्वाद रूपले गर्दै आएको गस्तीलाई भारतीय सैनिकहरूले सचेत गर्दै आएको थियो । सीमा इलाकामा भारतको पहुँच र सामथ्र्यलाई दबाबमा राख्न राष्ट्रपति सीले गलवानमा भारतलाई दबाबमा राख्न सैनिक सहित सैन्य भण्डारण गरेको थिए ।

गलवान घाँटीको तनावलाई चित्रित गर्दै भारतका पूर्व परराष्ट्र सचिव र अद्भूत सामरिक जानकार विजय गोखलेले आफ्नो पुस्तक “लौङ्ग गेम”मा भारत अमेरिकी सम्बन्धमा कारणले नै गर्दा चीनले भारतलाई दबाब दिएको उल्लेख गरेका छन् । गोखलेका अनुुसार चिनियाँ नीति अनुसार भारत र अमेरिकी सम्बन्धमा सामिप्यता बढेको खण्डमा चिनियाँ सामरिक नीति प्रभावित हुने राष्ट्रपति सीको बुझाई रहेको छ । सन् २००० देखि नै भारत अमेरिकी सम्वन्धले उ‘चाई लिदै आएको छ । चीन भारतका तनावको कारण “तिब्वत” समेत एक प्रमुख कारण रहेको छ । सन् १९५९ देखि नै तिब्वतेली १४ औं धर्म गुरु दलाई लामा भारतको हिमाचल प्रदेशमा वॉस गर्दै आएको छ । दलाई लामाको सम्बन्ध र सम्र्पक विश्वको कुना कुनामा रहेको छ । खास गरेर दलाई लामाको विचार दर्शन र अभिव्यक्तिलाई पश्चिमा सञ्चार माध्यमहरूले उच्च महत्व दिदै आएको छ । १५ औं दलाई लामाको चयन चिनियाँ कम्युनिष्ट पार्टीको लागि ठाउ‘को दुखाई भएको छ । कम्युनिष्ट पार्टीद्वारा चयन हुने दलाई लामालाई तिब्वतेलीहरूलाई मान्य नहुने कुरा धर्मसंग जोडिएका विभिन्न संघ र सस्थाहरूले आप्mुनो अभिमत जाहेर गरि सकेका छन् । अर्को शब्दमा भन्ने हो भने गलवान घाटी तनाव बढ्नुको कारण चीनको सामरिक नीति, भारत अमेरिकी सम्वन्ध र दलाई लामा समेत रहेको छ ।

बदलिदो भू-राजनीतिले गर्दा चीन र भारत केही हदसम्म तनाव शिथिलिकरण गर्न सफल भएको देखिन्छ । तर संसारको सबभन्दा ठुलो सीमा विवाद भारत चीन विच रहदै आएको छ । सीमा विवाद निरूपण नहुन जेलसम्म चीन भारत विच सहज सम्वन्ध नहुने जानकारहरूको बुझाई रहेको छ । भारतका पूर्व राजदुत र अब्वाम सामरिक जानकार श्याम शरणले आफ्नो पुस्तक “हॉउ चाइना सी द इण्डिया एण्ड बल्र्ड”मा भारत चीन सम्वन्धलाई आर्थिक आयमबाट विश्लेषण गरेका छन् । श्याम शरण अनुसार सन् १९८८ ताका भारत र चीनको आर्थिक आधारमा समरुपता रहेको थियो । वर्तमान परिवशेमा चिनियाको आर्थिक आकार भारत भन्दा चार गुणा अधिक रहेको छ । तर इतिहासको चक्र फेरिएको छ । चीनमा जनसंख्यीक लाभांषमा कमी भएको छ । बेरोजगारी दर २० प्रतिशत बढेको छ । रियल स्टेटको व्यापारमा शिथिलता देखिएको छ भने घरेलु उपभोगमा समेत गिरावट देखिएको छ ।

ट्रम्पको नीतिले गर्दा चिनिया व्यापार प्रभावित भएको छ भने मध्य एसीया र रूस युक्रेन विचको द्वन्द्वले समेत चीनको निर्यात प्रभावित भएको छ । यसको विपरित भारतको जनसंख्यीक लाभांष स्थिर रहनुको साथै विश्वको सबभन्दा तीव्रवृद्धि दरले आर्थिक विकास गरिरहेको मुलुकहरू मध्ये भारत रहेको छ । हिन्द प्रसान्त क्षेत्रको कॉखमा हुनु, संसारको सबभन्दा ठुलो जनसंख्याको रूपमा हुनु, प्रजातान्त्रिक पद्वति हुनु र अब्वल जनशक्ति हुनु जस्ता कारणले गर्दा सन् २०३० मा भारत विश्वको तेस्रो अर्थतन्त्र हुने सम्भावना रहेको छ । अर्थात् चीनको दबाबलाई सन्तुलन गर्न भारतले आफ्नो आर्थिक विकासको यात्रामा तीव्रता दिनु पर्ने टड्कारो आवश्यकता रहेको छ ।

प्रतिक्रिया