तीनकुने घटनाको कारक तत्व के के

काठमाडौं, १४ जेठ । तीनकुनेमा राजावादी आन्दोलनका क्रममा पत्रकारसहित दुईजनाको ज्यान जानेगरी भएको घटनाको कारणसहित अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । देवेन्द्रलाल नेपाली नेतृत्वको स्वतन्त्र नागरिक छानबिन आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनले सरकार र आयोजक दुवैकातर्फबाट त्रुटी हुँदा घटना भएको सार्वजनिक गरेको छ ।
२०८१ को चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा पत्रकार सुरेश रजकको आगलागीबाट र किर्तिपुरका सबिन महर्जनको गोली लागी मृत्यु भएको थियो । दिनेश खत्री र रेबिका खत्री दाजुबहिनी गोली लागि घाइते भई उपचाररत छन् । घटनामा तोडफोड, लुटपाट र आगजनी समेत भएका थिए ।
प्रतिवेदनमा सरकार र मातहतका सुरक्षा निकाय, मुख्य राजनीतिक दल तथा अन्य राज्य संयन्त्र र निकाय समेत राजावादीको एजेन्डाप्रति अनुदार रहेको पृष्ठभूमिमा आयोजना गरिएको कार्यक्रममा अप्रिय घटना हुनसक्ने स्वाभाविक अनुमान रहेको उल्लेख छ । त्यस्तो अवस्थामा पनि आयोजकहरुले पूर्वसावधानी अपनाउन नसक्नु, आयोजकमा एकल जिम्मेवारीको बोध नहुनु जस्ता त्रुटीलाई घटनाको कारक तत्व भनेको छ ।