भारतका पर्यावरणमन्त्री भूपेन्द्र यादवले नेपाल भ्रमणमा के के गरे

काठमाडौं, २ जेठ । भारतका पर्यावरण, वन एवम् जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव सगरमाथा संवादमा सहभागी भएका छन् । उनले ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा आयोजित “सगरमाथा संवाद” को पहिलो संस्करणमा सहभागिता जनाए ।
विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख विषयहरुमा छलफल गर्न नेपाल सरकारले स्थापना गरेको ‘सगरमाथा संवाद’ विश्वव्यापी संवाद मञ्च हो । जलवायु कार्य र वातावरणीय संरक्षणतर्फ क्षेत्रीय प्रयासहरुप्रति भारतको प्रतिबद्धतालाई जोड दिदै जेठ २ गते आयोजित संवादको उद्घाटन समारोहमा भारतको प्रतिनिधित्व गर्दै मन्त्री यादव सहभागी भएका हुन् ।
उनले जेठ २ गते आफ्ना समकक्षी वन तथा वातावरण मन्त्रीसँग द्विपक्षीय कुराकानी गर्नुभयो । दुवैले वातावरणको क्षेत्रमा विभिन्न द्विपक्षीय तथा क्षेत्रीय पहलहरुमा भएका प्रगतिहरुको समीक्षा र थप सहकार्यका अवसरहरुबारे छलफल गरे ।
सगरमाथा संवाद २०२५ को साइडलाइनमा मन्त्री यादवले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेट गरे । भेटमा दुवै नेताहरुले वातावरणको क्षेत्रमा भारत–नेपाल सहकार्यलाई सुदृढ पार्ने बारेमा फलदायी छलफल गरे ।
जेठ २ गते प्रधानमन्त्री के।पी। शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गरे । उनले प्रधानमन्त्रीलाई भारतको नेतृत्वबाट अभिवादन व्यक्त गर्नुका साथै सगरमाथा संवादको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेकोमा बधाई दिए । ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत र जनता–जनताबीचमा गहिरो सम्बन्ध रहेको भन्दै वहाँहरु दुवै जनाले भारत र नेपालबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध बारे चर्चा गरे । वातावरण संरक्षणको क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ पार्ने तरिकाहरुबारे पनि छलफल भएको थियो ।
भ्रमणको क्रममा ललितपुरस्थित युनेस्को विश्व सम्पदा स्थलको रुपमा चिनिने पाटन दरबार स्क्वायर नजिकै अवस्थित अदालत भवन र श्री जेष्ठ वर्ण महाविहारको पनि भ्रमण गरे । यी दुई परियोजनाहरु २०७२ सालको विनाशकारी भूकम्प पश्चात भारत सरकारको सहयोगमा सञ्चालन भइरहेका ३० सांस्कृतिक क्षेत्र पुनर्निर्माण परियोजनाहरुमध्येका हुन् ।