२ जेष्ठ २०८२, बिहिबार | May 15, 2025

आतंकवादविरुद्धको लडाईँले खोलेको रहस्य


1.1k
Shares

डा. दीपेश केसीः कुनैबेला एउटै देश थिए भारत र पाकिस्तान । बेलायती उपनिवेश अन्तपछि भारतबाट अलग भएको पाकिस्तान आतंकवादको सुरक्षित भूमि हो भन्ने बिन लादेन अवोटावादमा मारिएपछि प्रमाणित भयो । अमेरिका जस्तो विश्वकै शक्तिशाली देशले सर्वाधिक खोजी गरेको लादेन पाकिस्तानका कुलिन पूर्वसैनिकले सेवानिवृत्त जीवन बिताउने क्षेत्रका रुपमा परिचित अवोटावादमा परिवारसहित भेटिएका थिए सन् २०११ मा । अफगानिस्तानका कट्टरपन्थी तालिवानले पाकिस्तानी भूमिमै तालिम पाएका थिए तत्कालीन सोभियत सैनिकविरुद्ध लड्न ।

भारतले आतंकवादको पाकिस्तानी अखडाहरुमा गरेको आक्रमणका क्रममा पाँच सर्वाधिक खोजीको सूचीमा रहेका आतंककारी मारिए । मारिएकामा लस्कर ई तैबाका नेता मुडासार खादियन खस छन् । उनले पाकिस्तानी सेनाबाट मृत्युपश्चात सम्मान पाएका छन् । पाकिस्तानी सेनाप्रमुखले समेत उनलाई समवेदना दिए र पाकिस्तानका उच्च सैनिक अधिकारीहरु अन्त्येष्टिमा सहभागी भए । उनको अन्त्येष्टिमा संयुक्तराष्ट्रसंघले समेत आतंकवादी घोषित गरेका लस्कर ए तोइबाका कमाण्डर हफिज अब्दुल राउफ सहभागी भए । उनी खादियन खसको अन्त्येष्टिमा पाकिस्तानी सैनिक अधिकारीहरुसँगै रहेको तस्बिर सार्वजनिक भयो । मारिएकामा मसुद अजरका नातेदार हफिज मुहम्मद जमिल पनि छन् । उनी जैसे ई मोहम्मदसँग आवद्ध थिए । सोही संगठनका मोहम्मद युसुफ अजर पनि भारतको हमलामा मारिए । उनी पनि १९९९ मा काठमाडौंबाट विमान अपहरणसँग जोडिएका अजरका नातेदार हुन् । युसुफ अजरमाथि पनि विमान अपहरणमा संलग्नताको आशंका छ । जैसे ई मोहम्मदका अर्का नेता मोहम्मद हसन खान पनि हमलामा मारिएका छन् । उनी जैसे ई मोहम्मदका कमाण्डर मुफ्ती असगर खान काश्मिरीका छोरा हुन् । उनी जम्मु काश्मिरमा हुने गरेको आतंकवादी हमलामा योजनाकार मानिदै आएका थिए ।

यी तथ्यहरुले पाकिस्तानमा भारत र गैरमुसलमानमाथि हमला गर्दै आएका आतंककारी संरक्षित रहेको पुष्टि हुन्छ । पाकिस्तानका विगतका नेताहरुले आतंककारीलाई संरक्षण गरेर भुल गरेको वर्तमान रक्षामन्त्री खवाजा असिफले सार्वजनिक रुपमा बोलिसकेका छन् । उनले तालिवानलाई सहयोग गर्ने देखि आतंकवादविरुद्धको लडाईँमा अमेरिकालाई विगतमा साथ दिनुलाई समेत भुल भनेका छन् । आतंकवादबाट पाकिस्तान समेत प्रताडित रहेको उनको भनाई रुसी टेलिभिजनमार्फत् सार्वजनिक भएको छ । पाकिस्तान यसकारण पनि आतंकवादीका लागि उर्वर भूमिमा परिणत भएको तथ्यहरु मिल्छ । भारतले आतंकवादी घोषणा गरेकाहरु पनि पाकिस्तानमा खुलेआम सक्रिय रहँदै आएका तथ्यहरु बाहिर आएका छन् ।

पाकिस्तानमा लुकेका र सक्रिय कतिपय आतंकवादीहरुबारे पछिल्लो समय धेरै तथ्यहरु बाहिर आयो । योसँगै आतंकवादविरुद्धको लडाईँमा कित्ताकाट पनि प्रष्ट देखियो । पाकिस्तानले मुस्लिम देशहरु टर्की र अजरवैजानबाट मात्र खुलेर समर्थन पायो । उसलाई ठूलो आर्थिक सहयोग गर्ने साउदी अरब, उसैले विगतमा सहयोग गरेका तालिवान र तालिवान शासित अफगानिस्तानको समर्थन पाएन । विश्वका ५० भन्दा बढी मुस्लिम देशमध्ये २ बाट मात्र खुलेर समर्थन पायो । साउदी अरब र युएई युद्धविरामका लागि सक्रिय भए । इस्लामिक राष्ट्र इरान पनि पाकिस्तानको पक्षमा खुलेन । बरु युद्धका दौरान इरानी विदेशमन्त्री डा. अब्बास अरागचीको भारत भ्रमण अर्थपूर्ण रह्यो । भारतले इजरायलबाट खुलेर समर्थन पायो । आतंकवादीलाई ठेगान लगाउनु भारतको दायित्व र अधिकार नै हो भनिदिए इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले । नेपालले पनि भारतको आतंकवादविरुद्धको लडाईँमा समर्थन जनायो । अमेरिका र रुसले आतंकवादको विरोध गरेपनि भारतलाई संयम हुन आग्रह गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थकर्ताको भूमिका निभाए ।

चार दिनको युद्धमा भारत र पाकिस्तान दुवैले प्रयोग गरेका हतियारबारे विश्वकै ध्यान गयो । भारतले उसकै देशमा निर्मित हतियार बढी प्रयोग ग¥यो । फ्रान्समा निर्मित राफेल युद्धकविमान पनि प्रयोग ग¥यो । जसमध्ये एउटालाई चीनमा निर्मित जे १० सी फाइटर जेटले खसालेको बताइयो । चीनले कस्तो सैन्य प्रविधि विकास गरिसकेको छ भन्ने तथ्य पनि उजागर भयो । चीनले पाकिस्तानलाई ठूलो सैन्य सहयोग गर्दै आएको र प्रभाव बलियो बनाइसकेको खुल्यो । बितेको पाँच वर्षमा पाकिस्तानले खरिद गरेका हतियारमध्ये ८० प्रतिशत चिनियाँ थिए भन्ने अध्ययनको रिपोर्टले प्रमाणिकता पायो । अमेरिका र रुसका लागि चीनको हतियार बुझ्ने मौका पनि बन्यो । भारतले आफैले बनाएका हतियारको प्रभावकारिताको पनि परीक्षण भयो ।

टर्की हतियार निर्माणमा जोडतोडले लागेको र निर्यातमा पनि सक्रिय भएको अझ खुल्यो । पाकिस्तानले टर्कीमा बनेको ड्रोन प्रयोग ग¥यो । सोनगर, अन्का थ्री र किजिलेल्मा नामका ड्रोनको प्रभाव कति छ भन्ने तथ्य पनि खुल्यो । यूरोपको सबैभन्दा बढी मुस्लिम जनसंख्या रहेको देश टर्कीको दक्षिण एशियामा बढ्दो उपस्थिति पनि देखियो । उसले यो क्षेत्रलाई पनि हतियारको बजार बनाइसकेको तथ्यहरु बाहिर आए । भारतसँगको व्यापार र लगानीका कारण साउदी अरब, इरान र युएईजस्ता मुसलमान देशहरु पाकिस्तानको पक्षमा खुलेर लागेनन् । यी देशहरुको तेल र ग्याँसको बजार हो भारत । अमेरिकाले पनि दक्षिण एशियाका दुई बलिया देशहरुको युद्ध अन्त गर्न भूमिका देखायो । भारत र पाकिस्तानको युद्धविराममा आफूले मध्यस्थता गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमै उल्लेख गरे । राति अबेरसम्म दुवै पक्षसँगको कुराकानीपछि युद्ध रोक्न सहमति गराएको ट्वीट गरे । पाकिस्तानमाथि अमेरिकी दबाबले काम ग¥यो । त्यहाँ अमेरिकी प्रभाव अझै रहेको प्रष्ट भयो ।
आतंकवाद बलिया शक्तिको स्वार्थ र साथविना चल्न सक्दैन । अफगानिस्तानमा तालिवानको उदयका पछाडि बलिया देशहरुको शक्तिसंघर्ष नै कारण हो । भारतबाट अलग्गिएर पाकिस्तान बन्नुमा पनि त्यही शक्तिसंघर्ष र स्वार्थ नै कारण थियो । पछि पाकिस्तानबाट बँगलादेश बन्यो । अहिले पाकिस्तानबाट अलग हुने उद्देश्यका साथ बलुचिस्तानमा पृथकतावादी सक्रिय छन् । संयुक्त राष्ट्रसंघले समेत आतंकवादी घोषित गरेका संगठन र तिनका नेता पाकिस्तानमा छन् । केही बँगलादेशमा पनि छन् । अमेरिकालगायत पश्चिमा देशहरुले आतंकवादी घोषित गरेकाहरु पनि ती देशहरुमा छन् । त्यस्ता संगठन र नेताहरुको तारोमा भारत मात्र परेको छैन नेपाल पनि परेको तथ्यहरु छन् ।
१९९९ मा काठमाडौंबाट भएको भारतीय वायुसेनाको विमान अपहरणमा लेनदेनको विषयमा आतंकवादी गतिविधिमा पक्राउ परेर भारतको जेलमा रहेका पाकिस्तानी नागरिक मौलाना मसुद अजरको रिहाई पनि थियो । जैसे ई मोहम्मदको नेता अजर पाकिस्तानमा छन् र पहलगाम हमलापछि विवादास्पद अभिव्यक्तिले चर्चामा छन् । भारतको आतंकवादविरुद्धको अपरेशन सिन्दूरमा अजर पनि तारोमा परेका थिए । उनका सहयोगी र आफन्त गरी १४ जना मारिए । अजरले भारतलाई मात्र नभई नेपाललाई पनि निकै दुःख दिएको इतिहास छ । विमान अपहरणकाण्डले नेपालले ठूलो समस्या भोग्यो । यसकारण पनि नेपाल पाकिस्तानमा अखडा बनाएर सक्रिय आतंकवादीबाट प्रताडित हुने गरेको छ ।

पाकिस्तानका दुई र भारतका एक गरी तीन आतंकवादीले जम्मु काश्मिरको पहलगाममा गोली हानी २६ जनाको हत्या गर्दा धर्मको विषय पनि जोडिएर आयो । नेपाली नागरिक मारिए । हिन्दू भएकैले सुदीप न्यौपानेलाई म नेपाली हुँ भन्दा भन्दै आतंककारीले गोली ठोके । हमासले इन्टर्नका लागि गएका १७ मध्ये १० नेपाली कृषिविज्ञानक विद्यार्थीलाई इजरायलमा मारे । विपिन जोशीलाई बन्धक बनाए । उनी जिवित रहेको तथ्यहरु अझै फेला नपरेको भनी इजरायली अधिकारीको भनाई उदृत गर्दै त्यहाँको पत्रिकाले खबर लेखिसकेको छ । २००४ मा १२ नेपालीलाई इराकमा आतंकवादीले विभत्स तरिकाले रेटे । नेपालीहरु आतंकवादीबाट देशबाहिर उत्तिकै असुरक्षित छन् । तर, यी घटनाप्रति संवेदनहीन भएर आफूलाई अधिकारकर्मीहरु भन्नेहरु निदाएको बहाना गर्छन् । उनीहरु आतंकवादविरुद्धको लडाईँको विरोध गर्छन्, हमासविरुद्धको आक्रमणको विरोध गर्छन् । आतंकवादीबाट नेपाली मारिंदा सुतेको बहाना गर्ने अनि आतंकवादीमाथि प्रहार हुँदा विरोधमा उत्रनेहरुको रहस्य पनि पछिल्लो घटनाले खोलिदिएको छ । आतंकवादी गतिविधिमा मौन बस्ने अनि उनीहरुविरुद्धको कारबाहीमा शान्तिको नारा घन्काउनेहरु शान्तिका पक्षधर हुनसक्दैनन् । नेपाल नेपालीलाई दुःख दिने आतंकवादीमाथिको कारबाहीको विरोध आलोचित मात्र भएन नेपाल विरोधी ठहरिने पुगेका छन् ।-दृष्टि साप्ताहिकमा प्रकाशित

 

प्रतिक्रिया