‘प्रकाश राउतले तीन गम्भीर अपराध गरेको’ भन्ने चोलेन्द्रलाई किन भएन कारबाही ? (भिडियोसहित)

काठमाडौं, ३० वैशाख । दुई वर्ष अघि संसदको महाभियोग सिफारिश समितिमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्कालीन न्यायाधीश प्रकाशमान सिंह राउतको चरित्र र गतिविधिबारे सनसनीपूर्ण अभिव्यक्ति दिएका थिए । उनले राउतले गम्भीर अपराध गरेको भन्दै बुँदागत रुपमै तीनवटा विषय समितिसामु राखेका थिए ।
उनले भनेका थिए, ‘म ढुक्कसाथ भन्छु केही न्यायाधीशको चरित्र यति खराब थियो तिको हकमा मैंले प्रश्न गरे । त्यो कुरा म यहाँ सार्वजनिक रुपमा राखिदिन्छु । जस्तो न्यायाधीशको रुपमा प्रकाशमान सिंह राउत । यो कुरा नोट होस् । प्रकाशमान सिंह राउतलाई मैंले तीनवटा उल्लेख गरेको गम्भीर अपराधको विषयमा प्रश्न गरेको थिएँ ।
पहिलो थियो राउतले मुद्दामा बार्गेनिङ गर्ने गरेको ।’ उनले भनेका थिए, ‘मुद्दा हेर्दा हेर्दैमा राख्ने आफू बस्ने पक्षको हकमा बार्गेनिङ गर्ने ।’ डिल्लीबजारमा आफू बस्ने पेन्सनवासनामा बोलाएर पक्षको हकलाई बोलाएर बार्गेनिङ गर्ने गरेको समेत खुलाएका थिए ।
दोस्रो थियो प्रकाशमान सिंह राउतको अत्याधिक पिउने स्वभाव । चोलेन्द्रले संसदीय समितिमा भनेका थिए, ‘हरेक साँझ भएपछि भट्टीमा गएर जाँडरक्सी खाएर उहाँलाई पीएसओ र ड्राइभरले उचालेर गाडीमा हालेर बेडमा राख्नुपर्ने अपराध गर्ने । यसमा मैंले प्रश्न उठाएँ ।’
तेस्रो थियो राउतको श्रीमतीसँगको विवाद । चोलेन्द्रले संसदीय समितिमा भनेका थिए, आफ्नै श्रीमतीलाई वाध्य सम्बन्ध बिच्छेद गर्न लगाएर वाध्य तुल्याएर महिला हिंसा गर्ने । यसमा मैंले प्रश्न गरेँ ।
चोलेन्द्रले प्रकाश राउतलाई कारबाही गर्न प्रक्रिया बढाउन लागेको विषय पनि खुलाएका थिए । उनले भनेका थिए, ‘या सुध्रनुहोस् या राजीनामा गर्नुहोस् नभए म लेखेर पठाउँछु । यस्तो भन्दा उहाँले बारसँग मिलेर यो षड्यन्त्र गर्नुभयो ।’
प्रकाशमान सिंह राउतको चरित्र र गतिविधिका विषयमा गम्भीर प्रश्न उठाएका चोलेन्द्र झुट थिए या राउत खराब थिए छिनोफानो भएन । चोलेन्द्रमाथि महाभियोग लाग्यो । राउतको प्रधानन्यायाधीशको बाटो खुल्यो । उनी प्रधानन्यायाधीश भए तर चोलेन्द्रले बोलेका रेकर्डेड विषय संसद र बौद्धिक सम्पत्तिका रुपमा विभिन्न मिडियामा सुरक्षित छ ।
देशको वर्तमान प्रधानन्यायाधीशको चरित्रका बारेमा विगतमा बोलिएका विषय सत्य असत्य के थियो अझै छिनोफानो भएको छैन । न त चोलेन्द्रमाथि न्यायाधीशको चरित्रहत्या गर्ने गरी बोलेको भन्दै कारबाही नै अगाडि बढ्यो । न चोलेन्द्रले अवहेलनाको मुद्दा खेपे न त प्रकाश राउतमाथिको आरोपबारे छानबिन भयो ।
देशमा शक्ति र पदका आधारमा कारबाही र न्यायको निरुपण हुने बेथिती बसालियो । यसले न्यायालय जस्तो आस्थाको धरोहरमाथि अविश्वास बढ्न पुग्यो । न्यायको पवित्र मन्दिरमा कस्ता व्यक्तिहरु पुगे भन्ने विषय प्रश्न बनेर रह्यो ।
सेतोपाटीमा राखिएको भिडियोमा ४ मिनेट ३० सेकेन्डदेखिको हेर्नुहोस्