२५ बैशाख २०८२, बिहिबार | May 8, 2025

१३ करोड ‘कालो धन’ कस्को ?


1.4k
Shares

नेपाली पेन खोज । देशमा कालो धनलाई सेतो बनाउने गिरोह सक्रिय छ । त्यस्तो गिरोहले देशको कानूनको छिद्र खोज्दै विदेशमा पैसा लाने र देशभित्र पनि ल्याउने गर्छ । त्यस्तै कालो धनलाई सेतो बनाउने ग्रान्डडिजाइन अन्तिम चरणमा पुगेको छ ।

यो कालो धन श्री दोलखा भीमसेन इन्भेष्टमेन्ट प्रा.लिं सँग जोडिएको छ । यसका सञ्चालक हुन् एन्सन श्रेष्ठ । १० लाख डलर अर्थात् १३ करोड प्राप्त गर्न खोज्ने यो कम्पनीको २०८१ मा कर चुक्ता प्रमाणपत्र बुझ्दा सुन्य रुपैयाँ कारोबार छ । कम्पनी काठमाडौं महाराजगञ्ज ठेगाना राखेर दर्ता भएको छ । २०७१ साल जेठमा दर्ता भएको छ ।

सुरुमा नर्वेको जलविद्युत कम्पनी एमएस लिसे क्राफ्ट ए.एस को लगानीमा नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडमा शेयर राखेको देखाइएको छ । देशमा द्वन्द्वको परिस्थिति देखाएर विदेशी कम्पनीबाट श्री दोलखा भीमसेन इन्भेष्टमेन्ट प्रा.लि. लाई विक्री गरी उक्त रकम विदेश लान खोजेको देखिन्छ । शेयर विक्री गरी लगानीकर्ता भनिएका नर्वेली नागरिक ओभे क्रिस्चियन बगी ८९ वर्ष भएको देखिन्छ । उनको २०२४ सम्म मात्र पासपोर्ट नवीकरण भएको छ । त्यसपछि उनको अवस्था के छ स्पष्ट छैन ।

बगेका तर्फबाट राजेन्द्र ढकाललाई अख्तियारप्राप्त बनाएर विदेशी लगानी रिपाट्रियसनका लागि उद्दोग विभागलाई पत्र लेखिएको छ । यसमा आशंकाहरु उत्पन्न भएका छन् ।

२०५५ सालमा नर्वेबाट ल्याइएको भनिएको ९ लाख ९९ हजार ९८२ अमेरिकी डलर क्रिस्चियन बगेको भनी देखाइएको छ । उनले नै शेयर बेचेर रकम नर्वे लान खोजेको र त्यसका लागि लेखांकनका लागि नेपाल राष्ट्र बैंकलाई पत्र लेख्न आवेदन दिएकोमा लेखांकन गर्न नसकिने जवाफ दिइएको थियो । त्यसपछि यो विषय अदालत पुगेको हो ।

नर्वेबाट भित्राइएको भनिएको विदेशी लगानी नेपाल बँगलादेश बैंकमा जम्मा गरिएको देखिन्छ । तीन चरण गरी झण्डै १० लाख डलर ल्याइएको देखिन्छ । यो रकम ल्याउने व्यक्ति खास लगानीकर्ता हुन् भन्नेमै आशंका छ । उनी सिधै रकमको दाबी गर्न आएका छैनन् । बरु अन्य व्यक्तिलाई उभ्याइएको छ नेपालमा । विदेशबाट रकम ल्याएको देखाएर पछि शेयर बेचेको देखाउँदै उक्त रकम फेरि विदेश लान खोजेको तथ्यहरु नेपाली पेनले फेला पारेको छ ।

२७ वर्ष पुरानो विदेशी लगानी देखाइएको १३ करोड रुपैयाँमध्ये ३ करोडको मात्र शेयर खरिद देखिन्छ । बाँकी रकम कहाँ गयो ? प्रश्न उठेको छ ।

१३ करोड रकम हात पार्न राष्ट्र बैंकमा लेखांकनका लागि प्रयास भएकोमा फस्ने डरले बैंकका अधिकारीले अदालतको थाप्लोमा पारिदिने गरी योजना बढाएको देखिन्छ । लेखांकनका लागि वाध्य पार्ने र यो रकम विदेशतिर लान सकिने वातावरण बनाउन खोजिएको छ ।

यो प्रकरणमा पनि एनसेलको जस्तै शैली देखिन्छ । विदेशमा कम्पनी खडा गर्ने देखि शेयर उतै विक्री गर्न अनि नेपालबाट रकम विदेश लाने प्रपञ्च रचिएको खुल्छ । यसमा ठूलै समूह लागेको छ । कालो धनलाई सेतो बनाउने र देशको रकम विदेश पुर्याउने शैलीमा यो प्रकरणमा पनि खेल खेलिएको तथ्य भेटिएको छ । यससम्बन्धी तथ्यप्रमाणका कागजातहरु नेपाली पेनसँग सुरक्षित छन् ।

प्रतिक्रिया